PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

टोटेनहम र चेल्सीको खेलमा 'रंगभेद हावी', रुडिगरको प्रश्न, ‘यो कहिले रोकिन्छ?’



पहिलोपोस्ट

टोटेनहम र चेल्सीको खेलमा 'रंगभेद हावी', रुडिगरको प्रश्न, ‘यो कहिले रोकिन्छ?’

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले टोटेनहमलाई हरायो। टोटेनहमको घरेलु मैदानमा भएको खेलमा चेल्सीले २–० को जित हात पारेको हो। पहिलो हाफमा चेल्सी हाबी भयो। तर दोस्रो हाफमा खेल हैन रंगभेद हाबी भयो।

चेल्सीका लागि दुवै गोल विलियनले गरेका थिए। खेलको १४औँ मिनेटमा नै विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। फेरि पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गर्दै उनले चेल्सीको जित सुनिश्चित गरे। 

दोस्रो हाफमा टोटेनहमका स्ट्राइक सन ह्युङ मीन रेडकार्ड खाँदै बारिरिएका थिए। चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरसँग ठोक्किएर लडेका मिनले एन्टोनियोलाई खुट्टाले प्रहार गरेपछि रेडकार्ड खाँदै बाहिरिएका थिए। त्यसलगत्तै एन्टोनियोलाई समर्थकहरुले रंगविभेद गरेर जिस्काएका थिए।

चेल्सीले रेफ्री एन्टोनी टेइलरलाई यस विषयको जानकारी दिएको थियो।  र, तीन पटकसम्म दर्शकहरुलाई ‘एड्रेस’ गर्दै अनाउन्स गर्दै उनीहरूको व्यवहारले खेल प्रभावित भएको बताउनुपरेको थियो। 

मैदानमा भएको रंगभेदबारे अनुसन्धानका लागि प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) ले आग्रह गरेको छ। 

‘हामी एक पटक फेरि निराश भएका छौँ। यो स्पष्ट छ कि फुटबल खेलाडीहरुले अझै रंगभेदको सामना गरिरहनु परेको छ, जो ब्रिटेनमा व्याप्त छ। तर खेलाडीहरू एक्ला छैनन्। यस्तो विभेदमा परेका हरेक खेलाडीहरूको साथमा पिएफए छ। यो इस्यू ठिक नहुन्जेलसम्म हामी लडिरहने छौँ।’ पिएफएले भनेको छ।

टोटेनहमले पनि यस विषयमा चेल्सीलाई साथ दिने बताएको छ। 

‘नस्लवादको कुनै पनि रूप पूरा अस्वीकार छ। र यो कम्तीमा हाम्रो स्टेडियममा स्वीकार्य हुनै सक्दैन। यो घटनालाई हामीले गम्भीरताका साथ लिएका छौँ। यसमा संलग्नलाई सक्दो कारबाही गराउन हामी तत्पर छौँ। स्टेडियम पस्न प्रतिबन्ध पनि लगाउँछौँ।’ टोटेनहमले भनेको छ।
एन्टोनियो रुडिगरले ४ वटा ट्वीट गर्दै अहिलेको समयमा रंगभेदको सिकार हुनु दुःखद भएको भन्दै यसलाई यतिकै छाडे घटना दोहोरिने बताएका छन्। पहिलो र दोस्रो ट्वीटमा उनले टोटेनहम दोषी नभएको भन्दै रंगभेदीलाई मूर्खको संज्ञा दिएका छन्। 

‘फुटबलमा फेरि रंगभेदको सिकार हुनु दुःखद विषय हो। यो विषयलाई सार्वजनिक रूपमा अघि बढाउनुपर्छ। यसो नगरे यो घटना यहीँ सेलाउने छ र केही दिनमा फेरि दोहोरिनेछ।’  उनले थपेका छन्, ‘म यसमा टोटेनहम क्लबलाई दोष लगाउन चाहन्न किनभने मलाई थाहा छ, केही मूर्खहरू ‘अफेन्डर’ हुन्।'

त्यस्तै तेस्रो र चौथो ट्वीटमा उनले रंगभेद गर्नहरु चाँडै कारबाहीको दायरामा आउने विश्वास गरेका छन्।

‘म आशा गर्छु तिनीहरूलाई चाँडै कारबाही हुनेछ। टोटेनहमको जस्तो आधुनिक स्टेडियम तथा दर्जनै टिभी तथा सेक्युरिटी क्यामराहरुकाबीच तिनीहरूलाई भेट्न कठिन हुनेछैन।’ उनले लेखेका छन्, ‘त्यहाँ पनि नभेटिए त्यहाँ कोही विटनेस भेटिनेछ जसले घटनालाई देख्यो र सुन्यो। यो लाजको विषय हो।’

उनले प्रश्न गरेका छन्, ‘यो कहिले रोकिन्छ?’

चेल्सीका म्यानेजर लाम्पार्डले पनि यो दुःखद भएको बताएका छन्। 

‘रुडिगरले भने कि उनी रंगभेदको सिकार भएका छन्। मैले उनीसँग व्यक्तिगत कुरा गरेको त छैन तर यसबारेका कुरा भएको सुनेको थिएँ। पक्कै पनि म रुडिगरलाई समर्थन गर्छु। हाम्रा र विपक्षी खेलाडीलाई पनि। स्टेडियममा जे भयो त्यो हुनु हुन्थेन।’ लाम्पार्डले भनेका छन्।

त्यस्तै टोटेनहमका प्रशिक्षक माउरिन्होले पनि रंगभेदलाई घृणा गर्ने बताउँदै यो फुटबलबाट मात्र नभई समाजमै रहन नहुने बताएका छन्।

‘म समाजको रंगभेदमा घृणा गर्छु। फुटबलमा हुने रंगभेदलाई घृणा गर्छु। म निराश छु कि यस्तो घटना अझै भइरहेका छन्। जब रेफ्रीले खेल रोकेर खेलाडी, क्याप्टेन र कोचसँग कुरा गर्न थाले,  हामी हारिरहेका थियौँ। मलाई खेल रोकेको मन परेको थिएन। तर जब मलाई यसको कारण थाहा भयो मैले सबै कुरा बुझेँ।’ माउरिन्होले भनेका छन्।

युरोपियन फुटबलमा खेलाडी पटक–पटक रंगभेदको सिकार हुने गरेका छन्। केही समयअघि मात्र रोमेलु लुकाकु पनि रंगभेदको सिकार बनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell