PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कुखुराको खोरमुनि गाढेर राखेको अवस्थामा हतियार र गोली बरामद



रासस

इटहरी : सुनसरीको बराहाक्षेत्र नगरपालिका–५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोरमुनि गाढेर राखेको अवस्थामा एक थान एसएमजि र विभिन्न हतियारमा प्रयोग हुने नौ हजार ९८२ राउण्ड गोली फेला परेको छ।

पूर्वी पृतना मुख्यालय इटहरीलाई प्राप्त विशेष सूचनाका आधारमा नेपाली सेनाले गाढेको ठाउँबाट खनेर निकालेको हो। करीब पाँच वर्ष अगाडि ढलान गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालीन द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ। धेरै वर्षदेखि उक्त ठाउँमा प्रधानले कुखुरापालनसमेत गर्दै आएका थिए।

प्रारम्भिक चरणमा प्रहरीले मुचुल्का उठाउँदै यो कहिले र कस्ले गोढेर राखेको अहिले भन्न नसकिए पनि अनुसन्धान गर्दै जाँदा खुल्दै जाने प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। सशस्त्र द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएका गोली तीन प्लाष्टिकका ड्रममा व्यवस्थित ढङ्गले गाडेर राखिएको अवस्थामा भेटिएको थियो। नेपाली सेनाको विशेष सक्रियतामा गाडिएको अवस्थाबाट निकालिएको उक्त गोलीलाई कानूनी प्रक्रियाअनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell