PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

‘रेड लेडी’ खेतीमा रमाउँदै पूर्वक्याम्पस प्रमुख सिलवाल



राधेश्याम पटेल

‘रेड लेडी’ खेतीमा रमाउँदै पूर्वक्याम्पस प्रमुख सिलवाल

वीरगंज : क्याम्पस प्रमुखको पदबाट 'रिटायर' भएपछि उदय सिलवालसँग प्रसस्तै खाली समय थियो। तर उनी आफूलाई सधै व्यस्त राख्न चाहन्थे। अब के गर्न सकिन्छ भनेर सोच्दै गर्दा उनले मेवा खेतीको बारेमा सम्झे।

मेवाको व्यावसायिक रुपमा खेती गर्न सकिए मनग्गै आम्दानी हुन्छ भन्ने उनले थाहा पाएका थिए। त्यसपछि उनी मेवा खेती गर्न हौसिए। उनले वीरगंज-३२ चोर्नी टेढामा नमूना व्यावसायिक मेवा खेती शुरु पनि गरिहाले। मेवा खेतीकै बीचमा उनले सयपत्री फूलको खेती पनि गरिरहेका छन्।

२०३६ सालबाट प्राध्यापन शुरू गरेका सिलवालले क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेपछि २०७५ सालमा प्राध्यापन पेशालाई बिट मारे। खाली समयलाई व्यस्त बनाउन पनि ६ महिना पहिलेदेखि कृषिमा आवद्ध भएका हुन्, सिलवाल। अर्थशास्त्रका प्राध्यापक सिलवाल तीस लाख रुपैयाँको लगानीमा मेवाखेतीसँगै फूल खेतीमा रमाएका छन्। त्यतिमात्रै नभई उनले आफ्नो मेवा फर्ममा १३ जनालाई पनि रोजगारी दिएका छन्।

उनले टेढाकै एकजना किसानको १० विघा जग्गा भाडामा लिई चारै तीन बिघा जग्गामा ‘रेड लेडी’ नामक मेवा रोपेका हुन्। शुरुमा डेढ विघामा १५ सय बोट रोपेका उनले तीन महिनापछि पुनः १५ सय विरुवा रोपेर मेवा खेती ३ विघामा पुर्‍याएका थिए।

३ हजार मेवाको विरुवा मध्ये खराब मौसम र पटकपटक पानीको कारण हाल तीन विघामा १५ सय जति मेवाको विरुवा मात्रै लहलहाएका छन्। अधिकांश रुखमा मेवा फलेका छन् अनि कतिपयमा पाक्न समेत थालेको उनी बताउँछन्। ‘रेड लेडी’ प्रजातिको मेवा कोलकाताको रैथाने मेवाको जात हो। यसको एउटा विरुवामा साढे ५ सय मेवा फल्ने गरेको सिलवालको भनाइ छ।

‘६-६ फिटको दूरीमा ड्याम बनाएर ६-६ फिटको दूरीमा नै मेवाको विरुवा रोपिएकाले बीचको जग्गा सदुपयोग गर्न उनले सयपत्री फूल पनि रोपेका हुन्।

‘खाली जग्गाको सदुपयोग गर्न र सयपत्री फूलमा आउने पुतलीले मेवा पकाउन पनि सहयोग गर्ने भएकोले दोहोरो लाभ लिन यस्तो अवधारणामा दुई वटा खेती गरेको हुँ,’ उनले भने।

नेपालमा अहिले विशेषगरी चितवनमा व्यापक रूपले मेवा खेती भइरहेको छ। उत्पादित मेवाको बजार पनि राम्रो भएपछि उनले यो क्षेत्रमा हात हालेको बताए। नेपालका विभिन्न होटल, रेस्टुरेन्टमा मेवालाई 'फ्रुट स्न्याक्स'को रूपमा उपभोग गर्ने गरिन्छ।

मेवा प्रतिकिलो सय रुपैयाँदेखि अत्यधिक खपतका बेला प्रतिकिलो २ सयमा पनि बिक्री हुने गरेकाले पर्सामा पहिलो पटक व्यवसायीक मेवा खेती तर्फ लगानी गरेको उनी बताउँछन्।

तिहारपछि सयपत्री पनि उत्पादन हुन थालेको र सातामा एक ट्रक सयपत्री फूल कृषि फर्मबाट निस्किरहेको उनको भनाइ छ। यसरी मेवा र फूल उत्पादन भएपछि मासिक १० लाखको कारोबार गर्न सकिने उनको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell