PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रहरी परिसरमा अनि उनीहरुले आफ्नो मुन्टो लुकाए : ज्याकेट तानेरै मुख ढाके, टोपी र हत्केलाले अनुहार छोपे

प्रहरी परिसरमा अनि उनीहरुले आफ्नो मुन्टो लुकाए : ज्याकेट तानेरै मुख ढाके, टोपी र हत्केलाले अनुहार छोपे

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा मंगलवार फरक दृष्य देखियो। त्यहाँ केही चिनियाँ नागरिकहरु थिए, जसलाई हिजोमात्र प्रहरीले नियन्त्रणमा लिएको थियो। 

परिसरमा उनीहरुले जब क्यामरा बोकेका पत्रकारहरु देखे तत्कालै आफ्नो अनुहार छोप्न थालिहाले। एकै पटक धेरै चिनियाँ पक्राउ परेकाले प्रहरीलाई पनि हम्मे हम्मे परेको छ उनीहरुलाई थुन्ने ठाउँ मिलाउन। आज उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थपिँदैछ।

प्रहरीले सोमबार राजधानीभित्र चलाएको सर्च अप्रेशनबाट नियन्त्रणमा लिइएका १ सय २२ चिनियाँ नागरिकलाई अभद्र व्यवहार गरेको भन्दै थुनाको म्याद थप गर्न थालेको हो। त्यही सिलसिलामा जिल्ला प्रशासन कार्यालयबाट खटिएकाहरु परिसर पुगेका थिए।

त्यही क्रममा मिडियाको उपस्थिति देखेपछि पक्राउ परेका चिनियाँहरुले आफ्नो अनुहार ढाक्न ज्याकेटको समेत प्रयोग गरे। ज्याकेटले मुख छोप्न नसकेकाहरुले हत्केला र टोपीले अनुहार लुकाए। कोही भने भित्तातिर फर्किएर आफ्नो अनुहार लुकाइने प्रयास गरिरहे। पक्राउ पर्नेमा चिनियाँ महिलाहरु पनि छन्।

परिसरको बाहिर घामको पार लाग्ने ठाउँमा रहेका उनीहरुको हातमा हत्कडी थियो। अन्य वृत्तमा रहेका चिनियाँहरुलाई पनि परिसर नै ल्याउनेक्रम जारी थियो। त्यही फोटो खिच्दा उनीहरुले औला ठड्याउँदै चिनियाँ भाषमा गाली पनि गरिरहेका थिए।

१ सय २२ जना विरुद्ध आज अभद्र मुद्धामा म्याद थप गरिन लागेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। सामान्यतय म्याद थपको लागि अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ। तर, अभद्र व्यवहारको केसमा भने जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराए पुग्छ। तर, प्रहरी कार्यालयबाट नै म्याद थप गर्ने लागिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त महाजगञ्जबाट उनीहरुको म्याद थप गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नै परिसर पुगेर उनीहरुको म्याद थप गराउने प्रक्रिया अगाडि बढेको हो।

काठमाडौंको बाँसबारी, ठमेल, मनमैजु, बुढानीलकण्ठ लगायत विभिन्न स्थानबाट विदेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका अधिकांश चिनियाँ नागरिक पर्यटक भिषामा नेपाल आएको देखिएको छ। सफ्ट्वयर कम्पनीमा काम गर्न भन्दै अनलाइनबाट ठगी तथा अन्य गतिविधि गरेको प्रहरीको दावी छ। चिनियाँ दूतावासको सक्रियतामा पक्राउ परेका उनीहरुलाई अदालती प्रक्रियामा नलगी जिल्ला प्रशासनमार्फत् अभद्र व्यवहारमा म्याद थप हुन लागेको हो।

यसअघि पनि चिनियाँ नागरिक सुन तस्करी, विदेशी नोट, एटिएम ह्याकिङ लगायत अपराधमा पक्राउ पर्ने गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell