
काठमाडौं : मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको भुटान यू-१५ महिला टोलीलाई नेपाली टोलीले पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले हराएको हो।
खेलमा नेपालले पाँचौ मिनेटबाटै अग्रता बनाएको थियो। पहिलो हाफ सकिँदासम्म नेपाल ३–१ गोलले अगाडि थियो। दोस्रो हाफमा फेरि नेपालले ३ गोल नै थप्यो।
नेपालका लागि अमिशा कार्कीले ३ गोल गर्दा प्रीति राईले २ र सुनकली राईले १ गोल गरे। खेलको ५ औं मिनेटमा सुनकलीको गोलमार्फत नेपालले अग्रता लिएको थियो। त्यसपछि १२ औं मिनेटमा गोल गर्दै अमिशाले नेपालको अग्रता दोब्बर पारिन्।
१४ औं मिनेटमा भुटानकी देकी लाजोमले गोल फर्काएकी थिइन्। पहिलो होफको ४४ औं मिनेटमा प्रीतिले नेपालका लागि गोल थप्दै खेललाई ३-१ को अवस्थामा पुर्याइन्।
दोस्रो हाफमा पनि नेपाल हावी भएको थियो। दोस्रो हाफमा अमिशाले ४८ औं र ५४ औं मिनेटमा गोल गरिन्। खेलको ८९ औं मिनेटमा प्रीतिको दोस्रो गोलसँगै खेल ६-१ को स्थितिमा पुगेको थियो।
नेपाल र भुटानको अर्को खेल बुधवार हुनेछ।
नेपाल र भुटानबीच हुने खेलका कारण जारी शहीद स्मारक ए डिभिजन लिगको खेलस्थल पनि फेरिएको थियो।