PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सपनाले पाएको त्यो 'क्लु' जसले बली चढाउने योजना भयो चकनाचुर, बाबु बनेर प्रहरी अधिकृतको 'कोभर्ट अपरेसन'



सविन ढकाल

सपनाले पाएको त्यो 'क्लु' जसले बली चढाउने योजना भयो चकनाचुर, बाबु बनेर प्रहरी अधिकृतको 'कोभर्ट अपरेसन'
प्रतीकात्मक फोटो : फोटोबाज

काठमाडौं : मंगलबार बिहान ११ बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उड्यो। २२ वर्षीय सपना केसी* त्यही विमानमा थिइन्। उनीसँगै थिइन्, दिलकुमारी बुढा। सपना पेशाले मोडल। उनलाई विराटनगरमा र्‍याम्पमा उत्रिनु थियो, मोडलिङको।

पुस ५ गते काठमाडौंमा सपना र फेसन हाउसबीच र्‍याम्पमा उत्रिने सहमति भएको थियो। एक घण्टाको ३० हजार रुपैयाँ पाउने भएपछि उनी तयार भएकी थिइन्।

सपना तिनै पात्र हुन्, जसलाई 'बली' दिन लैजाँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। बिहीबार उनलाई सीमा कटाएर भारत लैजाँदै गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोद्धार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीय प्रेममाया तामाङ रहेका छन्।

अभियुक्तहरु

सपना आफैँले 'बली'का भारत लैजाँदै गरेको सुइँको पाएपछि प्रहरीलाई जनकारी गराएकी थिइन्। पुस ४ गते परिसरमा यसको जानकारी पुगेपछि प्रहरीको टोलीले सपनाको निगरानी थाल्यो। र, उनलाई पछ्याउँदै विराटनगर पुगेको थियो, प्रहरी। प्रहरीको कोभर्ट अप्रेसनमा खाटिएका एक प्रहरी अधिकृत त विमानमा नै थिए। तर, उनीहरु कसैलाई यसको कुनै संकेतसमेत थिएन। 'हाम्रो टोली सादा पोशाकमा पीडित युवतीको बुबा भनेर गएका थिए,' परिसरका एसपी अशोक सिंहले भने।

१२ बजे विमान विराटनगर विमानस्थलमा अवतरण भयो। सादा पोशाकका प्रहरी पनि ‍ओर्लिए। उनीहरुलाई लिन आइपुगे उमेश शाह। उनीहरुको पनि छुटै निगरानी समूह थियो। प्रहरी आउला भन्ने शतर्कता अपनाइरहेका थिए, उनीहरुले पनि।

त्यसैले प्रहरीले खुबै सावधानी अपनायो। करिब एक घण्टाभन्दा बढी समय विमानस्थलमा नै बित्यो, उनीहरुको।

त्यसपछि शाहले एउटा भ्यान रिजर्भ गरे।

एउटा मोडललाई सामान्य भ्यान!

प्रहरी निर्धक्क हुँदै थियो, ठूलो अपराध हुँदैछ। को १ प १८२४ नम्बरको भ्यान भारतको सीमावर्ती बजार जोगवनीतिर हुँइक्यो। कोभर्ट रुपमै मोटरसाइकलदेखि भ्यानबाटै प्रहरीले निगरानी गरिरहेकै थियो।

तर, सपनालाई लिएर गएको भ्यान राम जानकी मन्दिरको खाजा घरमा रोकियो। सपनाले त्यस्तो ठाउँमा बस्न नसक्ने बताइन्। उनलाई त्यसपछि विराटनगर जलजलाचोक स्थित कालीमन्दिरको धर्मशाला लगियो। त्यहाँको कोठा नम्बर २०५ र २०६ बुक गरेर सपनालाई राखेको एसपी सिंहले जानकारी दिए। यसबीचमा प्रहरीसँग सपनाको समानान्तर सम्पर्क भइरहेको थियो।

त्यहीँ सपनाको उचाई, महिनावारी भए नभएको जानकारी र घाउ चोटपटक भए नभएको जानकारी लिइएको थियो। अप्रेशन गरे नगरेको पनि परीक्षण गरेका थिए, त्यहीँ। काठमाडौंमा नै हुँदा सपनाको उचाईदेखि महिनवारीसम्मको कुरा भएकाले उनी सचेत भएकी थिइन्। मोडलिङ गराउनेको शर्त महिनावारी नभएको समय र करिव ६ फिट उचाई हुनुपर्ने थियो। जसले नै सपनालाई कुनै क्राइम हुँदैछ भन्ने शंका गर्ने क्लु दियो र त्यसैका आधारमा उनले प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीले अभियुक्तबाट जफत गरेका पूजा सामग्री, तन्त्रको बुटी।

कृष्ण र उमेश बाहिर गएर युवतीलाई तान्त्रिक पूजाका लागि सीमा पारी लगेर पूजा गराउने भन्दै अपरिचित व्यक्तिहरुसँग कुराकानी गरेको प्रहरीले पनि जानकारी पाइसकेको थियो। सादा पोशाकका प्रहरी प्रमाणसहित उनीहरुलाई नियन्त्रणमा लिने दाउमा थिए।

उमेश माझी, रंजीत कुमार चौधरी, दिलीप पोद्धारसँग समेत छलफल गरी तान्त्रिक पूजाका सामाग्रीसहित युवतीलाई भने मोडलिङका लागि आवश्यक सामान कपडा किनाउने बहानामा जोगवनी कटाउने योजना बनाइरहेका थिए। उनीहरुको योजना कोभर्ट अपरेसनमा जुटेका प्रहरीका लागि ओपन सेक्रेट भइसकेको थियो।

उनीहरुले सपनालाई फेरि भ्यानमा राखेर विराटनगर फूलचोक बुढीगंगा १ तिर लगे। प्रहरीले उनीहरुलाई नियन्त्रण लिनका लागि त्यही ठाउँ उपयुक्त देख्यो। र, प्रहरीले समातिहाले पनि। अनि सपना बली दिने त्यो दुस्साहसबाट बचिन्।

शंकाले जोगाएको ज्यान

झापाकी सपना मोडलिङमा रुचि राख्छिन्। मोडलिङको राम्रो प्रस्ताव आए काम गर्ने सोच थियो। प्रस्ताव आएपछि उनले सहमति जनाउनु ठूलो कुरा भएन। तर, आयोजकले हाइट, चोटपटक र महिनावारीमा शर्त राखेपछि उनी निर्धक्क भइन - केही त गडबड छ।

उनले केही समय अगाडि यस्तै शर्त राखेर झापाकी एक युवतीलाई बली दिएको समाचार थाहा पाएकी थिइन्। २०७५ असार १५ गते कन्काई नगरपालिकामा एक महिलालाई ललाईफकाई गरेर बली दिन खोजिएको थियो। उनको पनि उचाई लिइएको थियो। त्यो समाचारबारे जानकार सपनाले शतर्कतामात्र अपनाइनन्, समयमै प्रहरीलाई त्यसबारे जानकारी पनि गराइन्।

त्यही आधारमा उनी प्रहरीकहाँ पुगेकी थिइन्।

'उनी एकदम सहासी लाग्यो। उनको शंकाले बचायो,' महानगरीय प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले भने। सपनाको त्यही शंकाले एउटा जघन्य अपराधमात्र टरेन, अपराधमा संलग्नहरुसमेत प्रहरीको कब्जामा परे।

*(घटनामा भनिएकी सपना केसी काल्पनिक नाम हो। उनको सुरक्षालाई लिएर नाम परिवर्तन गरिएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell