काठमाडौं : पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई बसले ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरुले गाडीमा आगजनी गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छ।
२१ वर्षीय सृष्टि पन्तलाई मध्यपुर ठिमी चल्ने बा ४ ख ५९२० नम्वरको बसले सोमबार बिहान सवा ६ बजेतिर सुकेधारामा ठक्कर दिएको थियो।
पन्तको ओम अस्पतालमा उपचार भइरहेको छ। आक्रोशित विद्यार्थीले मित्रपार्कस्थित पशुपति क्याम्प अगाडि प्रदर्शन गरेका थिए। साे क्रममा एक बसमा आगजनी गरेका छन्।
ठक्कर दिने गाडीका चालक र आगजनीमा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो। बसमा पूर्णरुपमा क्षति पुगेको छ।