
काठमाडौं : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न आज अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले बारामा निर्माण हुन लागेको विमानस्थलका लागि रुख नकाट्न अन्तरिम आदेश जारी गरेको हो।
यसअघि सर्वोच्च अदालतले गत मंसिर २० गते रुख काट्ने कामलाई यथास्थितिमा राख्न आदेश थिएको थियो। सोही विषयमा दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो। निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी र भरत बस्नेतलगायत संयुक्त रुपमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ गर्दै विमानस्थल निर्माणसम्बन्धी दुवै निवेदनलाई एकै ठाउँमा राखेर हेर्ने आदेश भएको छ।
सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको थियो। यसअघि पनि सर्वोच्च अदालतमा विमानस्थल निर्माणका लागि रुख काट्न लागेको भन्दै त्यसको विरुद्धमा रिट दायर गरिएको थियो। गत कात्तिक २५ गते न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) सहितको काजजात अदालतमा पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
सरकारले आठ हजार हेक्टर क्षेत्रफलमा निमार्ण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए २०७४ चैतमा वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरेको थियो। विमानस्थल निमार्णस्थलका रुख कटानी तथा पहुँचमार्ग निर्माणका लागि प्राधिकरणले नेपाली सेनासँग सम्झौता गरेको दुई वर्ष भइसकेको छ।