PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कैलालीका सात स्थानीय तहमा कांग्रेसको चिरफार, 'स्थानीय सरकारको काम भ्रष्टाचारै भ्रष्टचार'



एम बम

कैलालीका सात स्थानीय तहमा कांग्रेसको चिरफार, 'स्थानीय सरकारको काम भ्रष्टाचारै भ्रष्टचार'

कैलाली : नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले आर्थिक वर्ष २०७५/०७६ मा कैलाली जिल्लाका स्थानीय तहबाट भएका विभिन्न विकास निर्माणका कार्यको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ।

कांग्रेस कैलालीले मंगलवार बिहान धनगढीमा पत्रकार सम्मेलन गरी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।

सुशासन, पारदर्शिता, सामाजिक न्याय र विकासका प्रतिफलको न्यायोचित वितरण सुनिश्चित गर्ने आवश्यकता महसुस गर्दै कैलाली कांग्रेसले २०७६ साल साउन १ गतेदेखि २०७६ भदौ १२ गतेसम्म पार्टीका स्थानीय इकाईहरू तथा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई समन्वयात्मक ढंगबाट परिचालन गरी स्थलगत अनुगमन गरिएको पार्टीका जिल्ला सभापति नरनारायण शाह (मनु)ले जानकारी दिए।

कैलाली कांग्रेसले जिल्लाका सात वटा स्थानीय तहमा भ्रष्टाचार र आर्थिक अनियमितता भएको ठहर गरेको छ। अन्य ६ स्थानीय तहमासमेत जनशक्ति परिचालन गरिए पनि तथ्यांक संकलन कार्य सम्पन्न भई नसकेको जिल्ला कार्यसमितिको भनाइ छ।

कांग्रेसले सार्वजनिक गरेको प्रतिवेदनमा स्थानीय तहहरूमा सञ्चालित विभिन्न आयोजनाहरूमा लाखौँ रकम अनियमितता भएको उल्लेख छ। उक्त प्रतिवेदन अख्तियारमा बुझाउने तयारी गरिएको पार्टी सभापति मनुको भनाइ छ।

घोडाघोडी नगरपालिका

घोडाघोडी नगरपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको कांग्रेसको ठहर छ। स्थलगत अनुगमन प्रतिवेदनमा उल्लेख भएअनुसार वडा नम्बर १ मा इन्द्र कुँवरको घरदेखि प्लान्ट मिलसम्मको सडक निर्माण भएको देखाइ चार लाख भुक्तानी दिए पनि काम नभएको कांग्रेसको आरोप छ। वडा नम्बर ३ को चौकीदारको घरदेखि प्रकाश चौधरीको घर हुँदै पश्चिम भोजपुरको चोकसम्म सडकमा माटो पटानी र ग्राभेल लागि १० लाखको योजनामा ६ सय मिटरमा माटो पटानी र ग्राभेल गरेको तर बाँकी काम पूरा नगरी भुक्तानी दिइएको प्रतिवेदनमा उल्लेख छ।

गौरीगंगा नगरपालिका

कांग्रेसले सार्वजनिक गरेको प्रतिवेदनमा गौरिगंगा नगरपालिकाले विकास निर्माणका योजनामा कम काम गर्दै पूर्ण भुक्तानी दिएको बताइएको छ। प्रतिवेदनमा नगरपालिकाको वडा नम्बर २ मा जल उत्पन्न प्रकोप कार्यालयको नदी नियन्त्रण कार्यक्रम अन्तर्गत ३५ लाखको शान्तिपुर धवै नदीमा लागत अनुमान बिना खर्च गरिएको उल्लेख छ।

यस्तै वडा नम्बर ४ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको २५ लाखको बोरिङ निर्माण गरिएको भए पनि काम सम्पन्न नहुँदै भुक्तानी दिइएको, वडा नम्बर ५ को शिशु आधारभूत विद्यालय किनार लिक्मामा नदी तटबन्धनको पुरानो योजना देखाएर भुक्तानी दिएको, वडा नम्बर ७ मा पाइप जडान र सडक ग्राभेलका लागि ३० लाख खर्च गरी ६ हजार तीन सय ४३ मिटर ग्राभेल गर्नुपर्नेमा एक हजार आठ सय ५० मिटर मात्र गरेको कांग्रेसको आरोप छ।

त्यस्तै वडा नम्बर ८ को मसुरिया सडकदेखि दक्षिण पूर्व पश्चिम राजमार्ग रहेको पेट्रोल पप्पसम्मको सुनपाल सामुदायिक वनले झन्डै साढे चार लाखमा ग्राभेल गरे पनि नगरपालिकाबाट भुक्तानी दिइएको प्रतिवेदनमा भनिएको छ।

गोदावरी नगरपालिका 

गोदावरी नगरपालिका वडा नम्बर ३ चौकी डाँडा सामुदायिक वन घेरबारमा १५ लाख खर्च गरिएको तर लागत फारममा आठ सय ८० पोल उल्लेख भए पनि फिल्डमा छ सय पाँच मात्रै गाडिएको पाइएको कांग्रेसले जनाएको छ।

यस्तै वडा नम्बर ४ को बमबहादुरको घर जाने बाटोमा २० लाखको लागतमा निर्माण भएको स्टिमेट अनुसार नभएको र वडा नम्बर ८ स्याउले बजार नजिकको फुटबल मैदान निर्माण योजनामा २० लाख बजेट भए पनि चार लाखको काम गरी पूर्ण भुक्तानी दिएको उल्लेख छ।

भजनी नगरपालिका

भजनी नगरपालिकाको वडा नम्बर १ चकुलियाबाट काँडा जाने पुलदेखि जोखन चौधरीको घर सम्मको सडकमा १२ लाख ३५ हजारमा माटो पटानी र ग्राभेल गर्ने भनिए पनि ३६ टिप्पर ग्राभेल र तीन लाख ५० हजार रोलर ज्याला लागेको भए पनि पूर्ण भुक्तानी दिएको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ। वडा नम्बर ३ को घुसी स्कुल नजिकै काँडा नदी तटबन्धको योजनामा पुरानो जाली र ढुंगा प्रयोग गरी साढे छ लाख भुक्तानी दिएको र वडा नम्बर ८ को कृषि समूहलाई उन्नत जातको ब्याउने भैँसी वितरण कार्यक्रम अन्तरगत पाँच लाख खर्च गरी वितरण गरिएको भनिए पनि ७० हजार पर्ने भैँसी वितरण भएको कांग्रेसले प्रतिवेदनमा समेटेको छ।

कैलारी गाउँपालिका 

कैलारी गाउँपालिकाले वडा नम्बर २ मा २५ लाखको लागतमा निर्माण गरिएको शौचालयमा बजेट अनुसार भौतिक संरचना निर्माण नभएको बताइएको छ। वडा नम्बर ७ मा जल उत्पन्न कार्यालयको सात लाखको लागतमा बसन्ता गाउँको कटैनी खोलामा पुरानो तटबन्ध माथि केही ढुंगा र तार जाली राखेर भुक्तानी दिइएको, वडा नम्बर ८ प्रदेश सरकारको कार्यक्रम अन्तरगत लोहरपुल जिरो प्वाइन्ट देखि सडकपुर खण्डको कृषि सडकको उपभोक्ता समिति गठनमा नक्कली हस्ताक्षर र वडा नम्बर ९ को गदरिया बजारमा २७ लाख ५० हजारको लागतमा निर्माण गरिएको शौचालयको भौतिक संरचना बजेट अनुसार निर्माण नभएको प्रतिवेदनमा उल्लेख छ।

चुरे गाउँपालिका 

चुरेको वडा नम्बर ३ सहजपुरमा लिप्टीङ खानेपानीका लागि गत वर्षमा विनियोजित बजेट निकासा भए पनि काम अधुरो र विद्युत् पोल खरिद गर्ने पेस्की रकम निकासा भए पनि काम नभएको उल्लेख छ । 

जानकी गाउँपालिका 

गाउँपालिकाले वडा नम्बर २ मा २० लाखको लागतमा सडक ग्राभेलको योजनामा उपभोक्ता समितिले पाँच लाख ९६ हजारको ग्राभेल, तीन लाख ४० हजार जेसिबीलाई भुक्तानी गर्दै ९ लाख ३६ हजार मात्र खर्च भए पनि सबै रकम भुक्तानी दिइएको कांग्रेसको आरोप छ।

त्यस्तै वडा नम्बर ९ मा तीन लाख ५० हजार लागतको फार लाइन सडक निर्माणमा रोलरको २० हजार र पानीको चार हजार खर्च गरी बाँकी बजेट अनियमितता भएको र राष्ट्रिय आधारभूत विद्यालयमा सांसद क्षेत्र विकास कोषको १० लाख मध्ये आधा रकम अनियमितता भएको पनि कांग्रेसको ठहर छ।

यस्तै प्रदेश सरकारको डल्लो बजेटले पनि स्थानीय तहमा अनियमिततालाई प्रसय दिएको उक्त प्रतिवेदनमा कांग्रेसले जनाएको छ।

घोडाघोडी नगरपालिका वडा नम्बर ६ आदर्श नगर २०, लाखको कल्भर्ट निर्माण योजना (स्थानीयका अनुसार) घोडाघोडी नगरपालिका वडा नम्बर ११ बस्ने सिसैयाको कपिल नामको ठेकदारले निर्माण सामग्री सहित ७ लाख ५० हजारमा ठेक्का लिई ६० हजारको मात्रै काम गरेको र बाँकी रकम अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

सोही नगरपालिका वडा नम्बर ५ देवकलीया (आर्टीजन बोरिङ, सिँचाई योजना) का लागि कुल बजेट बजेट ५० लाख मध्य खर्च २० लाख २० हजार भई बाँकी रकम अनियमितता भएको देखाइएको छ।

संघीय सरकारको बजेट अन्तर्गत घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोके बजारदेखि झोलुंगे पुलसम्मको बाटो ग्राभेलिङ जम्मा बजेट ३८ लाख ६० हजार रहेकोमा ग्राभेल गर्नुपर्ने सडक-१४ सय मिटर मात्र ग्राभेल गरी बाँकी रकम अनियमितता गरेको बताइएको छ।

त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १३ वटै स्थानीय तहमा आफन्त र आफू नजिकका कार्यकर्तालाई रोजगार दिने नाममा व्यापक अनियमितता गरेको प्रतिवेदन कांग्रेसले सार्वजनिक गरेको छ।

प्रतिवेदन यस्तो छ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell