PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

नेपाली माटोमा नर्वेलीको पौरख! हामी भने विदेशिने होडमै {यात्रानुभूति}

नेपाली माटोमा नर्वेलीको पौरख! हामी भने विदेशिने होडमै {यात्रानुभूति}

ऋषिकेश दाहाल/पहिलोपोस्ट


वर्षा ढिलोसम्म तन्किएकाले बाटो सजिलो थिएन। गौरीघाटबाट कुमारीगाल हुँदै भित्री बाटो लिएर जोरपाटी ओरालोसम्म पुगियो। अफिसबाट निस्किएको स्कर्पियोलाई लामा पेट्रोलपम्पबाट एउटा बलेरोले साथ दिँदै थियो। लामो यात्रा गर्नुपर्ने भएकाले सानोतिनो समस्या नसुल्झाइ भएन। हामी स्कर्पियो लिएर अघि बढ्यौं, बलेरो मर्मत हुँदै थियो। साँखुसम्मको बाटो सजिलो हुने कुरै भएन, असजिलो हुनु नयाँ विषय पनि थिएन किनकि पाँच वर्षयता यो बाटोको हविगतमा कुनै परिवर्तन देखिएको छैन। साँखुबाट जहरसिंह पौवातिर जाने बाटो पनि ठाउँठाउँमा भत्किन थालिसकेछ। समथर ठाउँमा भत्केको बाटोभन्दा उकालो/ओरालोको भत्काइ अलि बढी कठिन हुन्छ। त्यसमाथि हामीलाई लिएर जाने ड्राइभर दुर्घटना बाहेकको गफै नगर्ने। हैट! जहरसिंह पौवाभन्दा केही तल नै सुनाए - 'उ माथिबाटै सोझै खस्यो नि!' यही रुटमा दुई/तीन पटक दुर्घटना भोगेको र देखेको सुनाइरहेका थिए उनी। हामी भने भोकका कारण पेट भर्ने जुक्तिमा थियौं।

जहरसिंह पौवामा भात पकाउन लगाएर खाइसक्दा बलोरो पनि आइपुग्यो। 'हामीले त चाउमिन खाइसक्यौं, भात नखाने,' बलेरोबाट उत्रिँदै थोमस स्ट्रोमोनी। थोमसले खाएरै आएका, हामीले पनि भर्खरै पेट भरेको। अब बाँकी के रह्यो?

आउनुस् अघि बढौं।

थोमस आफैँले गाडी हाँक्दै थिए। उनी अघिअघि, हाम्रो पछिपछि। तर, बाटो? न उनका लागि सजिलो न त हाम्रा लागि नै। थोमस नर्वेजियन, हामी नेपाली। सम्पन्नताका हरेक सूचकको अब्बल ठाउँका उनी र हामी त्यही सूचीका सबैभन्दा पुछारतिरका। तर, सम्पन्नता र विपन्नताको बीचमा आनका तान फरक भए पनि केही कुराले नर्वे र नेपाललाई जोडिरहेको थियो। हामी त्यही तत्व बुझ्न उनको पछि लागिरहेका छौं, तपाईँहरुसँगै।

जहरसिंह पौवाबाट भोटेचौरतिर जाने बाटो छाडेर हामी मेलम्चीतिर सोझिनु थियो। त्यही दोबाटो सबैभन्दा हिलाम्मे। हिलो र उकालोका कारण यात्रा असहज हुने संकेत यहीँबाट मिल्दै थियो।

हिलो उछाल्दै थोमसले गाडी हुइँक्याइहाले। त्यसलगत्तै एउटा ट्रक ह्विम पाइपको भारी लिएर ठसठसी कन्दै उकालोतिर लाग्यो। तर, के सक्थ्यो? अगाडिका पाङ्ग्रा नै उचालिएला झै गरी पछाडितिर घिस्रिहाल्यो। उसै त हिलो बाटो त्यसमाथि लोड गाडीले खोतल्न थालेपछि के हुन्छ? हाम्रो गाडी पनि हिलोको दवदवबाट माथितिर जान सकेन। पटकपटकको प्रयास असफल। साबेलले खोस्रदै ढुंगा माटो हालेर बल्ल बल्ल ट्रक उम्काए। त्यतिखेरसम्म थोमस हातमा डोरी बोकेर उत्रिसकेका थिए, हाम्रो गाडीलाई तान्न परे तान्छु भन्दै। हिले बाटोमा हिँड्दा चाहिने सरजाम उनको गाडीमै रहेछ। धन्न! उनको सहयोग परेन, यसपाला गाडी हुत्तिएर हिलो पार्न गर्न सक्यो।

अब भने नेपाली बाटोमा नर्बेली गाइडजस्ता भए उनी। त्यसैले उनको गाडी पछि पछि हाम्रो अघिअघि। बलेरो फोर ह्विलर थियो भने हामी चढेको स्कर्पियो टू ह्विल ड्राइभ। जहरसिंह पौवाभन्दा केही पर बनेको प्रहरी चौकी पार गरेर ढाडखोलातिर झर्नु सजिलो थिएन। लगातार तीन दिनको झरीले गाडीले बनाएको खाँदलाई झन गहिर्‍याएको थियो। सद्धे ठाउँ पहिरोको लय समाउँदै तलतिर झरिरहेको। धन्न हाम्रो यतिखेरको यात्रा ओरालोको मात्र थियो। उकालो फर्किनुपर्ने थियो भने यात्राको सम्भावना शून्य। त्यतिखेरै हामीले तय गरेका थियौं, छोटो भए पनि यो बाटो चाहिँ नफर्कने।जेनतेन मेलम्ची पुगियो। चिया खाँदै गर्दा थोमसले भने, 'अब १२ किलमिटर कच्ची बाटो छ तर अहिले आएको जस्तो नराम्रो होइन।'

मेलम्ची बजारबाट इन्द्रावती पार हुँदै हामी लाग्यौं नवलपुर। यतिखेर पनि पानी परिरहेकै थियो। त्यसैले होटलमा सामान थन्क्याएर हामी लाग्यौं थोमसको फार्म हाउसतिर। अध्यारो बढ्दै थियो, बाटो साह्रै साघुँरो र घुमाउरो। कतै कतै त आधा बाटो नै सर्लप्पै तल्लो आलीतिर झरेको। जतनसँगै थोमसले गाडी पार गराउँदै फार्म हाउस पुर्‍याए। त्यहाँ केहीबेर डुलेपछि हामी फर्कियौं होटल। थोमसले बिहान कफीका लागि निम्त्याएका थिए हामीलाई।

'भोलि बिहान आउनुस् कफी खुवाउँछु।'

बिहान ८ बजे आउन उनले निम्त्याए।

'होइन ७ बजे नै आउँदा हुन्न?'

'त्यसो भए ७:३० बजे। बार्गेनिङ गरेको नि,' ठट्यौलो पारामा उनले सुनाए।

+++

थोमसको हिन्दी नाम पनि रहेछ, गोविन्दा। सन् १९९० को दशकमा भारत यात्रामा रहेछन् यी नर्वेलीले। ठट्यौलो स्वभावका उनको भारतीय साथीहरुले न्वारन गरिदिएछन् - गोविन्दा। किनकि त्यतिखेर बलिउडमा गोविन्दा एक से एक हिट फिल्म दिइरहेका थिए। त्यसैले सुपरहिट हिरोको नाम आफ्नो पहिचानमा थपिँदा उनी दंग पर्नु स्वभाविक नै हो। रोचक चाहिँ के भने, थोमसको बम्बैया नाम 'गोविन्दा' अझै जिवित छ - गोविन्दा फाउन्डेसनका नाममा।

थोमसको कृषिकर्ममाथि बिजमाण्डूमा प्रकाशित सामग्री पढ्नुस्

कुनै समय थोमसका व्यवसायिक साझेदारसमेत रहेका पूर्व पत्रकार इन्द्र गुरुङले गोविन्दा फाउन्डेसनबारे हामीसँग सेयर गरे त्यसै रात। गोविन्दा फाउन्डेसनले नेपालका विभिन्न जिल्लाहरुमा स्कुल बनाउने र स्कलरसीप उपलब्ध गराउँदै आएको रहेछ। त्यसमा थोमस र उनका नजिकका साथीहरु जोडिएका रहेछन्। गुरुङ पनि तीमध्ये एक रहेछन्। थोमस र गुरुङले केही समय हस्तकला व्यवसायमा साझेदारी पनि गरेका रहेछन्।

तर, अरुतिरको व्यवसाय सबै छाडेर अहिले भने थोमस कृषि पेशामा। आफूमात्र होइन, नवलपुर गाउँका मानिसहरुलाई पनि आधुनिक कृषिमा संलग्न गराउने उनको उद्देश्य। कफीमा थोमसको विशेष लगाव। उच्च पहाडी भेगमा तयार पारेको कफी प्रशोधन गरेर युरोपको बजारमा पुर्‍याउने उनको लक्ष्य।

+++

नवलपुरको मुख्य चोकबाट करिब १५ मिनेट हिँडेपछि बिहान ७:३० बजे फार्म हाउसमा पुग्दा तामाङ सेलो घन्किरहेको थियो। तामाङ र बाहुन बस्तीको बीचमा रहेको फार्म हाउसमा ठूले तामाङ तामाङ सेलो सुनिरहेका थिए।

'तपाईँहरुलाई स्वागत छ,' ठूलेले स्वागत गरे। झुक्किनु पर्दैन, को हो यो ठूले तामाङ भनेर। थोमसको स्थानीय नाम चाहिँ ठूले तामाङ रहेछ। अनि उनी मजाले सुन्दा रहेछन् - तामाङ सेलो।

बेलाबेलामा बनझाँक्रीको कुरा गर्न पनि भ्याउने उनी रैथानेभन्दा फरक रहेनछन्। अघिल्लो साँझ उनको फार्म हाउस पुग्दै गर्दा उनले बाघ नलाग्ने तर बदेल लाग्ने सुनाएका थिए त्यहाँ। ठट्यौलो पारामा उनले भनेका थिए - 'बारीको मकै बदेलले खायो अनि हामीले बदेल खाइदियौं।'

उनले भनेअनुसार कफी बनाउने तयारी गरे। त्यसका लागि कफी भुट्ने मेसिन, ग्राइन्डर सबै रहेछ। डिजिटलाइज्ट ग्राइन्डरबाट उनले कफीका दाना भुट्दै गर्दा झ्याप्प बत्ती गयो। उनले सोचेअनुसार काम भएन। त्यसपछि हामीलाई उनले आफ्नो नर्सरी देखाए। बिक्री भएर बाँकी रहेका कफीका बोटहरु रहेछन्। कफी भने आखिरी तिर पिलाएरै छाडे। निक्कै तिख्खर र कडा। कफीको स्वाद कस्तो बनाउने भन्ने विषय त्यसलाई कति भुटिन्छ भन्नेले निर्धारण हुने रहेछ। उनले कफी बनाउने तरिका त्यहीँ ब्रिफ गरे।

नवलपुरको कफीलाई युरोप पुर्‍याउने लक्ष्य सहित प्रशोधन केन्द्र पनि बनाएका रहेछन्। मेसिन भने ल्याउने तयारीमा। धेरै कफी पिउने मुलुकका उनी अहिले आफूलाई नर्बेली भन्दैनन् नेपाली भन्न रुचाउँछन्।

'म त खासमा नेपाली किसान हो।'

प्रस्ट नेपाली बोल्ने उनी तामाङ भाषामा पनि गफ दिन भ्याइदिने। त्यसो त रोयल इन्फिल्ड चढेर पूरै नेपाल चहारिसकेका छन् उनले। भूकम्पभन्दा अघिदेखि केही फरक गर्ने हुटहुटीले उनी यहाँ पुगेका रहेछन्। २०७२ को भूकम्पले धेरैको संरचना तोड्यो। तर, थोमसलाई भने नेपालसँग अझै जोड्यो त्यो प्रलयले। भूकम्पमा सहयोगी बनेर राहत वितरणमा उत्तिकै सक्रिय रहे। त्यसपछि भने कृषिमा।

टिनको पाताले घेरिएको टहरो, सानो आँगन, तलतिर कान्लैकान्लाको बारी र खेत। त्यही हुर्काइरहेका छन् उनले सपना।

'कृषिको ज्ञान चाहिँ कहाँबाट मिल्यो? पहिले नर्वेमा काम गर्नुहुन्थ्यो?'

'यही सिकेको हो। युट्युबबाट। उता (नर्बे)मा त माछा मार्थेँ।'

उनी बाटोमा हिँड्दा मानिसहरु 'के छ ठूल्दाइ?' भन्दा रहेछन्। अनि उनी पनि 'ठीक छ। तपाईँको नि' भन्दै फर्काउँदा रहेछन्।

बाटोमा चिनेका मानिस देख्नासाथ हालखबर सोध्ने उनको बानी टिपिकल नेपाली पाराको। खाना खानुभयो? के गरिरहनुभएको छ? सञ्चै हुनुहुन्छ? आदिआदि।

+++

उनको टिनले बारेको घर र नर्सरी छाडेर १५ मिनेटको दुरी तय गरेपछि उनको बन्दै गरेको फार्म हाउसको घर देखियो। दुई तला फिनिसिङ हुँदै थियो। यतिखेर त पूरै तयार भइसक्यो होला। होम स्टे पनि चलाउने उनको तयारी रहेछ।

'यो घरमा प्रयोग भएको काठ एउटै रुखको हो।'

नभन्दै घरको भर्‍याङदेखि दलिन र चोटा सबै सल्लाको काठबाट बनेको रहेछ। उनका सहयोगी भन्दै थिए - रुखभन्दा महँगो त ढुवानीकै लागि भयो। घरमा रङरोगन चल्दै थियो।

घरभन्दा तलतिर भने कान्ला खेत र बारी। यहाँ भने ढपक्कै फलेका कफी। थोमस हातमा विरुवा छिमल्ने औजार लिएर विरुवा देखाइरहेका छन्। काटेका हाँगालाई निमोठनामोठ पारेर विरुवाको फेदमा उनले हालिरहँदा अनौठो लाग्थ्यो।

किन त्यसो गरेको?

'फाइदा हुन्छ। माटो चिसो गराइरहन्छ, घाँस उम्रिन दिन्न। पछि आफैँ मल बन्छ।'

उनले दिएको यस्तो उत्तरले उनी पक्का किसान भइसके भन्ने छनक दिन्छ।

+++

नवलपुरभन्दा माथि पर्छ कार्तिके। यहाँको भूगोलको उच्चतम ठाउँ। त्यहाँ पनि यिनको खेती छ। त्यहाँ भने यिनलाई नोर्बु शेर्पा भन्छन् चिन्नेहरुले। यहाँका तीन ठाउँमा फरक फरक उचाईमा कफी रोपेर एक किसिमले परीक्षण गरिरहेका थोमस अब त्यसको व्यवसायिक भविष्यप्रति सोच्दैछन्।

युरोपमा कफी खपत नहुने कुरै रहेन। नेपालमै कफी खाने प्रचलन ह्वात्तै बढेको आफ्नै आँखाले देखेका छन् उनले। त्यसैले बजारको उनलाई चिन्ता छैन। कफीको स्वादका पारखी उनी सर्टिफाइड अर्ग्यानिक कफीलाई युरोपसम्मको यात्रा गराउने उद्देश्यमा छन्।

उनले कफीलाई सात समुन्द्र पार गराउनुको अर्थ उनको व्यवसायिक सफलतामा मात्र टुंगिन्न। उनीसँग जोडिएका किसानहरुको सफलतासम्मै त्यसको प्रतिफल आउँछ। अर्ग्यानिक सर्टिफाइड कफी उत्पादन भयो तर बजारको माग धान्न नसके त्यसको कुनै अर्थ हुन्न। बजारको माग र उत्पादनको सन्तुलन मिलाउन सकेमात्र उनले लक्ष्य भेट्नेछन्। त्यसका लागि गाउँलेलाई धान र गहुँ खेतीबाट कफीतिर तान्नुपर्छ। जुन, कसैका लागि पनि सजिलो कुरो होइन। थोमसका लागि पनि।

+++

विदेशीनुलाई प्रगतिको सूचकको रुपमा अर्थ्याइने नेपाली समाजमा एउटा नर्बेलीले गरेको खेती देख्दा अनौठो लाग्नु स्वभाविक हो। अझ त्यसमाथि उनको लगावलाई धेरैले 'पागलपन' नै भन्छन्।

भौतिक सम्पन्नताले सुखी नर्बे छाडेर कुनाकन्दराको गाउँमा छाप्रोमा बसेर खेती गर्नुलाई नेपाली समाजले अवनतीको बाटो न देख्छ। त्यसमाथि नर्बेको घर बेचेर, कार बेचेर सिन्धुपाल्चोकको एउटा कुनामा माटोसँग खेल्दै गरेको देख्नु आफैमा अचम्म।

नेपाली युवाहरुलाई साझेदार बनाएर उनले थालेको पहलले कृषिको महत्व कसरी स्थापित हुँदैछ भन्ने बुझायो हामीलाई। उनीसँग केही विरुवाहरु लिएर हामी आफ्नो बाटो लाग्यौं।

+++

मेलम्चीतिर झर्दै गर्दा एउटा ट्रक भासियो र हाम्रो बाटो रोकियो। आधा घन्टा त्यत्तिकै कुर्न पर्‍यो बाटो खुल्न। त्यसपछि मेलम्चीबाट जिरो किलोसम्म आइपुग्न उत्तिकै सकस। विस्तार गर्न खोजिएको सडकमाथिबाट पहिरो झरिरहेको। वर्षा नसकिँदा पनि इन्द्रावतीमा क्रसर चलिरहेका दृष्य कसलाई प्रितिकर हुँदो हो? हुँदाहुँदा यतिसम्म कि जिरो किलो आइपुग्नै लाग्दा एउटा सालको रुख नै ढल्यो र छेक्यो बाटो। टिपरले ठेलेरै बाटो खुलाए - आवश्यकता नै आविस्कारको जननी भने झै।

प्रकृति प्रेमदेखि प्रकृतिमाथिको दोहनका दृष्य हेर्दै आएका हामीलाई काठमाडौं आइपुग्दा पनि लागिरहेको थियो - भौतिक सम्पन्नतालाई त्यागेर यस्तो ठाउँमा थोमस माटो कोट्याइरहेको छ, कृषि पेशामा प्रतिवद्धता जनाइरहेको छ जुन उसको कहिल्यै थिएन। तर, हामी भने हरेक दिन मरुभूमिमा कामदार खपत गरेर देश चलाइरहने मुडमै छौं।

थोमको नर्सरी। यही उनले उत्पादन गर्छन् कफीका बोट।
हामीलाई कफी तयार पारेर ल्याउँदै थोमस।
फुर्सद भयो कि उनी विरुवामा कैची चलाउन थालिहाल्छन्। थोमसले कृषि पढेका होइनन्, युट्युव उनको कृषि गुरु।
थोमसले तयार पारेको कफीको दाना।
यो चाहिँ उनकै बारीमा फलेका बुद्धचित्तका दाना।


ट्रेन्डिङ पोस्ट

Ncell