PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पुनर्निर्माण प्राधिकरणको ४ वर्ष : ८३ प्रतिशत उपलब्धि, अर्को वर्ष दाता सम्मेलन



सहयोग रञ्जित

पुनर्निर्माण प्राधिकरणको ४ वर्ष : ८३ प्रतिशत उपलब्धि, अर्को वर्ष दाता सम्मेलन

काठमाडौं : आज भन्दा ठीक ४ वर्ष अघि अर्थात् २०७२ पुस १० गते इन्जिनियर सुशील ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। वरिष्ठ इन्जिनियर एवं शहरी योजनाविद् उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरण प्रमुख बनाएको थियो। उनको लक्ष्य थियो – वैसाख १२, २०७२ को भूकम्पमा क्षति पुगेका संरचनाहरुको पुनर्निर्माण सम्पन्न गर्ने। समयसीमा थियो – ५ वर्ष।

सरकार परिवर्तनसँगै उनी कार्यकारी अधिकृतबाट हटाइए। नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको संयुक्त सरकार गठन भएपछि डाक्टर गोविन्दराज पोखरेल प्रमुख कार्यकारी हैसियतमा प्राधिकरण भित्रिए। उनी चुनावमा उम्मेदवारी दिन जाने भएपछि राजीनामा दिएर पाखा लागे। अनि यो पदमा युवराज भुसाल कार्यकारी प्रमुखका रुपमा प्रवेश गरे। दलीय भागवण्डाका कारण भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बारम्बार राजनीतिको चपेटामा परिरह्यो।

आम निर्वाचनपछि फेरि ओली सरकारले २०७५ साल साउनमा ज्ञवालीलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्‍यो, पहिले झै। पहिलो कार्यकालमा धेरै काम गर्न नसकेका उनले दोस्रो कार्यकालमा आफूलाई स्थापित गरे। आज ज्ञवाली पहिलो पटक प्राधिकरणको प्रमुख भएको ४ वर्ष पूरा भएको छ।

पाँच वर्षको आयु रहेको प्राधिकरणको समयावधी अब एक वर्षमात्र बाँकी छ। भूकम्प पछिको पुनर्निर्माण र पुनर्स्थापनाको काम सन्तोषजनक हुन नसकेको भन्दै आलोचना गर्नेको कमी छैन। पुनर्निर्माणको काममा प्रगति भइरहेको भन्दै सरकारको बचाउ गर्नेहरु पनि उत्तिकै छन्।

पक्ष र विपक्षमा दोहरी चल्दै गर्दा ज्ञवालीले आज आफ्नो कार्यकालको रिपोर्ट कार्ड पेश गरे।

बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको सभा हलमा पत्रकारहरुसँग उनले प्राधिकरणले चार वर्षमा गरेको कामको प्रगति विवरण पेश गरेका हुन्।

२०७२ सालमा प्राधिकरण गठनपछि राजनीतिका कारण केही समय काम ढिलासुस्ती भएको स्वीकार्दै उनले पछिल्लो चरणमा पुनर्निर्माणको काममा प्रगति भइरहेको दाबी गरे।

चार वर्षमा नेपाल सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्था मार्फत् ४२ अर्ब रुपैयाँ गरी ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिँदै उनले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको बताए।

ज्ञवालीले निजी आवास,विद्यालय,स्वास्थ्य संस्था,सम्पदा, सरकारी र सुरक्षा निकायको भवनको पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा चार वर्षमा कूल ८३ प्रतिशत काम भएको दावी गरे। भने, '६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको छ। ६९ प्रतिशत सम्पन्न भइसक्यो १४ प्रतिशत पुनर्निर्माणको क्रममा नै छ।'

भूकम्पपछि धेरैको चासोको विषय थियो निजी आवास पुनर्निर्माण। निजी आवास पुनर्निर्माणमा हालसम्म ८३ प्रतिशत प्रगति हासिल भएको दाबी गरिरहँदा शहरी क्षेत्रमा भएको चुनौती फरक थियो। 'शहरमा जग्गाको समस्या देखियो। एकै दाजुभाइका घरहरु बनाउन उनीहरुको कुरा मिल्नु पर्‍यो। अर्को कुरा घर बनाउन घर धनीले नै पहल गर्ने हो। सरकार आफैँले गएर बनाउने होइन,' शत प्रतिशत परिणाम ननिस्किनुको कारण सुनाए उनले।

शहरी क्षेत्रमा देखिएको समस्याबारे स्थानीय तहसँग समवन्य गरेर काम अघि बढाउने प्रयास भइरहेको जानकारी पनि दिए।

सम्पदा पुनर्निर्माणमा पहिलाभन्दा प्रगति भएको तर सोचे अनुरुप काम नभएको उनकै स्वीकारोक्ति छ। 'सम्पदा निर्माणमा हामीले भनेको जस्तो नहुने रहेछ। रानीपोखरीमा बल्ल काम सुरु भयो। अमूर्त सम्पदाहरुलाई पनि त्यतिकै ध्यान दिनुपर्ने हुन्छ। मन्दिरको बनावट त्यससँग जोडिएका सम्पदा संरक्षण गर्नुपर्ने हुन्छ,' ज्ञवालीले भने।

३२ जिल्लाका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको र १ सय १३ वटा सम्पदाको पुनर्निर्माणको काम भइरहेको उनको रिपोर्ट कार्डमा उल्लेख छ।

यस्तै ४ वर्षमा पूर्ण र आंशिक रुपमा क्षति पुगेका ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ वटाको पुनर्निर्माण सकिएको छ भने सुरक्षा निकायको १ सय ८३ वटा संरचना निर्माण भएका छन्।

भूकम्पपछि चर्चामा रहेका एकीकृत बस्ती पुनर्निर्माणको कामले पनि गति लिइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणबाट ४३ वटा एकीकृत बस्तीले स्वीकृति लिएकोमा २२ वटाको काम सुरु भइसकेको छ भने ३ वटाको काम सम्पन्न भइसकेको छ।

विद्यालय तर्फ ७१ प्रतिशत पुनर्निर्माणको सम्पन्न भइसकेको छ। विद्यालय निर्माण भए पनि कक्षा कोठाको अभाव हुनसक्ने कुरामा उनले भने, 'यस्तो समस्या आउन नदिन हामी शिक्षा मन्त्रालयसँग सहकार्य गर्छौं। कतै कक्षा कोठा धेरै, विद्यार्थी कम छन्। कत्तै विद्यालयहरु मर्ज गर्नुपर्ने हुन्छ। कतै कक्षा कोठा घटाउनुपर्ने हुनसक्छ। हामी त्यसको मूल्यांकन गर्दैछौं।'

प्राधिकरणले आगामी वर्ष अन्तर्राष्ट्रिय दाता सम्मेलनको तयारी गरिहेको बताउँदै उनले अबको सम्मेलनमा पैसा माग्न हुने बताए। भने, 'अबको दाता सम्मेलन पैसा माग्न हुनेछैन। हामीले भूकम्पपछि सिकेका ज्ञान र सीप अन्तर्राष्ट्रियस्तरमा पर्‍याउने उद्देश्य सहित सम्मेलन गर्नेछौं।'

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले औपचारिक रुपमा पुस १२ गतेबाट काम सुरु गरेको थियो। चार वर्ष पूरा गरी पाचौं वर्षमा सम्पन्न भएका कामहरु हस्तान्तरण गर्दै लैजाने उद्देश्य प्राधिकरणले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell