
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सबैभन्दा पेचिलो विषय बन्यो मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषय। नेकपाका प्रभावशाली नेताहरुले नै य विषयलाई चर्को रुपमा उठाएपछि यसको भविष्य के हुन्छ त? धेरैसामु प्रश्न खडा भएको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा आइतबार निर्णय हुने जानकारी दिएका छन्। बहसको केन्द्रमा रहेको एमसीसी इण्डो प्यासेफिक रणनीतिभित्रको कार्यक्रम हो या होइन भन्ने रहेकाले नेताहरु निर्क्यौलमा पुगिसकेका छैनन्। प्रवक्ता श्रेष्ठले परामर्शका आधारमा मात्र यस विषयमा निर्णय हुने जानकारी दिए।
प्रसारण लाइन तथा सडक आयोजना सुधारका लागि अमेरिकाबाट प्राप्त हुन लागेको ६४ अर्ब रुपैयाँ बराबरको रकमलाई लिएर बहस जारी छ, राजनीतिक वृत्तमा। सम्झौता भइसकेकाले सरकारले यसलाई लागू गराउने तयारी गरेको छ।
चालु संसद अधिवेशनले यो सहयोगलाई अनुमोदन गराउने सरकारी तयारी छ। नेकपाभित्रै यो विषयमा फरक फरक बुझाइ रहेकाले यसलाई लिएर राजनीतिक माहोल तातिएको छ।
प्रवक्ता श्रेष्ठले भने झै यो विषयमा आइतवारको बैठकले निर्क्यौल गर्यो भने सहयोग सम्बन्धि कोर्स सहज दिशामा जानेछ।