PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

'माघ १५ पछि काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न पर्दैन' : पत्याउनुहुन्छ?



दिनेश खड्का

'माघ १५ पछि काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न पर्दैन' : पत्याउनुहुन्छ?

काठमाडौं : तपाईँले पछिल्लो समय काठमाडौंको सडकको अवस्था कस्तो अनुभव गर्नु भएको छ? केही स्थानहरुलाई छाड्ने हो भने धेरै ठाउँमा कालोपत्रे भएको पक्कै देख्नु भएको होला। त्यसको असर सडकमा उड्ने धुलो पनि कम हुन थालेको अनुभव पनि गरेको हुनुपर्छ। आखिर कसरी भयो त यस्तो?

'टास्क फोर्स' नै गठन गरेर खाल्डाखुल्डी पुर्न सुरू गरिएसँगै उपत्यकाका सडकहरू सुधार आएको हो। 

उपत्यकाका अधिकांश सडकहरूमा धमाधम खाल्डाखुल्डी पुरिरहेको छ। दिनभर खाल्डा खुल्डीपुर्ने र ओभर-लेयर थप्ने काम हुने गरेको छ भने बेलुकी सडक पेन्टिङ गर्ने काम भइरहेको छ। 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले उपत्यकाका ६० प्रतिशत खाल्डाखुल्डी पुरिसकेको दाबी गरेका छन्। विभागको क्षेत्राधिकार भित्र पर्ने अधिकांश सडकमा ‍खाल्डाखुल्डी पुरिएसँगै सुधार आएको उनले बताए।

गत वर्ष पुस लागेपछि कालोपत्रे गर्ने काम रोकिने गरेको भएपनि यो वर्ष भने रोकिएको छैन। चिसोका कारण कालोपत्रे नटिक्ने भन्दै खासै काम हुने गरेको थिएन। घाम लागेका दिनहरूमा कालोपत्रे गर्ने काम नरोकिएको महानिर्देशक शर्माले जानकारी दिए। 

सडक विभागले दक्षिण एसियाली खेलकुद (साग) पछि सडकको खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिएको हो। साग सुरू हुनु अघि प्रयोग हुने सबै रुटका खाल्डाखुल्डी पुर्ने काम भएको थियो। सँगै ती रुटका सडकहरूमा आवश्यकताअनुसार ओभर-लेयर र पेन्टिङ गरेर टल्काइएको थियो। 

'साग पछि बाँकी सडक सुधारका लागि काम थालिएको छ,' शर्माले भने, 'सागपछि थालिएको भएपनि अधिकांश सडकको अवस्था सुधार गर्न सडक विभाग सफल भएको छ।' क्षेत्रपाटी, दरबारमार्ग, त्रिपुरेश्वर, चक्रपथ, एयरपोर्ट, तिनकुने र सिंहदरबार लगायतका मुल सडकहरूमा ओभर-लेयर गरिएको छ। 

'ओभर-लेयर' भनेको अहिले भएको कालोपत्रेमाथि सोही चौडाइमा पुरै सडकमा कालोपत्रेको एक तह थप्ने काम हो, जसलाई सर्फेस ड्रेसिङ पनि भनिन्छ।

त्यसैगरी आवश्यकता अनुसार खाल्डा पुर्ने, जेब्राक्रसिङ र पेन्टिङका कामहरू समेत भइरहेको विभागले जनाएको छ। सुरूमा खाल्डाखुल्डीको कहाँ कस्तो छ भनेर सडक विभागका इन्जिनियरहरूले अध्ययन गर्छन्। त्यसमा कति क्षति पुगेको छ र कति थप्दा पहिलेको जस्तै बनाउन सकिन्छ, सोहीअनुसार कालोपत्रे गर्ने गरिएको विभागले जनाएको छ।

'माघ १५ पछि खाल्डाखुल्डी देख्नुपर्दैन'
सडक विभागले आफ्नो जिम्मेवारी क्षेत्रभित्रका सडकमा परेका खाल्डाखुल्डी माघ १५ भित्र पुरिसक्ने लक्ष्य बनाएर काम थालेको छ। लक्ष्यअनुसार काम भइरहेको विभागको दाबी छ।

'माघ १५ पछि उपत्यकाका सडकका खाल्डाखुल्डी पुरिसक्छौं,' शर्माले भने, 'खानेपानी लिकेज भएका ठाउँ र नयाँ खन्ने ठाउँमा बाहेक खाल्डाखुल्डी देख्ननु पर्ने छैन।' 

सडक विभागले छुट्टै बजेटबाट नभई नियमित गर्दै आएको मर्मतसम्भारको काम भएको उनले बताएका छन्। विभागका अनुसार अहिले दैनिक २ सय वर्गमिटर खाल्डाखाल्डी पुर्ने काम भइरहेको छ।

उपत्यकामा अत्यन्तै पुरानो खानेपानी र ढलका पाइपहरू रहेका कारण समस्या हुने गरेको छ। अधिकांश लिंकेज हुने गरेका कारण गरिएको पीचहरू समेत उप्किने गरेको छ। कालोपत्रे गरिएको सडकमा लामो समय पानी जमिरहे वा हिडिरहे 'पेभमेन्ट' चिसो हुन्छ। जसका कारण विटुमीन (अलकत्रा) र चिप्स छुट्टिन पुग्छ। 

चाबहिल चोकमा वर्षमा १० पटक कालोपत्रे गर्ने गरिएको भएपनि खानेपानी र ढल लिकेज रहेका कारण नटिकेको दाबी विभागका प्राविधिकको छ । त्यहाँ सडक सतहमा प्राय ढल र पानी बगिरहेको हुन्छ।

काठमाडौंको खानेपानी र ढलको उचित व्यवस्थापन नभएसम्म जति नै कालोपत्रे र खाल्डाखुल्डी पुरिए वा मर्मत गरे पनि केही दिनमै पुन: त्यस्तै हुने गरेको छ। यसले गर्दा सडक सुधार गर्न खोजिए पनि नहुने गरेको इन्जिनियरहरूको गुनासो छ। खानेपानी र ढल बनाउने निकायसँग समन्वय गरेर काम गर्ने गरेको भए पनि पुरानो पाइपलाइन कै कारण समस्या हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell