PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सरकार छाडेपछि बाबुराम गरम, उपेन्द्र नरम : 'ओलीले उखान टुक्कामै टारे संविधान संशोधन'



कुञ्जरमणि भट्टराई

सरकार छाडेपछि बाबुराम गरम, उपेन्द्र नरम : 'ओलीले उखान टुक्कामै टारे संविधान संशोधन'

काठमाडौं : काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा चिसो भएको बेला सिंहदरबार भने आज एकाएक गर्मायो।

मन्त्रिपरिषद्मा संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले 'इम्पोसिबल' भनिदिएपछि सत्ताबाट हात धुनुपर्‍यो समाजवादीले।

सरकार छाडेको हिजै सार्वजनिक घोषणा गरिसकेका समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आज सिंहदरबारमा पत्रकार बोलाएर औपचारिक रुपमै आफूहरु सरकारमा नरहेको घोषणा गर्दै थिए।

समाजवादीको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादव भन्दै थिए : कानुनमन्त्रीको जिम्मेवारीमा रहेकाले संविधान संशोधनका लागि विज्ञ समिति गठन गर्न प्रस्ताव लैजाँदा प्रधानमन्त्रीबाट ठाडै अस्वीकार भयो। संविधान संशोधन आवश्यकता नै छैन भनेर अभिव्यक्ति दिनुभयो। संविधान संशोधनका लागि भनेर सरकारमा सामेल भएका थियौं। लिखित सहमति उल्लंघन भएपछि राजीनामा बुझायौं।

यसो भनिरहँदा यादव गम्भीर देखिए। प्रधानमन्त्री ओलीले सत्ताबाट आउट गर्ने नीतिका साथ स्वास्थ्यबाट सरुवा गराएर कानुनमा लगे पनि 'एनिहाउ, सत्तामै बसाऔ' शैलीमा रामशाह पथबाट सिंहदरबार भित्रिएका यादवलाई सायद सरकार छाड्नुपर्दा छट्पटी भयो होला।

सरुवा हुँदा कार्यक्रममै सहभागी हुन पाइनँ

सरकार छाड्नुपरेको पीडा उनको अनुहारमा प्रस्टै देखिन्थ्यो। यद्यपि सरकार छाडे पनि उनले संसदीय बाटोबाटै अघि बढ्ने बताए। संविधान संशोधनको मुल मुद्दा बोकेर राजनीतिमा उदाएका यादवले भने, 'हामी संसदीय, संवैधानिक, बाटोबाट अघि बढ्छौं। जनताकाबीचमा शान्तिपूर्ण,  अहिंसात्मक रुपमा जनसंघर्ष र  आपासी छलफलबाट संविधानलाई पूर्णता दिने प्रयास जारी रहन्छ।'

सत्तामा रहँदा आफूप्रति गरिएको व्यवहारबारे त्यति रुष्ट नदेखिए पनि यादवले आफू दिल्लीमा रहँदा नै मन्त्रालय परिवर्तन भएको विषयलाई भने कोट्याउन भ्याए।

'त्यतिबेला राजनीतिक संस्कृतिहीन घटना भयो। मन्त्रिपरिषद्बाट निर्णय गरेर अन्तरार्ष्ट्रिय सम्मेलनमा स्वस्थ्यमन्त्रीको हैसियतले पठाउने। एउटा सत्रमा बोल्दा स्वाथ्यमन्त्री भनेर बोलेँ। दोस्रो सत्रमा जाँदा पोर्टफोलियो नै चेन्ज भयो र नेपालले सहभागिता जनाउने अवस्था नै रहेन,' यादवले भने।

'उखान टुक्काले टारे'पछि छाड्नुपर्‍यो सरकार

समाजवादीले मंगलवार सरकार छोड्ने घोषणा गर्‍यो। बुधवार पत्रकार सम्मेलन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गरायो।

सिहंदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न आफूले गरेको प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्विकार गरेपछि राजीनामा दिएको प्रष्ट्याए।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रसँग संविधान संशोधनको विषय समेटर गरेको लिखित दुइ बुँदे सहमति तोडिएपछि सरकार छाडेको उनको भनाई थियो।

उनले भने संविधान संशोधन गरेर त्रुटि सच्याउने सहमतिप्रति पटक पटक आवाज उठाउँदा प्रधानमन्त्रीले उखान टुक्का भन्दै टारेको बताए।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता गरेपछि पटक पटक सरकार छाड्ने बताएको समाजवादीले केही घटना पचाएरै सरकारमा बसेको थियो।

उनले दुइ दल सहकार्य गरे पनि एक्लौटी ढंगले ओली अघि बढेको आरोपसमेत लगाए। र, सोमवारको मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले प्रस्ताव अस्वीकार गरेपछि राजीनामा बुझाएका यादवले सरकाप्रति टिप्पणी गरे  -हिजोसम्म सरकारको दुई तिहाईको दम्भ थियो। त्यो अब आजबाट समाप्त भयो। कम्युनिस्टभन्दा अर्को दल पनि सरकारमा छ भन्ने थियो अब रहेन।

आफ्नो मुद्दामा समाजवादी अब कसरी अघि बढ्छ भन्ने प्रश्नमा पार्टीका दुई अध्यक्षको मत बाझिएको देखियो। पार्टी एकता भएदेखि नै सरकारकारबाट बाहिरिनुपर्ने अडान राख्दै आएका भट्टराई संसदमा पनि प्रतिपक्षी बेन्चमा बसे। अन्तत: उनी प्रतिपक्षी बेञ्चमा रहेर नै उनको दल सरकार बाहिरियो।

प्रतिपक्षमै रहेका बाबुराम आक्रामक

यादवले संविधान संशोधनका लागि शान्तिपूर्ण बाटोबाट अघि बढ्ने बताउँदा पार्टीका संघीय अध्यक्ष बाबुराम भने सडकमा जाने बाध्यात्मक अवस्था बनेको बताउँदै थिए।

पार्टी एक भएपछि समाजवादीमा बाबुराम पक्ष हामी हुँदै जाँदा यादव पक्ष सरकारमै रहने मनस्थितिमा रहेको थियो। बाबुराम पक्षले दिल्लीबाट काठमाडौं उत्रेलगत्तै यादवलाई सरकार छाड्न दबाव दिएको थियो। सरकार छोडाउन समाजवादीले उपेन्द्र काठमाडौं उत्रेको भोलिपल्टै पदाधिकारीको बैठक डाकेको थियो। तर, बाबुराम पक्ष हामी देखिएपछि यादव मन्त्रालय नसम्हाली तनाव कम गर्न पोखरा पुगेका थिए। यद्यापि पोखराबाट फर्केपछि भने उनले मन्त्रालय सम्हाले।

यसबाट बेखुसी बाबुराम पक्षले संविधान संशोधनको विषयलाई सरकारमा चाँडोभन्दा चाँडो उठाउन दबाव दिए। अन्तत: कानुन मन्त्रालयमा टेकेको एक महिना नबित्दै सिंहदरबारबाट बाहिरिनुपर्‍यो यादव।

 पत्रकार सम्मेलनमा बाबुराम भन्दै थिए : सरकारमा रहँदा हामीले संविधान संशोधनको लागि निरन्तर प्रयत्न गर्‍यौ। नभएपछि हामी सडकमा जान्छौं। अब पालो आयो। सरकार बस्दा सडकमा जान मिल्दैनथ्यो। अब उहाँहरुले बाटो खोलिदिनुभयो। बाध्य पार्नुभयो। हामी सडकमा जान्छौं।

उनले विचार मिल्ने र मुद्दा मिल्नेसँग सहकार्य गरेर जाने बताए। भट्टराईले राजपा सरकारमा गए मुर्खता हुने बताए। यसमा यादवले पनि सहमति जनाए। भने - राजपा सरकारमा गए आत्महत्या हुने वा आत्मघाती कदम हुने बताए।

अध्यक्ष यादवले भने, 'राजपासँग पार्टी एकताका लागि धेरै हदसम्म छलफल गरेका छौ। धेरै कुरा मिलेको पनि छ। यो घटना क्रमले सरकार छोड्नुपर्छ भन्ने माग पनि पुरा भएको छ। अब हेर्नु छ राजपा कसरी अघि बढ्छ। राजपा सकारात्मक रुपमा अघि बढे एकता हुन्छ।'

पत्रकार सम्मेलनमा देखिएनन् राई

उता मंगलवार नै राजीनामा दिएका शहरी विकास मन्त्री भने पत्रकार सम्मेलनमा देखिएनन्। दुई बजेको पत्रकार सम्मेलनमा नपुगेका निवर्तमान सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई भने ३ बजे विदाईका लागि मन्त्रालयमा आयोजित कार्यक्रममा सहभागी भए।

आफूले पार्टीको निर्णय स्वीकार गर्दै राजीनामा दिएको बताए।

भने, ' पार्टीको निर्णय अनुसार राजीनामा दिए। तर प्रधानमन्त्रीले राजीनामा आएको छैन भनेर फोन गर्नुभयो। उहाँसँग दुई घण्टा कुराकानी भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell