PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

पर्यटन वर्ष नजिकियो, प्रदेश २ मा के छ तयारी?



पहिलोपोस्ट

पर्यटन वर्ष नजिकियो, प्रदेश २ मा के छ तयारी?

  • सुमित मिश्र-

जनकपुरधाम : हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको जनकपुरधाममा अहिले भारतीय पर्यटकहरुको घुईंचो लागेको छ। सीताको जन्मभूमि रहेको कारणले पनि सारा विश्वका हिन्दुहरु जनकपुरधाम आउने गरेका छन्।

विशेषगरी जाडो महिनामा भारतीय पर्यटकहरु अत्यधिक रुपमा जनकपुरधाम आउँछन्। भारतबाट आउने अधिकांश पर्यटकहरु स्थानीय गोपाल धर्मशालामा बस्ने गरेको कारणले अहिले उक्त क्षेत्रमा पसलसमेत निकै थपिएका छन्। भारतीय पर्यटकहरु अत्यधिक रुपमा आउन थालेपछि जनकपुरधाममा कारोबारमासमेत निकै तीव्रता आएको छ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन्। उनले पर्यटन वर्षलाई भव्य बनाउन त्यसको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए। मन्त्री भट्टराईले नेपालमा अहिले ३ प्रतिशतको हाराहारीमा पर्यटन क्षेत्रले योगदान पुर्‍याइरहेकोमा यसलाई १० प्रतिशतसम्म पुर्‍याउने सरकारको १५ औं पञ्चबर्षीय योजना रहेको बताए।

उनले पर्यटकहरुले नेपालमा खर्च गर्नसक्ने ल्याकतसमेत बढाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै अहिले पर्यटकले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेकोमा त्यसलाई न्युनतम ८० डलर पुर्‍याउनुपर्ने लक्ष्य रहेको जानकारीसमेत दिए।

नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक मनिष झाले छठ पर्वपश्चात जनकपुरधाममा पर्यटकको संख्यामा बृद्धि भएको दावी गरेका छन्। उनले जनकपुरधाममा पर्यटकका लागि पूर्वाधारहरु पर्याप्त नभए पनि यहाँ गत वर्षभन्दा ४० प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएकोसमेत उनको दावी थियो।

संयोजक झाले पर्यटन वर्ष २०२० को तयारी स्वरुप प्रदेश २ को आठ वटै जिल्लाहरुमा जिल्ला समन्वय समितिहरु गठन भइसकेको जानकारी दिए। पुस ११ गते समितिसँग बृहत छलफलपछि आगामी कदमहरुको बारेमा निर्णय गर्ने उनले बताए।

सरकारले भ्रमण वर्ष शुरु गरे पनि अहिलेसम्म पर्यटकहरुको बसाई लम्ब्याउन कुनै नीति आउन सकेको छैन। पर्यटकहरूको आगमनमा वृद्धि भए पनि जनकपुरधाम उपमहानगरपालिका, प्रदेश सरकार, पर्यटन कार्यालयलगायतका सरकारी संयन्त्रहरु बेखबर छन्। व्यावसायिक गाइडको अभावमा यहाँका सिटी रिक्साका चालकहरू पर्यटक गाइडको रूपमा काम गरिरहेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell