PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

भारतका विभिन्न राज्यबाट माइती नेपालले गर्‍यो ३१ महिलाको उद्धार



राधेश्याम पटेल

भारतका विभिन्न राज्यबाट माइती नेपालले गर्‍यो ३१ महिलाको उद्धार

वीरगंज : माइती नेपाल वीरगंज संस्थाले पछिल्लो एक वर्षमा भारतबाट ३१ जना महिलाको उद्धार गरी नेपाल फर्काएको छ।

२०१९ जनवरीदेखि डिसेम्बर सम्मको अवधिमा ३१ जनालाई उद्धार गरिएको माइती नेपालले जनाएको छ। वीरगंजमा आयोजित मानव बेचविखन तथा सुरक्षित बसाईसराई सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रममा माइती नेपाल वीरगंजकी प्रमुख संगीता पुरीले भारतका कोलकाता, दिल्ली, मोतिहारी, बेतिया, सुगौली तथा रामगढवाबाट ३१ जना महिला तथा युवतीहरुलाई उद्धार गरी ल्याएको जानकारी दिइन्।

युवतीको तुलनामा पछिल्लो समय विवाहित महिलाहरुलाई काम दिलाई दिने भन्दै भारतका विभिन्न शहरमा लैजाने गरेको उनले बताइन्। भारत पुर्‍याइएका महिलाहरुलाई जबर्जस्ती देहव्यापार लगायतका काममा लगाउने गरेको उनको भनाइ छ।

संस्थाकी प्रमुख पुरीले गरिबी, एकल महिला तथा पति विदेशिएका महिलाहरुलाई दलालहरुले आर्थिक प्रलोभनमा पारी भारत हुँदै खाडी मुलुकमा समेत लैजाने गरेको उनले बताइन्।

विशेषगरी सुर्खेत, तनहुँ, बर्दिया, सर्लाही, दोलखालगायत विभिन्न जिल्लाबाट बढि जसो महिला तथा युवतीहरुलाई भारतमा लगिएको तथ्यांकले देखाएको छ। माइती नेपाल र नेपाल प्रहरीको सहयोगमा भारतीय संघसंस्था तथा प्रहरीले १९ जनालाई नेपालबाट उद्धार गरी भारत पठाइएको पनि उनले जानकारी दिइन्।

माइती नेपालले नेपालबाट महिला हिंसामा परेका पीडितलाई पनि उद्धार गरी आश्रय दिँदै आएको छ। अन्तर्क्रिया कार्यक्रममा महिला हिंसा तथा चेलीबेटी बेचबिखन रोक्नको लागि घरदैलो, विद्यार्थीसँग अभिमुखिकरण कार्यक्रम, सरोकारवालाहरुसँग छलफल, द्विदेशीय सम्बन्ध कार्यक्रमलगायत जारी राख्ने माइती नेपालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell