PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल



रासस

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौडा : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन्।

'हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ। यो समस्या सबै क्षेत्रको समस्या र सधैँको समस्या भएको छ,' पौडेलले भने।

ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उनको धारणा थियो। उनले परिणाम नआउने खालका काम गर्न नहुने बताए।

आज प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमासम्बन्धी कार्यशालामा मुख्यमन्त्री पौडेलले विपद् बाजा बजाएर आउँदैन भन्ने पुरानो भनाइलाई प्रविधिले उल्ट्याएको बताए। मुख्यमन्त्री पौडेलले प्रविधिका कारण विपद् आउन सक्ने अवस्थाका बारेमा पूर्वजानकारी प्राप्त गर्न सकिने हुँदा त्यसको तयारी र व्यवस्थापनमा समेत सचेत हुन जरुरी रहेको बताए।

विपद् व्यवस्थापनका लागि आवश्यक र प्रभावकारी सूचना प्रविधिका उपकरण जडान गरिनुपर्ने उनको भनाइ थियो। विपद् व्यवस्थापनमा राज्यका तीनै तहका सरकार उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिए। पौडेलले प्रदेश ३ चट्याङ प्रभावित क्षेत्र पनि भएका कारण त्यसबाट हुने क्षति कम गर्न पहल थालिनुपर्ने भनाइ राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell