PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

ज्याकेटभित्र १५ करोडको कोकिन, सात दिनदेखि लाजिम्पाटको लस्ट गार्डेन होटलमा तस्करको बास



सविन ढकाल

ज्याकेटभित्र १५ करोडको कोकिन, सात दिनदेखि लाजिम्पाटको लस्ट गार्डेन होटलमा तस्करको बास

काठमाडौं : शनिवार राति लागूऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा अवैध लागूऔषधसहित चार जना विदेशी नागरिकलाई नियन्त्रणमा लिन सफल भयो। उनीहरुको साथबाट ब्युरोको टोलीले ६ किलो कोकिन बरामद् गरेको थियो। ६ किलो कोकिनको अन्तरार्ष्ट्रिय बजार मूल्य १५ करोड रुपैयाँभन्दा बढी पर्न आउँछ।

देशको एकमात्र अन्तरार्ष्ट्रिय विमानस्थलको सुरक्षा घेरा तोडेर कसरी भित्रियो कोकिन?

गत मंसिर २८ गते (२०१७ डिसेम्बर१४) नै भारत हुँदै नेपाल कोकिन भित्रिएको थियो। बोलिभियन नागरिक रोबर्टो कार्लोस मेरुबिया मारियास र राउल जम्ब्रोना ओर्डोनेज ब्राजिलको सारपाउलोबाट कोकिन ल्याएको प्रहरीको अनुसन्धानमा खुलेको छ। मंसिर २७ गते उनीहरु इथोपिया हानिए। त्यसपछि अर्को ट्रान्जिट बनाए भारतलाई। २८ गते उनीहरु भारत आइपुगे। त्यसपछि सिधै नेपाल।

नेपाल आइसकेपछि उनीहरुले लाजिम्पाटमा रहेको होटेल लस्ट गार्डेनलाई आफ्नो अखडा बनाए। होटलको कोठा नम्बर ३०४ बुक गरे। उनीहरुको काम कोकिन नेपाल ल्याएर विदेशी तस्कर एजेन्टले भनेका व्यक्तिलाई कोकिन जिम्मा लगाउनुमात्र थियो। तर उनीहरु आएको पाँच दिनसम्म पनि कोकिन लिन कोही आइपुगेनन्। त्यसपछि ६ किलो कोकिनसहित होटलमा नै बिताए। 'यो एकदमै रिस्क काम हो। उनीहरु लामो समय नेपाल बस्नुको कारण कोकिन ह्यान्ड ओभर गर्न र पठाउन सही समय खोजिरहेका थिए,' ब्युरोका डिआइजी दिनेश अमात्यले भने।

तर उनीहरु नेपाल आएको पाँच दिनपछि कोकिन लिन बेलारुसबाट एक युवक र युवती नेपाल आइपुगे। २१ वर्षीया युवती एलिना अल्डोस्यना र पावेल भसिल्यानो नेपाल आएका थिए। पुस २ गते उनी बेलारुसबाट टर्की हुँदै नेपाल आइपुगे। नेपाल आइपुग्दा पुस ३ गते भइसकेको थियो। लागूऔषध तस्करीको एजेन्टले पूर्व रुपमा दिएको जानकारीअनुसार उनीहरु सिधै लाजिम्पाटको लस्ट गार्डेन होटेलमा पुगे।

होटलमा रहेका बोलिभियन नागरिकले आफूसँग ल्याएको कोकिन उनीहरुलाई जिम्मा लगाए। ६ केजी कोकिन अब नेपालको विमानस्थल हुँदै हङकङ पुर्‍याउनु थियो। तर प्रहरीलाई पहिले नै उनीहरुले नेपाल भित्र्याएको कोकिनबारे जानकारी आइसकेको थियो। 'हामीलाई पहिले नै जानकारी थियो। उनीहरुले कहाँ लग्छन्। अरु कोही संलग्न छन् कि भन्ने प्रतिक्षामा थियौं,' ब्युरोका प्रमुख डिआइजी अमात्यले भने।

शनिवार राति क्याथे प्यासिफिकको फ्याटबाट एलिना र पावेल हङकङ जान विमानस्थल पुगे। प्रहरी पनि उनीहरुको पछिपछि नै थियो। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो। उनीहरुसँग रहेको रातो र निलो रंगको सुटकेस विभिन्न रंगका ज्याकेट भेटिए। त्यहाँ ज्याकेटमात्र थिएन। त्यसभित्र फल्सबटम बनाएर लुकाइराखेको अवस्थामा कोकिन थियो।

एउटा ज्याकेटभित्र ७ सय ५० ग्रामका दरले कोकिन लुकाइएको थियो। 'भारतबाट नै ज्याकेटमा कोकिन हालेर ल्याइएको थियो वा नेपालमा आए बनाइयो त्यो अनुसन्धान गरिरहेका छौं। तर ज्याकेटमा एक्सरे मेसिनले रिड नगर्ने गरी कार्बोनले कभर गरिएको थियो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

भाषा नबुझ्दा अनुसन्धामा ग्राहो

विदेशी भाषा सम्बन्धी ज्ञान भएका प्रहरी नहुँदा नियन्त्रणमा लिएपछि थप अनुसन्धानमा समस्या परेको छ। उनीहरुले अंग्रेजी नबोल्ने र उनीहरुको भाषा प्रहरीले नबुझ्ने हुँदा समस्या परेको डिआइजी अमात्यले बताए।

प्रहरीले राति बेलारुसका दुई नागरिकलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान गर्न समस्या परेको थियो। तर महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)  राजेश महर्जनको सहयोगमा केही अनुसन्धान भएको थियो। सई महर्जन भने स्पेनिस भाषामा कुराकानी गर्न सक्थे।

उपत्यकाभित्र पर्यटकको सेवा र सुरक्षाका लागि परिचालन हुने पर्यटन प्रहरीसँग अहिलेसम्म पनि लाइसेन्सप्राप्त भाषागत प्रहरी छैनन्।

सम्बन्धित समाचार

भाषा नबुझ्दा प्रहरीको अनुसन्धानमा अरुकै भर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell