PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेपाल र चिनियाँ प्रहरीको संयुक्त 'मिसन'को नाम 'चार्ली फोस्टर' : समातिएका १२० जनाबाट जफत भयो यस्ता सामग्री



सविन ढकाल

नेपाल र चिनियाँ प्रहरीको संयुक्त 'मिसन'को नाम 'चार्ली फोस्टर' : समातिएका १२० जनाबाट जफत भयो यस्ता सामग्री

काठमाडौं : विभिन्न ९ वटा घरबाट पक्राउ परेका १ सय २२ चिनियाँहरु नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र चीनको एनसीबी बेइजिङको संयुक्त अपरेसनको परिणाम भएको नेपाल प्रहरीले औ‍पचारिक जानकारी गराएको छ।

आज व्युरोले आयोजना गरेको पत्रकार सम्मेलनमा दुई देशको संयुक्त अपरेसनमा यति धेरै संख्यामा चिनियाँ नागरिकहरु पक्राउ परेको जानकारी दिइएको हो। 

यस अपरेसनलाई 'चार्ली फोस्टर' नाम दिइएको व्युरोका डिआइजी निरज शाहीले जानकारी दिए। उनका अनुसार काठमाडौंका विभिन्न स्थानका ९ घर भाडामा लिएर चिनियाँहरुले ठगी धन्दा चलाइरहेका थिए।

उनीहरुले एउटा ८ तल्ले घर नै भाडामा लिएर ठगी गरेको समेत खुलेको छ। शाहीका अनुसार उक्त घरमा होस्टल, खानाको मेस सहितको व्यवस्था थियो। केटाकेटीका लागि बस्ने कोठाहरु पनि बेग्लै र व्यवस्थित रुपमा चलाइएको थियो।

'त्यहाँ कार्ड देखाएर मात्र छिर्न पाउने कडा व्यवस्था गरेका रहेछन्,' शाहीले भने।

उनीहरुले विच्याट मार्फत् धनी तथा व्यवसायीहरुलाई ठग्दै आएका थिए। फेक वेबसाइट बनाएर रकम हाल्दा बढ्ने स्किम चलाउँदै ठगी धन्दा गरेको अनुसन्धानमा खुलेको छ। पुरुषले महिला र महिलाले पुरुषलाई लक्षित गर्दै उनीहरुले सामाजिक सञ्जालबाट ठगी गर्दै आएको देखिएको हो। सुरुमा रकम हाल्दा बढाइदिने र पछि थप रकम हाल्न लगाउँदै ठगी गर्ने गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

पक्राउ परेका १ सय २० जनालाई हिजोमात्र ५ दिने म्याद थप गरिएको छ। जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धानको अनुमति दिएको हो।

शाहीका अनुसार उनीहरु १ सय ५० दिनको पर्यटक भिसामा नेपाल आएको देखिएको छ। प्रहरीले ६७ जनाको राहदानी जफत गरेको छ। बाँकीको राहदानी फेला परिसकेको छैन।

प्रहरीले आज उनीहरुबाट जफत सामग्रीसमेत सार्वजनिक गरेको छ। 

७ सय ४६ वटा मोबाइल फोनको सेट, ३ सय ३१ वटा ल्यापटप र ३ सय २७ वटा सीमकार्ड उनीहरुबाट जफत भएको छ। 

चिनियाँ भाषामा दक्षता नहुँदा प्रहरीलाई अनुसन्धानमा कठिनाइ भइरहेको छ। पक्राउ परेका चिनियाँ महिलाहरुले प्रहरीलाई नै दुर्व्यवहार गर्न खोजेपछि उनीहरुलाई गाली बेइज्जती मुद्दा लगाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell