
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता भएका ११ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ।
आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका ११ वटा राजनीतिक दललाई चुनाव चिन्ह दिइएको हो।
चुनावका लागि दर्ता भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई 'सूर्य', नेपाली कांग्रेसलाई 'रुख', समाजवादी पार्टीलाई 'पाँच औँला सहितको हत्केला', राष्ट्रिय जनता पार्टीलाई 'ढल्केको छाता' चुनाव चिन्ह दिएको छ। त्यस्तै आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई 'गाई' र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई 'हलो' चिन्ह दिएको छ।
यसैगरी नेपाली जनता दलले 'गोरु गाडाको चक्का', इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले 'ट्र्याक्टर', नेपाल मजदुर किसान पार्टीले 'मादल', राष्ट्रिय जनमोर्चाले 'गिलास' र नेपाल संघीय समाजवादी पार्टीले 'बस' चिन्ह पाएका छन्।
त्यस्तै आयोगले सात प्रदेशको निर्वाचन अधिकृतको जिम्मेवारी ७ जिल्ला अदालतका न्यायाधीशलाई दिएको छ।
माघ ९ गते राष्ट्रिय सभाको एक तिहाई सदस्य चयनका लागि निर्वाचन हुँदैछ।