कपिलवस्तु : कपिवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छिन्। डेलिभरीको लागि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्।
आज बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु ३ त २४४८ नम्बरको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदै गर्दा उनले ट्र्याक्टरमा नै छोरा जन्माएकी थिइन्। विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन।
चन्द्रौटा होटल अगाडि बीच शहरमा उर्मिलाले बच्चालाई जन्म दिएकी हुन्। बिहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किएको उर्मिलाका सासू कमलावती कोरीले बताइन्। गाउँमा एम्बुलेन्स नहुँदा ट्र्याक्टरमा ल्याउँदा जाडोयाममा बच्चा जन्मिएको उनले बताइन्।
गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले डेलिभरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन्।
'गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरीद नगर्दाको आफू जस्तै गाउँपालिकाका अरु बासिन्दाले पनि पीडा भोगिरहेको छ', स्थानीवासी कलम कोरीले भने, 'भगवानको कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो।'
यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन। यो आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ। यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुई वटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।