PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

प्रहरीको खोजी सूचीमा २८ जना प्रहरीहरु नै, अधिकांश जवान !



सविन ढकाल

प्रहरीको खोजी सूचीमा २८ जना प्रहरीहरु नै, अधिकांश जवान !

काठमाडौं : प्रहरीले प्रहरीलाई नै खोजिरहेको छ भन्ने सुन्दा तपाईँलाई कस्तो लाग्छ? अझ एकै पटक २८ जना प्रहरी कतै बेपत्ता भएको सूचना जारी भयो भने नि?

हामीमध्ये धेरैलाई लाग्ने कुरा हो - प्रहरी संगठनभित्र कडा कानुन हुन्छ। हुन्छ पनि। नियमित कार्यालय पुग्नु, कमैमात्र बिदा पाउनु, माथिल्लो निकायलाई जानकारी नदिइ कतै नजानु वा विदामा नबस्नु त प्रहरीको आचरणको आधारभूत तत्व नै हो। तर, हामीले सोचेजस्तो आचरण भने प्रहरीभित्र नहुने रहेछ जसले गर्दा प्रहरीले प्रहरीलाई नै खोजीको सूचीमा राख्नुपर्ने रहेछ।

प्रहरीले यसरी सूचीमा राखेका प्रहरीहरु भने जनाकारी नै नदिइ विदामा बसेका वा वैदेशिक रोजगारतिर हानिएका हुने रहेछन्।

विगत पाँच महिनादेखि विभिन्न जिल्लामा रहेका २८ जना प्रहरी यसैगरी सम्बन्धित कार्यालयमा हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुको सूची नै सार्वजनिक गरेको छ। उनीहरु कहाँ गए अत्तोपत्तो नभएपछि प्रहरीले उनीहरुकै खोजी गर्नुपरेको हो। लामो समयदेखि बेखवर प्रहरी कर्मचारी खोज्न बिहीवारमात्र प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्‍यो। जारी सूचनामा बाटोको म्यादले सात दिनभित्र उनीहरुलाई हाजिर हुन भनिएको छ।

सूचनामा सात दिनभित्र हाजिर भएको र सन्तोषजन गैर हाजिरीको कारण खुलाएको खण्डमा सफाईको मौका समेत दिने उल्लेख छ। यसरी कार्यालयमा उपस्थित नहुनेहरु अधिकांश चाहिँ प्रहरी जवान रहेका छन्। एक जना प्राविधिक तर्फका प्रहरी नायव निरीक्षक ( सई) पनि छन् यो सूचीमा।

आखिर जानकारी नै नगराई प्रहरी कहाँ हराउँछन् त? अनि के सूचना जारी गर्दैमा उनीहरु फेरि हाजिरी हुन आउँछन् त?

नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्री प्रहरीले प्रहरीलाई यसरी खोज्नु नियमित प्रकृया भएको बताउँछन्।

'केही प्रहरी आउँछन्। नआउनेलाई हामी कानुनी प्रकृयामा गएर बर्खास्त गर्छौं। यो नियमित प्रकृया हो,' डिआइजी थापाले भने।

प्रहरीले जारी गरेको सूचनामा साउन देखि मंसिर महिनाको दोस्रो सातादेखि अनुपस्थित प्रहरीको विवरण छ। प्रहरी संगठनप्रति नैरास्यता, आर्थिक अवस्था सुधार्न विदेशिने होडले पनि प्रहरीहरु पेशाबाट पलायन हुने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell