PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

जनकपुर पुगेर दहीचिउरा खाएरमात्र पर्यटन वर्ष सफल नहुने प्रदेशमन्त्रीको दाबी, 'भिड बढाएर के काम, सेवा खै?'



राधेश्याम पटेल

जनकपुर पुगेर दहीचिउरा खाएरमात्र पर्यटन वर्ष सफल नहुने प्रदेशमन्त्रीको दाबी, 'भिड बढाएर के काम, सेवा खै?'

वीरगंज : प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनेश रायले भौतिक पूर्वाधार र प्रचारप्रसार बिना देशमा २० लाख पर्यटक वर्ष भित्र्याउन कठिन हुने बताएका छन्। जैन स्वेताम्बर तेरापंथ समाज वीरगंजले जैन धर्मशालाको सभाहलमा आयोजना गरेको तीर्थकर भगवान पाश्र्वनाथ र शान्तिदूत आचार्य महाप्रज्ञको जयन्तीको अवसरमा जन्म शताब्दी वर्ष समारोह अवसरमा आयोजित गोष्ठीमा पर्यटनमन्त्रीले यस्तो धारणा राखेका हुन्।

नेपाल भ्रमण वर्ष २०२० को पूर्ब सन्ध्यामा पर्यटनकै विषयमा आयोजित कार्यक्रममा रायले भने, ‘कागज र मञ्चमा भाषण ठोकेर भ्रमण वर्ष मनाउन सकिदैन, प्रदेश २ मा भएका कतिपय पर्यटकीय गन्तव्यबारेमा म आफु स्वयमलाई थाहा छैन, खाली जनकपुर गएर दही–चिउरा खाएर पर्यटन वर्ष मनाउन सकिदैन।’

यसका लागि राज्यले उचित सुविधाको व्यवस्था गर्नुपर्ने तर्क गरे। मन्त्री रायले भने, 'सबैभन्दा पहिले हरेक पर्यटकीय गन्तव्यलाई राज्यले पहिचान गरी उचित बासस्थान, पर्यटकलाई बाँध्ने सुविधासहितको वातावरणमात्र मिलायौं भने पर्यटक आफै आउँछन्।'

उनले प्रदेश २ को गढीमाई मेलामा मात्र २० लाखभन्दा बढी पर्यटक १५ दिनमै आएको दाबी गर्दै प्रश्न गरे, 'तर के ती सबै जनाले सहज शौचालय र खानेपानीको सुविधा पाए त?'

पर्यटकलाई बोलाएर भिडभाड गराउनु भन्दा अरामदायी भ्रमणमा अभिप्रेरित गर्ने खालको सेवा दिनुपर्ने माग उनको थियो।

कार्यक्रमका विशिष्ट अतिथि वीरगंज महानगरका मेयर विजयकुमार सारावगीले पर्यटनको विकासको लागि होटल व्यवसाय, पर्सा राष्ट्रिय निकुञ्जलगायत विभिन्न क्षेत्र मिलेर वीरगंजलाई पर्यटकको गेट बनाउन सकिने सुझाव दिए। उनले गेटवे अफ नेपाललाई अब पर्यटक भित्रिने नाकाको रुपमा पनि विकास गर्न स्थानीय, प्रदेश तथा संघीय सरकार पहल गर्नु पर्ने धारणा राखे।

वीरगंज महावाणिज्यदूतावासका निमित्त प्रमुख रमेश चतुर्बेदीले कार्यक्रमको विशेष महत्व रहेको पारसनाथ मन्दिर महुवनको संरक्षणको लागि सबैले पहल गर्नु पर्ने बताए।

नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ का संयोजक मनीष झाले प्रदेश २ मा अन्य प्रदेशभन्दा पर्यटन वर्षको गतिविधि सक्रिया रुपमा भइरहेको ध्यानाकर्षण गराउँदै आफ्नो गाउँठाउँको मौलिकता नै पर्यटकको ध्यान खिच्न सक्ने बताए। प्रदेश २ मा धार्मिक र साँस्कृति पर्यटनको बेजोड सम्भावना रहेकोमा यसको उचित प्रवद्र्धन भए छोटो समयमा प्रदेश २ फड्को मार्न सक्नेमा उनको जोड थियो।

पत्रकार चन्द्रकिशोरले प्रदेश २ को छुटै भौगोलिक पहिचान रहेकोले भारतीय तथा तेस्रो मुलुकबाट आउने पर्यटकको लागि उचित गन्तव्य बनाएर पर्यटन व्यवसायलाई उर्जा दिनु पर्ने बेला आएको बताए। आयोजक संस्थाका अध्यक्ष राजकुमार वैद्य्को सभापतित्व र मनोज उपाध्यायको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का पर्सा संयोजकहरु अशोक वैद्य, मोहन प्रधान, सुधीर उपाध्याय, जैन धर्मका गुरुहरु समणी र सन्मति प्रज्ञाहरुलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell