PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

आयल निगमले कर्मचारीलाई बोनस दिन छुट्यायो ११ करोड रुपैयाँ



पहिलोपोस्ट

आयल निगमले कर्मचारीलाई बोनस दिन छुट्यायो ११ करोड रुपैयाँ

काठमाडौं : आयल निगमले गत वर्षको मुनाफाबाट ११ करोड रुपैयाँ कर्मचारीलाई बोनस दिन छुट्याएको छ। निगमले गत वर्ष ८ अर्ब ७५ करोड खुद नाफा गरेको थियो।

सरकारी स्वामित्वको यो संस्थानले कर्मचारीलाई मुनाफाको एक प्रतिशत बोनस बाँड्न पाउँछ। निगम स्रोतका अनुसार तल्लो तहका कर्मचारीले तीन महिना तलब बराबर ९० हजार बोनस पाउनेछन्। माथिल्लो तहका कर्मचारीले डेढ महिना तलब बराबर बोनस पाउनेछन्। निगमले तत्कालै भने बोनस बाँड्ने छैन।

'बोनसकै कारण निगमका उच्च तहका कर्मचारी जेलमा परेका छन्। बोनस रकम छुट्टिएको छ। तर, तत्कालै भने बाँडिदैन्,' निगमका एक अधिकारीले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ सालमा बोनस बाँड्ने निर्णय तत्काल रोक्न निर्देशन दिएको थियो। त्यो निर्देशन अटेर गरेपछि अख्तियारले निगमका कार्यकारी निर्देशक सुरेश अग्रवालसहित उच्च कर्मचारीलाई हिरासतमा लिएको थियो। यो पक्राउपछि निगमले नाफाबाट कर्मचारीका लागि बोनस छुट्याएपनि वितरण भने गर्दैन।

निगमका अनुसार कर्मचारीका लागि भनेर छुट्याएको बोनस रकम तीन अर्ब हाराहारी पुगेको छ। निगमले आर्थिक वर्ष २०६५/०६६ देखि नाफाबाट बोनस छुट्याउन थालेको हो। त्यो बेलामा निगमको संचित नोक्सानी ३६ अर्ब रूपैयाँ थियो। संचित नोक्सानी हुँदाहुँदै निगमले बोनस बाँड्न लागेको भन्दै अख्तियारले उच्च तहका कर्मचारीलाई पक्राउ गरेको थियो। उक्त घटनापछि सबै कर्मचारीले बोनस रकम फिर्ता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell