
काठमाडौंः विभिन्न प्रलोभनमा पारेर 'बली दिन'का लागि एक मोडललाई भारत लैजाने योजना बनाएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सात जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोद्धार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीय प्रेममाया तामाङ रहेका छन्। तामाङ काठमाडौंबाट पक्राउ परेकी हुन्।
'केहीलाई हाम्रो टोलीले विराटनगर र एक जनालाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो' परिसरका डिएसपी होविन्द्र बोगटीले भने।
मोडल भनिएकी युवतीले आफूलाई बली दिने योजना बनाएको शंका लागेपछि प्रहरीमा खबर गरेकी थिइन्।
पुस ४ गते परिसरमा उजुरी परेपछि प्रहरीको टोलीले तीन दिनपछि मोडल युवतीको निगरानी गर्दै विराटनगर पुगेको थियो। विराटनगर पुगेर मोडलिङको लागि बोलाएका आयोजकको गतिविधिमा शंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
भारतको सीमामा पुगेपछि शंका
केही र्याम्पमा मोडलिङ गरिसकेकी ती युवतीलाई केही साताअघि मात्रै एक महिलाले आफ्नो मोडलिङ प्रोजेक्टमा काम गर्ने भन्दै फोन गरेकी थिइन्। सुरुमा उनलाई काठमाडौंमा नै र्याम्प शो गर्ने भनिएको थियो। तर दिन बित्दै जाँदा उनको शर्त र स्थान परिवर्तन भएको थियो।
बानेश्वरमा फेसन हाउस सञ्चालन गर्दै आएकी महिलाको ती युवतीसँग पहिलेदेखि नै चिनजान थियो। ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै उनले अप्रोच गरेकी थिइन्। तर उनको हाइट ६ फिट थिएन। युवती पनि राम्रो काम पाइने भन्दै मोडलिङका लागि राजी भएकी थिइन्।
तर, युवतीसँग विभिन्न धर्म, माछामासु खाने/नखाने जस्ता प्रश्न सोध्दै भारतसम्म पुर्याउने योजना बनेको थियो। प्रोजेक्टका लागि भारतसम्म जानु पर्ने शर्तहरु राखेका थिए। देवी बन्नुपर्छ भनेपछि युवतीलाई थप शंका लागेर प्रहरीसमक्ष पुगेकी थिइन्।
'उनले यसअघि यसरी नै बली दिएको घटना सुनेकोले थप शंका लागेर प्रहरी कहाँ आएकी रहिछिन्।' डिएसपी बोगटीले भने।
घटनाक्रम बुझेपछि सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो। युवतीको साथमा एक प्रहरी निरीक्षकलाई विराटनगर पठाइएको थियो। ती युवती पनि आयोजक भनिएकी एक महिलाको साथमा विराटनगर पुगेकी थिइन्। तर विराटनगर पुगेपछि आयोजकको शंकापूर्ण व्यवहार देखेपछि निगरानीमा रहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि मात्रै उनीहरुको कर्तुत बाहिरिएको हो। उनीहरुले युवतीलाई भारत पुर्याएर लाखौं रुपैयाँ पाउने डिल भएको प्रहरीको दाबी छ।
'बली नै दिने वा अरु केही गतिविधिमा लगाउने खुलिसकेको छैन। तर उनीहरुको योजना डरलाग्दो थियो,' परिसरका डिएसपी बोगटीले भने।