PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

डायलासिस गरेर फर्किए प्रधानमन्त्री, आजै डाकेका छन् मन्त्रिपरिषद्



कुञ्जरमणि भट्टराई

डायलासिस गरेर फर्किए प्रधानमन्त्री, आजै डाकेका छन् मन्त्रिपरिषद्
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस गरेर निवास बालुवाटार फर्किएका छन्। डायलासिसमा जानुपर्ने भएकाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनको आजका लागि तय भएको बैठक प्रभावित भएको छ।

प्रधानमन्त्री ओली आज नियमित डायलासिसका लागि टिचिङस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगेका थिए। उनीसँग छलफल गर्नका लागि चितवन पुगेका प्रचण्ड भने काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान ९:३० बजे नियमित डायलासिसका लागि समय तोकिएको थियो। प्रधानमन्त्री ओलीले आजै चार बजेका लागि मन्त्रिपरिषद् बैठक समेत बोलाएका छन्।

त्यसअघि प्रचण्डसँग उनको कुराकानी हुने तय थियो। छलफलका लागि बिहीवार नै काठमाडौं आउने भने पनि प्रचण्ड आजमात्र आइपुगेका हुन्। उनी बिहीवार काठमाडौं आइपुग्ने र सभामुख चयनका विषयमा छलफल गर्ने तयारी थियो।

प्रचण्ड आज बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। त्यतिखेर ओली डायलासिसका लागि अस्पताल पुगिसकेका थिए।

नेकपामा समामुख कसलाई बनाउने भन्ने विषय पेचिलो बनिरहेको अवस्थामा पार्टीका दुई अध्यक्षबीचको भेटलाई महत्वका साथ हेरिएको थियो। सभामुखका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन। त्यसलाई टुङ्गो लगाउने जिम्मेवारी दुवै अध्यक्षको हो।

प्रधानमन्त्रीको डाइलासिस गर्ने साढे चार घण्टा समय लाग्यो। त्यसपछि बालुवाटार फर्किएका हुन् उनी। आजैका लागि उनले मन्त्रिपरिषद् बैठक समेत डाकेका छन्।

'मन्त्रिपरिषद् बैठक अघि दुई अध्यक्षको भेटघाट सम्भव छैन्। मन्त्रिपरिषद् बैठकपछि भेट हुने सम्भावना पनि कमै देखिन्छ,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

सभामुखका लागि अध्यक्षद्वयले दुई फरक फरक उम्मेदवार अघि सारेका छन्। प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई तथा प्रचण्ड स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने अडानमा छन्।

सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएर थुनामा रहेकाले गत असोजदेखि सभामुख पद रिक्त छ। सभामुख चयनको प्रक्रिया सुरु गर्ने संसदको कार्यतालिका समेत दुई अध्यक्षबीच सहमति नजुट्दा पर सरेको छ। सभामुखको टुङ्गो नलाग्दा आजको बैठक सूचना टाँस गरी स्थगित भइसकेको छ। अब संसद १६ गतेका लागि बोलाइएको छ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू सभामुख बन्नुपर्ने दाबी कायमै राखेकी छिन्। उपसभामुख तुम्बहाम्फेले राजीनामा नदिँदासम्म सभामुखका लागि प्रकिया अघि बढाउँदा नेकपालाई असहज पर्ने भएपछि सूचना टाँस गरेर बैठक सारिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell