
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहलाई आज ७० हजार घुससहित नियन्त्रणमा लिएको छ।
उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले निजलाई घुस रकमसहित सोही कार्यालयबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै आयोगले पशुसेवा विभाग हरिहरभवनका लेखा अधिकृत रमेश कार्कीलाई सेवाग्राहीसँग आठ हजार ५०० रुपैयाँ घुस लिँदालिँदै कार्यालय परिसरबाट नियन्त्रणबाट लिएको छ। निजले कार्यालयसँग सम्बन्धित सूचना/विज्ञापन पत्रिकामा प्रकाशित गरिदिएपश्चात भुक्तानी दिएको रकमबाट सेवाग्राहीसँग घुस लिएका आयोगले जनाएको छ।
आयोगले जिल्ला अदालत रुपन्देहीमा कार्यरत नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मालाई सेवाग्राहीसँग लिएको दुई हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। उनीहरुले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ।