सुर्खेत : काठमाडौं र प्रदेशका विभिन्न जिल्लामा उडान भर्ने सुर्खेत विमानस्थल वरपर चराचुरुङ्गी झुम्मिने गर्छन्। विमानस्थल नजिकै बधशाला भएकै कारण र बजारको दुर्गन्धले चराचुरुङ्गी आउने हुँदा विमान अवतरण र उडान गर्दा दुर्घटनाको जोजिम बढेको छ।
यसअघि दुई महिनामा दुई पटक विमानमा चरा ठोक्किइसकेको नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए।
‘विमानस्थल वरपर चराचुरुङ्गी आउने भनेको फोहोरमैला भएरै हो। जसले गर्दा यसअघि दुई महिनामा दुई पटक चरा ठोक्किइसकेको छ। यद्यपी ठूलो दर्घटना भने भएको छैन’, उनले भने, ‘विमानस्थल नजिकै रहेको राँगा बधशालाको कारणले चरा आएका हुन्।’
प्राधिकरणले विमानस्थल नजिकै बधशाला हुँदा चिल, गिद्ध, काग लगायतका चरा आउने गरेकाले विमान अवतरण र उडान गर्दा निकै ध्यान पुर्याउँदै आएको उनले बताए। विमानस्थल वरपर आएका चराहरु बेला बेला धपाउने गरेको पनि उनले उल्लेख गरे।
‘विमानस्थलको धावनमार्ग वरपर चराहरु हेर्दै लखेट्दै गर्नुपर्ने अवस्था छ,’ उनले भने।
सुर्खेत विमानस्थलको झण्डै एक किलोमिटर टाढा समुदायको बीचमा राँगा बधशाला रहेको छ। जहाँ बधशालाबाट निस्केको फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा चराचुरुङ्गी आकर्षित हुने गरेका छन्।
प्राधिकरणले पटक पटक बधशाला स्थानान्तरणका लागि सरोकारवाला निकायसँग माग गरेको जनाएको छ।
‘विमानस्थल नजिकै बधशाला राख्नु उपयुक्त होइन भनेर हामीले पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छौँ’, प्रमुख पन्थीले भने, ‘मौखिक र लिखित रुपमै हामीले नगरपालिका लगायत सम्बन्धित निकायलाई भनिसकेको अवस्था छ।’
नगरपालिकाले सुर्खेत विमानस्थल वरपर फोहोरमैला बढी भएरै चराचुरुङ्गी आउन सक्ने भन्दै सरसफाईमा ध्यान दिईदै आएको बताएको छ।
‘विमानस्थल वरपर चराचुरुङ्गी बढी आउन थाले भन्ने गुनासो आएपछि हामीले अनुगमन टोली पठाएर सरसफाईमा जोड दिएको अवस्था छ’, वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले भने, ‘विमानस्थल वरपर र बधशालाबाट निस्केको फोहोरमैला व्यवस्थापनका लागि सबैलाई सचेत गराएका छौँ।’
बधशाला अन्यत्र स्थानान्तरणको लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको उनले बताए।
‘बधशाला समुदायको विचमा भएको गुनासो पहिले पनि आएको हो र अहिले विमानस्थल वरपर चराहरु आउँदा जोखिम बढेको हुँदा नगरपालिकाले स्थानान्तरणका लागि आवश्यक अनुदान सहित समुदाय भन्दा अलग्लै राख्नका लागि प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने।
२०२२ सालमा स्थापना भएको सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका दुर्गम हिमाली तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा यात्रु तथा खाद्यान्न ओसारपसारका लागि दैनिक दर्जन बढी उडानहरु हुँदै आएको छ। सुर्खेतबाट विभिन्न निजी विमान कम्पनीहरुले काठमाडौं लगायत कर्णाली र सुदूरपश्चिममा उडान भर्दै आएका छन्। उत्तर–दक्षिण फैलिएको विमानस्थलको धावनमार्ग छोटो भएकाले ठुला विमान अवतरण र उडान हुन सकिरहेका छैनन्।
२०६३ सालमा कालोपत्रे गरिएको धावनमार्ग दीर्घकालीन रुपमा ठूला जहाज अवतरणमा समस्या देखिएपछि थप विस्तार गर्ने बहस भइरहेको छ। अहिले विमानस्थलको एक हजार २ सय ५० मिटर लम्बाइ भएको धावनमार्ग अपुग हुने भन्दै कम्तीमा ३ सय मिटर थप गर्नुपर्ने आवाज उठ्न थालेको छ।
विमानस्थलको धावनमार्ग एक हजार ५ सय ५० मिटर भए ७२ सिटे कुनै पनि कम्पनीका जहाजहरु सहजै उडान र अवतरण गर्न सकिने सम्भावना रहेको जानकार बताउँछन्। शुरुमा एक हजार मिटर भएको विमानस्थलको धावनमार्गलाई पुनः २ सय ५० मिटर थप गरेर एक हजार २ सय ५० मिटर बनाइएपछि बुद्ध एयरले विगत दुई वर्षयता दैनिक ४७ सिटे विमानबाट सुर्खेत-काठमाडौं उडान शुरु गरेको छ।