विश्वकप २०२२। बेलाबेला चर्चामा आइरहन्छ। कहिले श्रम शोषणको विषयमा त कहिले कतारले निर्माण गर्दै गरेको अद्भुत शैलीको भौतिक संरचनाको विषयमा। एकातर्फ पश्चिमा मिडियाले घोचिरहन्छन्, अर्कोतर्फ कतारले तयारी वेपर्वाह बढाइ रहेको छ। एसियामा विश्वकप आउँदै छ।
कतार विश्वकपमा कतै न कतै नेपाल पनि ठोक्किइरहन्छ। कहिले श्रम शोषणको विषयमा र कहिले श्रम ऐन नै संशोधन गरेर नेपाली श्रमिकहरुलाई सहुलियत प्रदान भएको विषयले। त कहिले त्यहाँ प्रयोग भएका रिन्युएबल खेल पूर्वाधार नेपाल आउने भनेर। पछिल्लो समय त कतार नेपाली फुटबलसँग सिधै जोडिएको छ - 'फुटबल कुटनीति' मार्फत्।
नेपालको शहीद स्मारक ए डिभिजनको प्रमुख स्पोन्सर कतार एयरवेजको छ। कतार एयरवेज कसरी सजिलै नेपालको लिगसँग जोडिन आयो? यसको पछाडि केही कारण त पक्कै छन्। कतार फुटवलमा आफ्नो चासो भएको देखाउन चाहन्छ किनकि उसलाई विश्व फुटवलको महाकुम्भ आयोजना गर्ने हुटहुटी जो छ।
कतारको नेपाल लगायतका देशहरुप्रति सहानुभूति कसरी बढेर गयो? यो बुझ्न पहिला विशेष गरी रसिया विश्वकपपछि विकसित भएर आएको ‘ग्लोबल पोलिटिक्स’ बुझ्नुपर्ने हुन्छ।
विश्वकप आयोजनाको तयारीकै क्रममा कतारमाथि विभिन्न आरोपहरु लागिरहेका छन् र ऊ आफूमाथि लागेका आरोप निस्तेज गर्न लागिपरेको छ। तर, उसलाई त्यति सजिलो चाहिँ छैन। नाकावन्दी गर्ने कतारका छिमेकी राष्ट्रदेखि पश्चिममा मुलुकहरुलाई उसले विश्वकप आयोजनाको मौका हात पारेको खासै हजम भइरहेको छैन। बाह्य दवाब र ‘गेम’ बुझेको कतार यसका लागि सतर्क देखिन्छ। कतारले कम्तीमा विश्वकप हुन्जेललाई भए पनि आफ्ना कमजोरी सुधार्न खोजेको देखिन्छ।
विश्वकपकै लागि भनेर कतारले भौतिक पूर्वाधारमा जोड दिइरहेको छ। जति भौतिक पूर्वाधार निर्माण गरिरहेको छ, त्यति नै कामदार उसलाई चाहिरहेको छ- नेपाल, बंगलादेश, फिलिपिन्स जस्ता देशहरुबाट। श्रमिकदेखि प्रविधि र पूर्वाधारको भरपुर प्रयोग गरेर स्टेडियम लगायतका पूर्वाधार निर्माणमा जोडतोडका साथ कतार लागेको छ। यस्तोमा विश्वकप नहुन्जेलसम्मलाई भए पनि नेपाल जस्तो देशको उसलाई विशेष खाँचो देखिन्छ।
कतारलाई अझै खेल पूर्वाधार निर्माणमा भ्याइनभ्याइ छ। उसले आफ्ना ३ वटा शहरमा स्टेडियम निर्माण पहिलेबाटै शुरु गरेको थियो। केही स्टेडियम बनिसके भने केही निर्माणाधीन अवस्थामै छन्। अल बायत स्टेडियम, अल जानुब स्टेडियम, अल रयान स्टेडियम, अल थुमामा स्टेडियम, एजुकेशन सिटी स्टेडियम, खलीफा स्टेडियम, लुसेल आइकोनिक स्टेडियम, रस अबु अबुद स्टेडियमलगायतका स्टेडियमहरु विश्वकपकै लागि भनेर कतार तयार गर्न लागेको छ। त्यसमध्ये अल जानुव स्टेडियम र खलिफा स्टेडियम तयार भइसकेको छ भने केही तयार अरु निर्माणाधीन नै छन्।
उसले विश्वकै ध्यान तान्ने गरी विभिन्न विशेषताका रंगशाला निर्माण गरिरहेको छ। रंगशालामा एसी जोड्नेदेखि पुन: अन्यत्रै पठाउन मिल्ने मोबाइल रंगशालासम्म उसले बनाउन चाहेको छ। बनाइरहेको छ।
जस्तै किरस अबु अबुद स्टेडियम। यो स्टेडियमको खास विशेषता यो हो कि विश्वकप पछि यसलाई हटाइने छ। यो फिफा विश्वकप आयोजना हुने भएको यस्तो स्टेडियम बन्ने छ जसलाई रि-युज गरिने छ। विश्वकप पछि यो स्टेडियमलाई खेलकुद या अन्य क्षेत्रमा बेचिने बताइएको छ। यो स्टेडियमको दर्शक क्षमता ४० हजार रहने छ। स्टेडियम सन् २०२० सम्ममा बनिसक्ने बताइएको छ।
विश्वकपपछि यति धेरै स्टेडियमको आवश्यकता नपर्ने भएकाले पनि कतार यस किसिमको स्टेडियम बनाउन लागि परेको हो। कन्टेनरलाई स्थायी राख्न त्यसमा भारी सामान राखिने छ। यसमा प्रयोग हुने सबै सामाग्री पुन: प्रयोग गर्न सकिने छ। स्टेडियमको बाथरुम, अफिस लगायत कन्टेनर नै हुनेछन्।
यसको प्रोजेक्ट मेनेजर मोहम्मद अल मुल्लाले भनेका छन, ‘डिजाइनको सुरुवातदेखि नै हामीले स्टेडियमको साना साना कुराहरुलाई पनि कसरी पुन प्रयोग गर्ने भनेर ध्यान दिएका छौँ, चाहे त्यो कन्टेनर होस, स्टील स्ट्रक्चर होस या छानो होस्।’
नेपाल लगायतका देशहरुका लागि चासो यही छ कि - कतारले विश्वकपपछि यो स्टेडियम कुनै देशलाई दिने या बेच्ने छ। यो कुटनीतिबाट पनि कतारले नेपालजस्ता धेरै देशहरु नजिक्याउन खोजेको देखिन्छ।
यो एउटा यस्तो प्रोजेक्ट हो जो सन् २०२२ का लागि मात्र बनेको हो। कतार विश्वकपमा यसको प्रयोग भइसकेपछि यसलाई खोलेर फेरि अर्को ठाउँमा स्टेडियम बनाउन सकिने छ।
‘ती देशहरुका लागि यो राम्रो अवसर हो जसले यहाँ सम्पूर्ण सुविधा सम्पन्न गरी बनाइएको स्टेडियम पुन: प्रयोग गर्ने छन्,’ मोहम्मद अल मुल्लाले भनेका छन्। यसरी पूर्वाधारको ललिपप देखाएर होस् या श्रमिकका पक्षमा अघि बढेको विश्वास दिलाएर, कतार विशेष गरी नेपाल जस्ता मुलुकलाई आफ्नो पक्षमा पार्न खोजिरहेको देखिन्छ।
तर, पूर्वाधार निर्माण र निर्माणको गतिका कारण पनि कतार विश्वकप चर्चामा त छ। तर, पश्चिमाको निशानामा भने पर्न छाडेको छैन। कहिले कतारलाई विश्वकप आयोजना गर्न दिनुमा ठूलो आर्थिक लेनदेनको आरोप लाग्छ भने कहिले श्रम शोषणको। कतारलाई संयमित भएर ‘डिल’ गर्नुपर्ने अवस्था यिनै कारणले ल्याएको हो। यदि विश्वकप आयोजनाको महत्वकांक्षा पूरा गर्नुछ भने उसले धेरै सहनुपर्ने छ।
केही महिना अघिमात्र गत सिजनको युरोपियन च्याम्पियन लिभरपुलले श्रम शोषण र मानव अधिकारको हनन् भएको भन्दै कतारको दोहास्थित एउटा होटलमा बस्न अस्वीकार गरेको विषय चर्चामा आयो।
युरोपियन च्याम्पियन बनेको लिभरपुलले फिफाले आयोजना गर्ने क्लब विश्वकप फुटबलका लागि मध्यपूर्वमा तयारी सुरु गरेको थियो। लिभरपुलका लागि कतारस्थित मार्सा मलाज केम्पिंस्की होटलमा बस्ने व्यवस्था मिलाइएको थियो। केम्पिंस्की कतारको उत्कृष्ट ५ होटलमध्ये एक हो। पछि लिभरपुलले उक्त होटलमा 'इथिकल' कारण देखाउँदै बस्न अस्वीकार गर्यो।
बेलायतका सञ्चारमाध्यमहरुका अनुसार लिभरपुलले पाँच तारे उक्त होटलमा बस्न अस्वीकार गर्नुको मुख्य कारण श्रम शोषण भएको बताएका थिए।
'हेभी ड्युटी'गर्ने कामदारहरुलाई पनि एकदमै कम पारिश्रमिक दिएको भन्दै त्यस होटलमा लिभरपुलले बस्न अस्वीकार गरेको बेलायतको सञ्चारमाध्यम एटलान्टिकले जनाएको थियो।
यो एउटा समयक्रममा देखा परेको एउटा प्रतिनिधि घटनामात्र हो। यस अघि पनि द गार्डियनले सन् २०१८ अक्टोबरमा एक रिपोर्ट प्रस्तुत गर्दै क्रममा केम्पिंस्की होटलमा बाहिरबाट ल्याइने कामदारहरुलाई न्यूनतम ज्यालाभन्दा कम तलब दिएर श्रम शोषण गर्ने गरेको खुलासा गरेको थियो।
उक्त अध्ययनका अनुसार ४५ डिग्री तापक्रममा १२ घन्टाभन्दा बढी काम गर्ने श्रमिकले दैनिक ८ पाउन्ड मात्र पाउने खुलासा गरेको थियो। उक्त अनुसन्धानमा २/३ महिनासम्म कामदारलाई कुनै छुट्टीबिना काममा लगाएको र काम गर्ने समयमा सुतेको भन्दै उनीहरुले पाउने तलबबाट जरिवाना काट्ने गरेको खुलासा भएको थियो।
यस बाहेक पनि कतारमा स्टेडियम निर्माणका क्रममा श्रम शोषण हुने गरेको रिपोर्टहरु सार्वजनिक हुँदै आएका छन्। एमनेस्टी इन्टरनेशनलले कतार विश्वकपका क्रममा व्यापक श्रम शोषण रिपोर्ट सार्वजनिक गरेको छ।
रिपोर्टमा कामदारहरुलाई बिना तलब काम गराएर श्रम शोषण भइरहेको दाबी गरिएको छ। यति मात्र होइन एमनेस्टीले कतार सरकारलाई 'श्रम शोषणको लाजमर्दो अवस्था'लाई अन्त्य गर्न समेत आग्रह गरेको थियो।
त्यसैले पनि पछिल्लो समय कतार नेपाल लगायतका कामदार पठाउने देशप्रति लचक देखिएको छ। पछिल्लो समय कफला प्रणालीको अन्त्य गर्ने र प्रवासी कामदारको अधिकारको संरक्षणमा महत्वपूर्ण कदम चाल्ने लक्ष्यका साथ कतार सरकारले सुधारको घोषणा गरेको थियो।
त्यस्तै, असोज २९ गते कतारको राज्यमन्त्री परिषद्ले सर्वसम्मतिबाट रोजगारदातालाई स्वतन्त्र रूपमा श्रमिकलाई कामको परिवर्तन गर्न अनुमति दिने नयाँ कानूनको समर्थन गरेको थियो। त्यस्तै कतारको मन्त्रिपरिषद्ले खाडीमा पहिलो पटक कामदारलाई भेदभाव नगरी विभेद रहित न्यूनतम ज्याला स्थापना गर्न नयाँ कानूनको अनुमोदनसमेत गरेको थियो। कतार श्रमिक निर्यात गर्ने देशप्रति लचक हुन र विश्वकप तयारी गर्दैगर्दा उसलाई लागेको श्रम शोषण र मानवअधिकार हनन् लगायतको विषयको पक्कै ‘कनेक्सन’ छ।
यति मात्र होइन, कतारले श्रमिक र रोजगारदाताको आपसी समझदारीमा हुने श्रम सम्झौतामासमेत सुधार गरेको थियो। नेपाली श्रमिकको लागि सकारात्मक विषय थियो त्यो। कतारका लागि कुटनीति।
फेरि पछिल्लो समय कतार फुटबल कुटनीतिमा अघि बढेको छ। नेपालमा कात्तिक अन्तिम साता शुरु भएको शहीद स्मारक ए डिभिजन लिग प्रायोजन गरेर। शहीद स्मारक लिगमा कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलरको स्पोन्सर गरेको छ। यो सँगै पहिलो पटक नेपाली फुटवलमा विदेशी स्पोन्सर पनि भित्रिएको छ।
कतार एयरवेजसँग शहीद स्मारक ए डिभिजन लिगको सम्झौताका कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले 'सजिलै' कतार एयरवेजको स्पोन्सर ल्याएको बताएका थिए। उनका अनुसार एएफसीमा उनले फुटबलको विकासबारे कुरा गर्दा उनले प्रत्यक्ष आर्थिक सहयोग भन्दा पनि स्पोन्सरमा जोड दिएका थिए। उनले कतार एयरवेजजस्ता ठूला संस्थासँग स्पोन्सरसिप गर्न चाएको बताएसँगै यसको प्रक्रिया अघि बढेको थियो। केही दिनमै कतार फुटबलको समन्वयमा कतार एयरवेजसँग समन्वय भयो। र, सम्झौता पनि।
यसमा कतारको 'इन्ट्रेन्स' के त?
विश्वकप। सन २०२२ मा आयोजना हुने विश्वकपका लागि कतार महत्वकांक्षी छ। यसका लागि कतार साम, दाम, दण्ड र भेद सबै लगाउन तयार देखिन्छ। तर, कतारलाई मिलेको विश्वकप आयोजनाको अवसर युरोपका धेरै देशहरुलाई मन परेको छैन। विश्वकप जस्तो आर्थिक, रणनीतिक अवसरहरु पश्चिमा देशहरु हत्तपत्त छोड्न चाहँदैनन्।
यसअघि रसियामा हुने विश्वकपमा पनि पश्चिमा मुलुकहरुले यस्तै आपत्ती देखिएको थियो, विशेष गरी बेलायतको। अन्तिम समयसम्म रसियामा विश्वकप हुन नहुने पक्षमा थियो बेलायत। रसियाले विश्वकप आयोजना गरेरै छाड्यो। त्यो पनि सफलतापूर्वक।
बहराइन, इजिप्ट, युएई, साउदी अरेबिया लगायतका मुलुकको नाकावन्दीमा परेको कतारका लागि जतिसक्दो धेरै देशसँग सम्बन्ध सुधार्नु आवश्यक छ। यसै क्रममा कतार नेपाल लगायतका देशहरुलाई पनि आफू प्रति सकारात्मक बनाउन चाहिरहेको देखिन्छ। कतारले नेपाल मात्र होइन भारत, श्रीलंका लगायतका देशहरुमा पनि फुटवलमा लगानी गरिरहेको छ। युरोपियन क्लवहरुमा समेत लगानी गर्न ल्याकत राख्ने कतार किन दक्षिण एसियाका देशहरुमा फुटवलमा लगानी गर्दै छ? किन कतार लचिलो देखिँदै छ? उत्तर स्पस्ट छ।
विश्वकपका लागि।
यसैका लागि कुटनीतिको भरपुर मद्धत लिइरहेको छ कतार। पश्चिमा र कतारको 'इन्ट्रेन्स्ट' को वैचारिक युद्धमा पक्कै फाइदा नेपाललाई भएको छ। श्रमिकको क्षेत्रमा होस् या फुटवलको क्षेत्रमा।
केही समय अघिमात्र कतारले संयुक्त इकोफ्रेन्डली विश्वकप गर्ने भनेर चर्चामा आएको थियो। कतारका अमिर तमिम बिन हमाद अल थानीले संयुक्त राष्ट्र संघको महासभामा पनि यस विषयमा सकारात्मक भएको बताएका थिए। यसका लागि कतारको फुटबल आयोजक समिति र खाडी सहयोग परिषद (जिसिसी) ले अध्ययन सुरुगर्ने बताइएको थियो।
विदेशी सञ्चारमाध्यमहरुले जनाए अनुसार ग्लोबल कार्बन फन्ड लगायतका संस्थाहरु कार्बन उत्सर्जन मानक आँकलनका लागि तयार रहेका छन्। जसले विश्वकपलाई (कार्बन फ्री) प्रतियोगिता बनाउन समितिले पहल सुरु गरिसकेको छ।
विशेष गरी सामानहरुका लागि रिसाइकल गर्ने, फोहोरबाट उर्जा उत्पादन गर्ने र स्टेडियममा पानीको सदुपयोग गर्नेमा जोड दिइने बताइएको छ। कतारमा ऊर्जा क्षयसँग सम्वधित कार्यक्रममा जोडिएका अल हमादीले भनेका छन्, 'जुन स्टेडियममा विश्वकपका खेलहरु खेलाइने छ, त्यहा बिजुलीका लागि सौर्य प्यानल जोडिने छ। साथै स्टेडियममा कुलिङ सिस्टमद्वारा पानी जोगाउने काम समेत गरिने छ।'
जति पूर्वाधार निर्माण र योजनाका कुराहरु बाहिर आउँछन् त्यति नै कामदारहरुको आवश्यकता कतारलाई छ। यसका लागि नेपाल, बंगलादेशहरुजस्ता मुलुकबाट कामदार निर्यात गर्ने मुलुकसँग सम्वन्ध सुधार्नु त कतारको आवश्यकता नै देखिन्छ। यसका लागि श्रम ऐन नै परिवर्तन गरेर भए पनि जतिसक्दो श्रमिक भित्र्याउनु कतारको कुटनीति हो। अझ मानवअधिकार, श्रम अधिकारलगायतका कुरालाई जोडेर विश्वकपलाई पर्नसक्ने प्रभावप्रति पनि सचेत देखिन्छ कतार।