PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

'बलि दिन' मोडललाई भारत पुर्‍याउने योजना असफल, सात जना प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

'बलि दिन' मोडललाई भारत पुर्‍याउने योजना असफल, सात जना प्रहरीको नियन्त्रणमा

काठमाडौं : विभिन्न प्रलोभनमा पारेर 'बलि दिन'का लागि एक मोडललाई भारत लैजाने योजना बनाएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सात जनालाई नियन्त्रणमा लिएको हो। युवतीको उजुरीपछि कोभर्ट अप्रेसन गरेको प्रहरीले पाँच पुरुष र दुई महिलालाई नियन्त्रणमा लिएको छ।

'उजुरी परेपछि हामीले अप्रेसन थालेका थियौं। अहिलेसम्म सात जनालाई नियन्त्रणमा लिइसकेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

प्रहरीले घटनालाई गोप्य राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धान सकिएपछि बिहीवार पत्रकार सम्मेलन गरेर घटनाको जानकारी दिने प्रहरीले तयारी गरेको छ।

घटना के थियो?

गत पुस ४ गते ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले अप्रेसन चलाएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मोरङको विराटनगर पुगेर अप्रेसन शुरु गरेको थियो। ती युवतीलाई केही साता अघि मात्रै एक महिलाले आफ्नो मोडलिङ प्रोजेक्टमा काम गर्ने भन्दै फोन गरेकी थिइन्।

बानेश्वरमा फेसन हाउस सञ्चालन गर्दै आएकी महिलाको ती युवतीसँग पहिलेदेखि नै चिनजान थियो। ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै उनले अप्रोच गरेकी थिइन्। युवती पनि राम्रो काम पाइने भन्दै मोडलिङका लागि राजी भएकी थिइन्।

तर, ती युवतीसँग विभिन्न धर्म, महिनावारीदेखि माछामासु खाने/नखाने जस्ता प्रश्न सोध्दै भारतसम्म पुर्‍याउने योजना बनेको थियो। प्रोजेक्टका लागि भारतसम्म जानु पर्ने शर्तहरु राखेका थिए। उनीहरुको शर्तमा शंका लागेपछि युवती प्रहरीकहाँ पुगेकी थिइन्।

सबै घटनाक्रम बुझेपछि सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो। युवतीको साथमा प्रहरी निरीक्षकलाई सादा पोशाकमा विराटनगर पठाइएको थियो। त्यसपछि मात्रै उनीहरुको कर्तुत बाहिरिएको हो।

'बलि नै दिने वा अरु केही गतिविधिमा लगाउने खुलिसकेको छैन। तर उनीहरुको योजना डरलाग्दो थियो,' परिसरका डिएसपी बोगटीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell