
काठमाडौं : नेपाल र भुटानको यू १५ महिला टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। नेपाल भ्रमणका क्रममा रहेको भुटानी टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ। जसअनुसार पहिलो खेल आज दिउँसो २ बजे सातदोबाटो स्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ।
अर्को खेल डिसेम्बर २५ मा हुनेछ। भुटानी टोली आइतबार काठमाडौं आइपुगेको थियो।
‘महिला फुटवल सुधारका लागि हामी प्रतिबद्ध छौं। यो पहिलो पटक हो कि नेपाली यू १५ महिलाहरुले मैत्रीपूर्ण खेल खेल्दैछन्। हामी महिला फुटबललाई थप प्रतिस्पर्धात्मक, दिगो र आकर्षक बनाउन चाहन्छौं’ एन्फा महासचिव इन्द्रमान तुलाधरले भनेका छन्।
आजको मैत्रीपूर्ण खेलका लागि टिकट शुल्क नलाग्ने समेत एन्फाले जनाएको छ।
भर्खरै मात्र बहराइन भ्रमणका क्रममा रहेको नेपाली महिला यू १९ फुटबल टोलीले बहराइनको यू १९ टोलीलाई पहिलो खेलमा ४–२ र दोस्रो खेलमा ३–० ले हराएको थियो। त्यस्तै बहराइनकै सिनियर महिला टोलीसँग १–१ को बराबरी खेलेको थियो।
नेपाल र भुटानबीच हुने खेलका कारण जारी शहीद स्मारक ए डिभिजन लिगको स्थान पनि फेरिएको छ। लिग अन्तर्गत आज हुने दुवै खेल दशरथ रंगशालामा हुनेछ।