
काठमाडौं : समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो। समाजवादीबाट सरकारमा दुई मन्त्री छन्।
समाजवादी पार्टीले सरकार छाडे पनि त्यसले अहिलेको सत्ता समिकरणमा कुनै असर गर्नेवाला छैन। समाजवादी सरकारबाट बाहिरिनुलाई अस्वभाविक रुपमा पनि हेरिएको छैन। किनकि मन्त्रिपरिषद फेरबदल हुँदा कुनै सल्लाहविना नै उप प्रधानमन्त्री यादवको विभागीय जिम्मेवारी फेरिएको थियो।
सँगै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरणको तयारी हुने चर्चासँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय सभामा राजपासँग सिट साझेदारीको सहमति गरेको थियो। सहमतिसँगै समाजवादी दल सत्ताबाट बाहिरिने बाटो तय भएको थियो। सत्ताबाट बाहिरिनु अघि उप प्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए जसलाई प्रधानमन्त्री ओलीले स्वीकारेनन्।
स्वाथ्यमन्त्रीबाट कानुन मन्त्रालयमा पुर्याइएका उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इतियाक राई छन्, समाजवादीबाट।
समाजवादीको प्रस्ताव सोमबार बसेको मन्त्री परिषद्को बैठकमा प्रधानमन्त्रीले अस्वीकार गरेका थिए।