PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

शीतलहरका बावजुत जनकपुरमा तात्यो राजनीतिक माहोल, 'प्रदेश सरकारको बल राजपाको खुट्टामा'



राधेश्याम पटेल

शीतलहरका बावजुत जनकपुरमा तात्यो राजनीतिक माहोल, 'प्रदेश सरकारको बल राजपाको खुट्टामा'

वीरगंज : संघीय सरकारबाट समाजवादी पार्टी बाहिरिएपछि प्रदेश २ मा अहिलेको शीतलहरका बावजुत राजनीतिक गरमाहटले तातेको छ। संघीय सरकारको समर्थन फिर्ता गर्दै समाजवादीका मन्त्रीद्वय उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइले पदबाट राजीनामा दिएपछि प्रदेशको अस्थायी मुकाम जनकपुरमा राजनीतिक हलचल पैदा भएको हो।

दोस्रो मन्त्रिपरिषद् गठनमा समाजवादीका राष्ट्रिय अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइनु, राष्ट्रिय सभामा प्रदेश २ बाट निर्वाचित हुने ४ पदका लागि नेकपा र राजपासँग दुई बुँदे समझदारी हुनु र सोमवार यादवको संविधान सशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि नेकपाको सरकारलाई नसघाउने दिशामा समाजवादी पार्टी अघि बढेको बुझिएको छ।

काठमाडौंमा उपेन्द्र यादवले राजीनामा दिएको केही बेरमै जनकपुरमा राजनीतिक बहस शुरु भएको हो। प्रदेश २ मा पनि राष्ट्रिय सभाको चुनाव जस्तै कतै राजपा र नेकपाले समझदारी गर्ने त होइनन् भन्ने चर्चा यहाँ शुरु भएको हो। त्यस्तो हुने भयो भने प्रदेश २ मा पनि नेकपा र राजपा नेतृत्वको सरकार बन्न सक्ने अहिले विश्लेषण गरिँदै छ।

मधेश मामिलाका राजनीतिक विश्लेषक चन्द्रकिशोर अहिले नै केही भन्न नसकिने बताउँछन्।

उनले भने, ‘प्रदेश २ का सरकार बारे अहिल्यै बोल्नु हतार होला, तर पछिल्लो राजनीतिक अवस्थालाई गम्भीर भएर हेर्ने हो भने अवस्था ५०/५० को छ। जे पनि हुन सक्छ।’

उनले संघीय सरकारबाट बहिरिएको समाजवादी पार्टी पछिल्लो चुनाव ताका प्रदेश २ मा राजपासँग गरेको एकतालाई अझै मलजल गर्ने अवसर भएको उनले विश्लेषण गरे। यदि राजपाले सरकार ढाल्ने गोटी खेल्यो भने नेकपा र राजपाको सरकार बन्न पनि सक्ने सम्भावना जीवित रहेको उनको बुझाइ छ। 

नेकपा प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरीले प्रदेश २ मा सरकारको बल राजपाका खुट्टामा रहेको बताए। उनले अहिले नै सरकार ढल्ने कुरा आफूलाई थाहा नभएको तर परिस्थितिले कस्तो राजनीतिक रुपरेखा तयार गर्छ नेकपा पनि सोही दिशामा अघि बढ्ने उनी बताउँछन्।

‘अहिले नै प्रदेश २ मा मधेशवादीसँग सरकार ढालेर राजपासँग सरकार बनाउनु भन्ने निर्देशन आइसकेको छैन, गोल गर्ने बल राजपासँग छ,’ उनले भने, ‘यदि राजपाले समाजवादीलाई दिएको समर्थन फिर्ता लिएर नेकपासँग सरकार बनाउन आयो भने त्यसको लागि पार्टीको माथिल्लो निर्देशन र सुझावको अधारमा सरकार बन्न पनि सक्छ।’

राजपाका प्रदेश २ का संसदीय दलका नेता तथा हालका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आफू अहिले केही पनि टिपण्णी नगर्ने पक्षमा रहेको बताए। 

उनले भने, ‘म अहिले केही बोल्ने मुडमा छैन, मात्र सुन्न सक्छु। प्रदेश २ मा सरकार ढल्छ की बस्छ, त्यो पार्टीको काम हो। राजपाका शीर्ष नेताहरुको हातमा त्यो अधिकार छ।’

समाजवादी पार्टीका एक नेतासँग बुझ्दा उनले प्रदेश २ मा राजपा र समाजवादी पार्टीको सरकार अहिले ढल्ने कुरा भ्रामक रहेको जवाफ दिए।

‘अहिले त्यस्तो कुनै कुरा छैन,’ उनले संक्षिप्त प्रतिक्रिया दिए।

यस्तो छ प्रदेश २ मा सरकारको जोड–घटाउ

प्रदेश २ मा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी कुल १०७ प्रदेश सांसद छन्। जसमध्ये नेकपाबाट ३२, समाजवादी पार्टीबाट २९, राजपाबाट (सभामुखसहित) २५, नेपाली कांग्रेसबाट १९, नेपाल संघीय समाजवादी पार्टीबाट १ र स्वतन्त्र १ प्रदेश सांसद छन्।

सरकार बनाउन न्युनतम ५४ मतको आवश्यकता पर्छ। जुन अहिलेको सरकार राजपा र समाजवादी पार्टीको गठबन्धनसँग छ। तर राजपाले नेकपासँग मिलेर बहुमतको सरकार बनाउनपनि सक्छ।

गौर काण्डको फाइल खुल्ने अशंका

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बहिरिएसँगै उनी पक्राउ पर्न सक्ने अशंका पनि बढेको छ। नेपाली कांग्रेसका रौतहट सांसद मोहमद अफताब आलमलाई बर्षौँ पुरानो हत्या काण्डामा जसरी सरकारले सदरखोर पु¥यायो, त्यसरी नै १३ बर्ष अगाडि नै जिल्ला प्रहरी कार्यलय रौतहटमा दर्ता भएको यादव विरुद्धको किटानी जाहेरीको आधारमा यादव पक्राउ पर्नसक्ने सम्भावना उच्च भएको अशंका छ।

२०६३ साल चैत ७ गते भएको गौर काण्डमा समाजवादी पार्टीका अध्यक्ष यादवको नाम मुछिदै आएको छ। उनले सबैजसो सरकारसँग साइनो जोड्नुको कारण पनि त्यही मुद्दा नै रहेको विश्लेषण गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell