काठमाडौं : ६ वर्षअघि 'प्लिक्सि' कविता संग्रह उपहार दिएका थिए ईश्वर थोकरले। आफ्नै बहिनी प्लिक्सिप्रति समर्पित किताब मलाई थमाउँदै गर्दा उनको दाहिने हात लल्याकलुलुक थियो, काँपेको देखिन्थ्यो।
हात केही माथि पनि उचाल्न सकिरहेका थिएनन् उनले। कुनै रोग होला भनेर मैले पनि केही सोधिनँ।
साहित्यमा उदाउँदै पाइला चाल्दै थिए उनी। प्लिक्सि नेपाली भाषाको कविता संग्रह। यसअघि उनले पिङ्गई गजल संग्रह प्रकाशन गरिसकेका रहेछन् - तामाङ भाषामा।
कहिलेकही तामाङ डाजाङको मासिक कार्यक्रममा भेट हुन्थ्यो। उनको दाहिने हातको हालत उस्तै थियो। जाडो महिना लागेपछि झनै कक्रिने। म उनलाई थेरापी गर्न सुझाउँथे। उनी औषधि खाँदैछु भन्थे।
उनको दैनिकीबारे थप बुझ्ने प्रयास गरिनँ। यसबीचमा 'नोरी' कविता संग्रह पनि सार्वजनिक गरे २०७४ मा उनले।
हालै उनले तामाङ संस्मरण संग्रह प्रकाशन गरेका छन् : ल्हुइला गोङमा। अर्थात जीवनका पाइला। पछिल्लो कृतिबारे भृकुटीमण्डपमा भेटेर थप कुराकानी गर्न चाहेँ मैले।
'हात चाहिँ के भएर यस्तो भएको हो,' कृतिबारे भन्दा पनि मैले सुरुमै यही प्रश्न गरेँ ईश्वरलाई।
'यस्तै चिसोमा सुतेर नि। कहिले मन्दिरमा सुतेँ। कहिले घाटमा,' ईश्वरले जवाफ फर्काए।
बहिनीको मृत्युपछि मन्दिर र घाटको सुताई
मन्दिर अनि घाटमा गएर सुत्नुपर्ने अवस्था चाहिँ किन आयो त?
'बहिनी प्लिक्सिको यादले। २ वर्षको फरक हामी। बहिनी मेरै साथबाट खोसे भगवानले। सँगै खेल्ने, सँगै पढ्न जाने अनि सँगै घुम्न निस्कने मेरो सबैभन्दा निकट प्लिक्सि बितेपछि म घरमा बस्न सकिनँ,'ईश्वरले कोट्याए विगत। प्लिक्सिले ७ वर्षको उमेरमा सांसर छाडेको उनले सुनाए।
बहिनीको सम्झना हालै ईश्वरले कवितामार्फत यसरी गरे-
दादा, खेल्न नजाने?
टौमढीको एउटा बार्दलीमा
होमवर्क
सकिसकेपछि
मछेउ आएर
सोध्ने गर्थिन् प्लिक्सी– ‘दादा, खेल्न नजाने?’
उनी बितेको
वर्षौँवर्षपछि आज
टौमढी पुग्दा
उनले छाडेर गएका– तेलकासा
मसँगै गाएका– राजमती कुमती
र, उनको प्रार्थना सम्झेँ
पुनः सम्झेँ– ‘दादा, खेल्न नजाने?
भक्तपुरको पाँचतले देवल नजिकै बस्ने ईश्वरलाई बुबाले सम्झाउँथे। आमाले पनि। तर, बहिनीको निधनले उनको मनस्थिति सुध्रेन।
'बहिनी हुन्जेलसम्म फिल हुन्थ्यो भने मेरो साथी उही हो। मैले साथी गुमाएँ। अहिलेसम्म पनि साथी छैन,' ईश्वर अलिकति रसिक बने।
बहिनी बितेपछि रोएर हिँड्न थालेछन् ईश्वर। 'एक्लो फिल हुने अनि रुँदै हिँड्ने म त,' ईश्वर सम्झिन्छन्, 'मलाई बुझ्ने मान्छे भइदिएको भए म त्यस्तो हुन्थेन होला।'
बहिनी बितेपछि उनले आफू पढ्दै आएको ठाउँ पनि छाड्नुपर्यो। उनको बसाई भक्तपुरको न्यातपोलबाट काभ्रेको तिमाल सर्यो। उनको पुर्ख्यौली थलो त्यतै।
बाबु थाङ्का आर्टिस्ट। बाबुका साथीहरु चाहिँ कम्युनिस्ट। ती दिन यसरी सम्झन्छन् ईश्वर, 'बुवाले आफ्ना साथीहरुलाई सेल्टर दिनुहुन्थ्यो। आफैं कार्यकर्ता भने थिएनन्। तर पछि बुवा पनि लुकेर हिँड्नुपर्ने भयो। त्यसपछि गाह्रो भयो बुवालाई पनि। समय नै त्यस्तै। हामी सानै थियौँ। आमाको पनि केही थिएन रोजगारी। हामी त भोकभोकै हुनुपर्यो। त्यसपछि त धेरै तनाव हुन थाल्यो।'
ईश्वर जेठा सन्तान। गणितमा अब्बल भए पनि प्लस टु पछि उनले पढाई अघि बढाउन सकेनन्। अहिले बा-आमा पाँच जना भाई र दुई बहिनीसहित १४ जनाको परिवार छ उनको।
मेनियाले गाँजेपछिका दिन
ईश्वर आफूलाई सानो बेलामा अरुले गाली गरेजस्तो लाग्थ्यो रे। भने, 'सानो बेला अरुले हेला गरेको जस्तै लाग्थ्यो।' यही क्रममा बिरामी परे ईश्वर।
ती दिन सम्झन्छन् ईश्वर, '५८ सालको असार साउनतिर म अस्पताल भर्ना भएँ।'
अस्पताल पुगेपछि थाह भयो - मेनिया भएको रहेछ।
तीन महिना बसेर घर फर्के ईश्वर। घर फर्कँदा चिन्ने साथी कोही पाएनन्। त्यसपछि अरुले आफूलाई 'पागल, पागल' भनेजस्तै लागेको अनुभव भयो। ईश्वरले एकपटक त प्रतिवाद पनि गरेछन्।
'घर पुगेपछि मलाई पागल भन्न सुरु गरेको होला जस्तो लाग्यो,' उनी भन्छन्, '६३/६४ सालतिर मेरो नजिकबाट एउटा जोडी गफ गर्दै हिँड्दै थिए -पागल पागल भन्दै। मलाई त झनक्क रिस उठ्यो। आफैंलाई भनेजस्तै लाग्यो। मैले गएर सोधिहालेँ -कसलाई भनेको? उनीहरु अकमक्क परे। प्रेमिकाले आफ्ना प्रेमीलाई पो पागल भनेकी रहिछन्।'
मेनिया (एक प्रकारको मानसिक रोग) ले गाँजे पनि अरुले थप हेपेको जस्तै महसुस हुन्थ्यो ईश्वरलाई। कसैले हेपेजस्तो लाग्ने बित्तिकै ईश्वर मन्दिरदेखि घाटसम्म पुग्थे सुत्न। मन्दिरमा सुत्दा आनन्द आउँथ्यो रे उनलाई। घाटमा सुत्दा पनि डर लागेन।
'सायद आमाको सम्झाई राम्रो नभएको भए अहिलेसम्म के टिक्थेँ र म, सुसाइड गर्थे हुँला। आमाले सहनुपर्छ भन्नुभयो,' आमाबाटै बाँच्ने प्रेरणा पाएको उनले सुनाए।
प्रकाशनको दु:ख
छोटो कविता लेख्न रुचाउने ईश्वर गहकिला कुराहरु छोटैमा गर्छन्। चारवटा कृति बजारमा ल्याइसकेका ईश्वरलाई मैले सोधेँ - प्रकाशन चाहिँ कतिको सजिलो छ त?
उनले भने - गाह्रो छ। तर, माइला भाईले तीनवटा किताब लगालग निकालिदिए। पछिल्लो प्रकाशन थेबा बुक्सबाट प्रकाशन भएको हो।
कहिलेकाहीँ त उनलाई लाग्दो रहेछ : जीवनमा सबैभन्दा धेरै कथा मैसँग छ। त्यसैले ती कथाहरुको सँगालो निकाल्ने तयारीमा छन्। सानो बेलाको समय आफैंले आफैंलाई माया लाग्दो समय भएको सम्झन्छन् उनी।
युवा अवस्थामै आत्मकथा लेखन तयारी?
हाँस्दै उनले जवाफ फर्काए - एकजनाले ५५ वर्षमा आत्मकथा लेख्छु भन्नुभएछ। तर, त्यति वर्ष नपुगी उहाँको निधन भएछ। त्यसैले म यो काम यति वर्षमा गर्छु, उति वर्षमा गर्छु भनेर थाती राख्दिनँ।
नर्सको उपहार नाम
दोस्रोपल्ट बिरामी भएपछि पुनः अस्पताल भर्ना भए उनी। अस्पतालबाट डिस्चार्ज हुने बेला उनलाई नर्सले उपहार दिने भइन्। जीवनमा भेट होला नहोला, म उपहार दिन्छु - नर्सले त्यसै भनिन् उनलाई।
'पक्कै कलम वा डायरी हुनुपर्छ। सम्झना आयो। तर नर्सले दिइन् नाम,' उनले भने, 'त्यसपछि म भएँ ईश्वर।'
त्यतिबेला अक्कल नामले चिनिन थालेका थिए उनी। अक्कल लामाको नाममा धेरै कविता उनले लेखिसकेका थिए। नर्सले नाम दिएपछि २०६६ सालमा चारु मासिक 'न्यातपोल दबु'मा ईश्वर नाममा कविता प्रकाशनमा आयो।
६४ सालमा २० वर्षको उमेरमा नर्सले नाम राखिदिइन्। अक्कल चाहिँ मामाले राखेको नाम। न्वारनको नाम अर्कै।
नर्सको मायाले नै उनलाई जीवनप्रति माया लागेर आयो। त्यसपछि नर्सप्रति समर्पित कविता लेख्न थाले उनले अस्पतालमै।
तिमीलाई मैले सुनाएथेँ
एउटा कविता
प्रेमले
सुनाएथेँ
तिम्रो आँखामा मैले
फ्लोरेन्स नाइटिङ्गेल
मात्र फ्लोरेन्स नाइटिङ्गेल
देखेँ।
कुनैबेला आफ्नो जीवन कतै फालिएको ओइलाएको फूलजस्तो लाग्थ्यो रे ईश्वरलाई। तर अब भने जीवनलाई धेरै माया गर्छन्। भने,'अब जीवनलाई माया गर्छ ईश्वर। आफैंले आफैंलाई माया गर्दैनथेँ। अब अरुलाई पनि माया गर्छु।'
यस्तै अरुलाई पनि माया गर्ने कविता लेखेका छन् :
एउटा कहानी मलाई पनि बताऊ
तिम्रो जिन्दगानी मलाई पनि बताऊ
धेरै दुःख–पीरको कुरा गर्छ्यौ रे तिमी
आफ्नै तकदिरको कुरा गर्छ्यौ रे तिमी
आँसुको लगानी मलाई पनि बताऊ
तिम्रो जिन्दगानी मलाई पनि बताऊ
जिन्दगी त उत्सव हो दुःखी किन हुने
रुनै परे जिन्दगीमा एक्लै किन रुने
टुहुरो जवानी मलाई पनि बताऊ
तिम्रो जिन्दगानी मलाई पनि बताऊ
उनी थप्छन्, म चाहन्छु दुनियाँमा अरुलाई नरुवाउँ। अरुलाई रुवाउनु भएन। रुवाएको पनि छैन। दुई जनालाई भने रुवाएको छु। ती दुई बाआमा नै हुन्।
'कोसिस'ले चल्न थाल्यो हात
चिसोले सुताएको उनको हात कसरी चल्न थाल्यो? म अझै उत्तरको पर्खाईमा थिएँ।
दोस्रोपटकको अस्पताल बसाई यातनापूर्ण भएको रहेछ उनको। त्यही बसाईले थप गलायो उनको हात। अस्पतालको नाम भने खुलाएनन् उनले। तर भने, '६ महिना त चिसो छिँडीमा बसेजस्तै भयो।'
औषधिको डोजले पनि गलाएछ। बुझ्न थालेपछि औषधिको डोज घटाउन थाले उनले। र अहिले छाडिदिए औषधि पनि।
कोसिस नेपालका कोषाध्यक्ष उनी आफूजस्तै पीडामा परेकालाई उद्धारमा लाग्छन् अचेल।
'चल्न छाडेको हातको अवस्था सुधार कसरी भयो,' मैले सोधिहालेँ।
'काम। काम। अनि काम,'ईश्वरले दाहिने हात फनफनी घुमाउँदै भने। उनी अचेल कोसिसबाट कुनैबेला आफूले जस्तै होस गुमाएका साथीहरुको उद्धारमा लाग्छन्।
'कोसिस नै रहेछ सबै कुरा, ईश्वरले भने, 'अहिले त हात पनि बलियो भयो।'
जीवनमा मनको कोसिस पनि चाहिने रहेछ। ईश्वर अनुभव सुनाउँछन्, 'जीवनमा के सिकेँ भने मलाई क्यान्सर नलागेको भए हुन्थ्यो भनेर बारम्बार भनेमा शरीरले पनि त्यही किसिमको उर्जा उत्पादन गर्ने रहेछ।'
सडकमा बेसहाराहरु उद्धार गर्दा कहिलेकही कोसिसको टोलीलाई प्रतिप्रश्न गर्नेहरु पनि भेटिन्छन् - स्वतन्त्र खोसेर बन्धक बनाउने तपाईँहरु को? एकपटक एकजनाले यस्तै प्रश्न गरे - 'मलाई किन सडकबाट उठाउनुभएको? बन्द कोठाभित्र बस्न मन छैन मलाई? खुला आकाश मेरो राज्य हो। म जहाँ हिँड्छु, त्यही मेरो राज्य हो।'