PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कोदोको ढिँडो र गुन्द्रुक पाइने पोर्चुगलको ‘माउन्ट एभरेस्ट’ रेस्टुरेन्ट



रासस

कोदोको ढिँडो र गुन्द्रुक पाइने पोर्चुगलको ‘माउन्ट एभरेस्ट’ रेस्टुरेन्ट
फोटो : रासस।

लिस्बन : दोलखा, गौरीशंकर-७ का धनराज शेर्पा यतिबेला पोर्चुगलमा संघर्षरत छन्। उनको यो संघर्ष १० वर्षदेखि जारी छ। तर हालसम्म पनि संघर्षमा उनलाई पछुतो भने छैन।

नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्चुगलमा कामदारका रुपमा छिरेका थिए। ३३ महिनाको नोकरीपछि साझेदारीमा रेस्टुरेन्ट चलाउने उनमा इच्छा जाग्यो। फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बने। 

साझेदारीमा चलाएको रेस्टुरेन्टबाट आफ्नो सीप र जाँगरलाई थप बलियो बनाएर शेर्पाले आफ्नै एकल लगानीमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन्।

शेर्पाले ‘माउन्ट एभरेस्ट’का नामबाट लिस्बनको कनाईमा रेस्टुरेन्टको शुरुवात गरे जुन अहिलेसम्म पनि सञ्चालनमै छ। कामदारका रुपमा आएका शेर्पा अहिले मालिक बनेर नेपाली युवालाई रोजगारी दिन सक्ने भएका छन्। उनी आफूलाई मालिक भन्न भने रुचाउँदैनन्।

‘कामदारको रुपमा पोर्चुगल छिरेँ, परिश्रम गरेँ, रेस्टुरेन्ट खोल्न सक्ने भएँ’,  शेर्पाले भने, ‘गर्न नसक्ने भन्ने केही छैन। इच्छा र तत्परता भयो भने सबै सम्भव छ।’

कामदारबाट मालिक बन्छु भन्ने कल्पनासम्म नगरेका शेर्पा आफ्नो प्रगतिको श्रेय पोर्चुगललाई दिन्छन्।

‘मलाई पोर्चुगल आएकोमा कुनै पछुतो छैन’, शेर्पा भन्छन्, ‘मलाई सीप र क्षमता विकासमा पोर्चुगलले सिकाएको छ।’ 

कर्ममा विश्वास राख्दा सफल हुने उदाहरणको पात्र बनेका शेर्पा पछिल्लो समय दलाललाई मोटो रकम बुझाएर पोर्चुगल छिर्ने नेपाली युवालाई सीप सिकेर आउन सल्लाह दिन्छन्।

‘लगनशील बन्ने हो भने सपनाको शहरको उपमा पाएको पोर्चुगलबाट मालामाल बन्न समय लाग्दैन’, उनले भने, ‘काम गर्नुस्, भविष्य आफैँ बन्छ।’

सगरमाथा आज विश्वभर परिचित छ। सगरमाथाको नाम नसुन्ने विदेशी विरलै भेटिन्छन्। परदेशमा यसैको नामबाट रेस्टुरेन्ट चलाउँदा गर्वले छाती फुलेको शेर्पाले सुनाए।

‘नेपाल, भारत, चीन, बंगलादेश, ब्राजिललगायत अफ्रिकाका विभिन्न मुलुकका आप्रवासीहरुको गन्तवय पोर्चुगल बनेको छ’, उनले भने, ‘विभिन्न देशका नागरिकमाझ नेपाली खाना र नेपाल चिनाएको छु। यसैमा रमाएको छु।’

उनका अनुसार एभरेस्टमा कोदोको ढिँडो, भटमास, गुन्द्रुकलगायत नेपाली परिकारलाई बढी प्राथमिकता दिइएको छ। नेपाली खाना खानका लागि रोजगारीको सिलसिलामा पोर्चुगल आएका नेपालीसँगै भारत, बंगलादेशलगायत अन्य मुलुकका आप्रवासीको आफ्नो रेस्टुरेन्टमा भीड लाग्ने गरेको व्यवसायी शेर्पाको भनाइ छ।

व्यवसायी शेर्पा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्। व्यवसायसँगै सामाजिक कर्ममा रुचि राख्ने उनले दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आएका छन्।

‘समयमा जागिर नपाउने र साथमा पैसा नहुने नेपाली दाजुभाइलाई सकेको सहयोग गर्छु’, उनी भन्छन्, ‘परदेशमा सानो सहयोग पनि हामी नेपालीका लागि ठूलो हुन्छ।’

नेपाली नेपालीबीच एकताको आवश्यकता रहेको उनको धारणा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell