PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दोस्रो जिल्ला हाँक्दै गोमादेवी : चौतारामा चेम्जोङको चर्चा, 'जनताले चाहेजस्तै सिडिओ'



दोस्रो जिल्ला हाँक्दै गोमादेवी : चौतारामा चेम्जोङको चर्चा, 'जनताले चाहेजस्तै सिडिओ'

  • फूलमाया पुरी-

पूर्वको कर्णाली भनेर चिनिन्छ भोजपुरलाई। यहीबाट शुरु भयो गोमादेवी चेम्जोङको जिल्ला हाँक्ने यात्रा।

२०७४ मा भोजपुर जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारीका रुपमा पुगिन् उनी।

महिला सिडिओ आए भनेर धेरै अचम्म मानेर हेर्न आइपुगेका थिए भोजपुर बजारमा। जिल्ला प्रशासन कार्यालयमै आइपुग्थे वृद्धवृद्धा। अनि भन्थे : महिला पनि सिडिओ हुँदा रहेछन्।

चेम्जोङ भोजपुर पुग्दा स्थानीय चुनावको माहोल थियो। निर्वाचनको काम फत्ते भयो। र चेम्जोङ सरुवा भएर आइपुगिन् - अध्यागमन अन्तर्गत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

वैदेशिक रोजगारमा जानेको भिसा कागजपत्र सिफारिस, परामर्श, कर्मचारीलाई परेका अफ्ठा्यारालाई सहज बनाइदिने लगायतका मुख्य जिम्मेवारी थियो उनको।

२ महिनापछि गृह मन्त्रालयमा सरुवा भयो। त्यहाँ द्वन्द्वमा भएका पीडितलाई राहत वितरण गर्ने शाखामा रहिन् - करिब  ७ महिना।

गृहमै ६ महिना लागू औषध नियन्त्रण विभागमा पनि काम गरिन्। त्यसपछि उनी दोस्रो पटक सिडिओको जिम्मेवारी सम्हाल्न पुगिन् सिन्धुपाल्चोकको चौतारा। सिन्धुपाल्चोकले भने चेम्जोङलाई पहिलो महिला सिडिओकै रुपमा स्वागत गर्‍यो।

चौतारामा चेम्जोङको चर्चा

दोस्रो पटक प्रजिअका रुपमा चौतारा पुग्दा चेम्जोङ चर्चामा छाइन्। कारण सिन्धुपाल्चोकले पहिलो महिला सिडिओ पाएकाले पनि हो।

पाँचथरमा जन्मेकी चेम्जोङलाई भोजपुरको रहनसहन र संस्कृति म्याच भएको थियो। उनी भन्छिन्, 'पहिलो पटक सिडिओ हुँदा ठाउँसँग परिचित थिए। दोस्रो पटक कामसँग।'

कामसँग परिचित भएकाले कुनै चौतारा पुग्दा पनि कुनै अप्ठ्यारो परेन उनलाई। 'कामसँग परिचित भएकोले जिम्मेवारी पूरा गर्न सहज भयो,' प्रजिअ चेम्जोङले सुनाइन्।

पहिलो पटक प्रजिअ भएको र काठमाडौंबाट टाढाको जिल्ला भएकोले केही अप्ठ्यारो परेकै थियो भोजपुरमा उनलाई। सिन्धुपाल्चोक भने नजिक भएकोले समन्वयका लागि सजिलो भएको उनको अनुभव रहेछ।

'पहिलो पटक केन्द्रबाट टाढाको जिल्लामा परें। केन्द्रसँग निरन्तर सम्पर्कमा रहन गाह्रो थियो। अहिले केन्द्र नजिक भएको हुँदा सम्पर्क र समन्वयमा सहज छ,' गोमादेवीले भनिन्।

चौतारामा पुग्नसाथ उनले कमजोरी देखिन् - कर्मचारी समयमै उपस्थित नहुने र सरकारी पोसाक नलगाउने। आफू र आफ्नो कार्यालयबाट परिवर्तनको शूरुवात गर्नु नै चेम्जोङको पहिलो प्रयास रह्यो। उनी पुग्नसाथ दुबै काममा 'एक्सन' लिइन्। र पालना पनि हुन थाल्यो।

अर्को समस्या थियो सेवाग्राहीलाई। प्रशासन कार्यालयमा कामका लागि शुल्क तिर्न सेवाग्राही झन्डै तीन किलोमिटर पर बसपार्क छेवैमा रहेको नेपाल बैंक पुग्नुपर्थ्यो। अहिले सिडिओ कार्यालयमै पैसा जम्मा गरे हुन्छ।

चेम्जोङ भन्छिन्, 'सिडिओ कार्यालयबाट सिफारिस लिएर कर बुझाउन आउजाउ गर्दा एक घण्टा लाग्छ भने यो जनताले दु:ख पाउने काम भयो। सरकारले जनतालाई सास्ती दिने होइन। सेवा दिने हो।' यसपछि भने कामबाटै चर्चामा आइन् चेम्जोङ।

बाहिर चर्को शुल्क लिने हुलाक टिकटको व्यवस्था पनि कार्यालयमै गरिदिइन् उनले। 'प्रशासनमा निवेदन दिँदा टिकट टाँस्नैपर्ने प्रावधान छ। यसका लागि शुरुमा बाहिर टिकट किन्नुपर्थ्यो। दश रुपैयाँको टिकटलाई १५ रुपैयाँ तिर्नुपर्नेरहेछ,' चेम्जोङले भनिन्, 'त्यसपछि हुलाक कार्यालयको समन्यवमा एकजना कर्मचारी राखेर साविक मुल्यमै टिकट पाउने व्यवस्था गरेकी छु।'

यसो गर्दा सहयोगीका रुपमा घुम्ने दलाली गर्नेहरु भने आफूसँग चिढिएको उनले बताइन्। हाँस्दै भनिन्, 'यस कामबाट नागरिक खुसी छन्। जनताले चाहेको यस्तै सिडिओ हो भन्छन्। तर बाहिर दलालीका रुपमा व्यवसाय चलाएकाहरु भने चिढिएका छन्।'

सिन्धुपाल्चोक चेलीबेटी बेचबिखनमा पनि चर्चा चुलिएको जिल्ला। पछिल्लोपटक वैदेशिक रोजगारीमा महिलाहरु धेरै जाने जिल्लामा पनि पर्न थालेको छ। यस विषयमा चनाखो भएर काम गरिरहेको चेम्जोङले दाबी गरिन्, 'बेचबिखनमा पर्नेको संख्या पहिलेको तुलनामा अहिले छैन। सकेसम्म हामी क्रस चेक गरेर नै राहदानी वितरण गर्छौं।'

गत वैशाखमा चौतारा पुगेकी उनी कर्मचारी र राजनीतिक दलसँगको समन्वयमा काम गरिरहेको सुनाउँछिन्।

करिअरको थालनी र सिडिओ यात्रा

कक्षा ६ मा हुँदै सरकारी जागिरे हुने सपना बनाएकी थिइन् गोमादेवीले।

सरकारी सेवा प्रत्यक्ष जनतासम्म पुग्ने दरिलो माध्यम हो-त्यतिवेलै यस्तो लाग्थ्यो रे उनलाई। एसएलसी पाँचथरबाटै सकाएकी चेम्जोङले त्रिभूवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर सकेलयगत्तै लोक सेवा तयारी कक्षा लिइन्। उनी भन्छिन्,'शाखा अधिकृतमा लोकसेवा तयारीका लागि श्रीमान र परिवारबाट पनि साथ पाएँ।'

२०५९ सालबाट सरकारी सेवाका लागि परीक्षा दिन थालेकी उनले २०६३ मा शाखा अधिकृत तहमा नाम निकाल्न सफल भइन्। 'लगातार ३ पटकको प्रयासपछि बल्ल नाम निस्क्यो,' सफलताबारे चेम्जोङले सुनाइन्, 'रिजल्ट पनि राति साथीले सुनाए। खुसीले चर्कै हाँसेछु। सुतिसकेको छोरा नै ब्युँझेछ। के भयो ममी भनी सोध्दै थिए।'

पहिलो कार्यकाल नै अख्तियार अनुसन्धान आयोग काठमाडौं। अख्तियारको एउटा घटना जुन उनले कहिल्यै बिर्सन सक्दिनन्।

अनुसन्धानको क्रममा एक महिलाले एसएलसीको नक्कली सर्टिफिकेट बनाएर उच्च शिक्षाको लागि पेस गरेकी रहिछन्। ती महिलालाई कार्वाहीका लागि सिफारिस गरेकी थिइन् उनले। 'ती महिला कार्वाही भोग्न कार्यालय आउँदा सुत्केरी पो रहेछिन्। त्यसपछि भने मन अमिलो भयो,' चेम्जोङ सम्झिन्छिन्, 'ठूलै अपराध गरेको महसुस भयो। आफू सुत्केरी हुँदाको अवस्था सम्झें, 'सुत्केरी हुँदा ४५ दिनसम्म ओच्छ्यानसम्म छोडेकी थिइनँ मैले पनि। मेरै कारणले उनी सजायको कठघरामा उभिनु परेजस्तै लाग्यो।'

२ वर्षपछि महिला तथा बालबालिका मन्त्रालयमा सरुवा भयो। त्यहीबाट उनले उपसचिव पदमा बढुवाका लागि परिक्षा पनि दिइन्। नतिजा आउनुअघि नै थप अध्ययनका लागि जानुपर्‍यो दक्षिण कोरिया - कोरियन सरकारले नेपाल सरकारलाई प्रदान गर्ने छात्रवृतिमा। महिला र विकास विषयमा १८ महिनाको कोर्स सकिएर करिब ४ वर्ष महिला तथा बालबालिका मन्त्रालयमा रहेकी गोमादेवीको उपसचिवमा उतीर्ण भइन्।

र, सरुवा भइन् सामान्य प्रशासन मन्त्रालयमा।

प्रशासन मन्त्रालयको जिम्मेवारी यसअघिको भन्दा फरक थियो। 'बाहिर पब्लिकसँग होइन नितान्त कर्मचारी केन्द्रित भूमिका,' चेम्जोङ भन्छिन् 'फरक फरक पृष्ठभूमिबाट आएका कर्मचारीहरु हुन्थे, सबैको अवस्था र सोच पनि फरक नै हुन्थ्यो। त्यसैले उनीहरुको फरकपनलाई बुझ्न र सन्तुलनमा राखेर काम गर्न सजिलो थिएन। यता संगठनको उद्देश्यलाई पनि त पुरा गर्नुपर्थ्यो।'

कर्मचारी शाखामा सिफारिस र सरुवाको लागि धेरै धाउँथे चेम्जोङ कहाँ। 'केहीले प्रावधान तथा प्रक्रियाभन्दा बाहिर रहेर आएका कागजात पनि सिफारिस गर्न भन्थे, उनी भन्छिन्, 'तर मैले सधै मापदण्ड पुरालाई मात्र सिफारिस गर्ने गर्थे। लजिकसहित आएका प्रक्रिया सिफारिस गर्नु मेरो काम थियो। जसमा मृत्यु, सरुवा, राजीनामा वा नयाँ पदको माग हुन्थ्यो।'

कामप्रतिको इमान्दारिताले उनी पहिलो सिडिओ बन्दै पुगिन् भोजपुर। त्यहाँ पुगेर उनले चालेको पहिलो कदम थियो- गाउँमै पुगेर नागरिकता वितरण।

स्थानीय निर्वाचनको महोल। निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्न आउने महिला उम्मेद्वारको चेतनास्तर देख्दा भने चेम्जोलाई दया लाग्थ्यो। 'धेरैजसो महिला उम्मेद्वारले आफै दर्ता गर्न सकेका थिएनन्। कतिपय महिलालाई त आफू किन र केका लागि चुनाव लड्दै छु भन्ने स्पष्ट जानकारी पनि नभएको अवस्था थियो,' उनले भनिन्।

गाउँपालिका र नगरपालिकाको प्रमुख वा उपप्रमुख दुईमध्ये एक उम्मेद्वार महिला अनिवार्य थियो।  राजनीतिक दलले बाध्यताले महिलाको सहभागिता देखाउन मात्र उभ्याएको जस्तो लाग्थ्यो। भोजपुरको ६ महिने जिल्ला हँकाई सकेर अध्यागमन अन्तर्गत विमानस्थल आइपुगिन्।

अध्यागमन विभागमा रहेर २ महिनामात्र काम गरेकी चेम्जोङको गृहमा सरुवा भयो।

दुइ जिम्मेवारी थियो गृह मन्त्रालयमा। सशस्त्रद्वन्द्वमा भएका पीडितलाई राहत वितरण गर्ने विभाग उनको जिम्मामा थियो। शुरुवाती दिनमा तथ्यांक र सूचनालाई व्यवस्थित गर्न निकै गाह्रो थियो। कर्मचारीको पटक पटक भइरहने सरुवाले पनि वितरण व्यवस्थापनमा चुनौती रहेको उनी सुनाउँछिन्। उनले करिब  ७ महिना त्यस जिम्मेवारी निर्वाह गरेकी थिइन्।

त्यस्तै उक्त मन्त्रालयमा रहेर ६ महिना लागु औषध नियन्त्रण विभागमा पनि काम गरिन्। जहा सचेतना जगाउने, लागुऔषध नियन्त्रण गर्ने उनको कार्यभित्र पर्दथ्यो।

गृह मन्त्रालयमा कार्यरत चेम्जोङ पुनः सिडिओ पद सम्हाल्न गत वैशाखमा सिन्धपाल्चोक पुगेकी हुन्।

नोटिस हुन बढी नै खटिनुपर्छ महिलालाई

फरक फरक निकायमा फरक फरक जिम्मेवारी थियो चेम्जोङ। विभिन्न विभागमा काम गरेकी चेम्जोङले सिकेको एउटा पाठ हो - महिलाको काम नोटिस हुन अलि बढी नै खट्नुपर्छ।

'महिलाले जति नै काम गरे पनि पुरुषसरह मूल्याकंन हुदैन,' उनले भनिन्, 'अहिले सिन्धुपाल्चोकमा पनि कार्यालयमा आउनेहरु मभन्दा पनि सहायक प्रमुखतर्फ पहिलो नजर लगाउँछन्। किनकि उहाँ पुरुष हुनुहुन्छ।'

उनी थप्छिन्,'अझै पनि पुरुषले १५ प्रतिशत काम गर्दा महिलाले २० प्रतिशत काम गरेमा मात्र नोटिस हुदो रहेछ। नत्र महिलालाई हेर्ने नजरमा हुनुपर्ने जति फरक हुन सकेको छैन।'

जिल्लाकै प्रमुखको जिम्मेवारी दुईपटक सम्हालिसकेकी चेम्जोङको दाबी छ, 'समाज नै पितृसत्तात्मक सोच अझै हाबी छ।'

यो पनि पढ्नुहोस् :

जहाँ महिलालाई अघि बढ्नै रोकिन्छ, 'त्यहाँ पहिलो महिला सिडिओ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell