PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कैलालीमा यस वर्षकै सबैभन्दा चिसो, आगो ताप्न प्रहरीले बाँड्न थाल्यो दाउरा



एम बम

कैलालीमा यस वर्षकै सबैभन्दा चिसो, आगो ताप्न प्रहरीले बाँड्न थाल्यो दाउरा

कैलाली : कैलालीमा शुक्रवारको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म मापन गरिएको छ। जुन यस वर्ष मापन गरिएका सबैभन्दा कम तापक्रम हो। जल तथा मौसम फिल्ड कार्यालय अत्तरियाका अनुसार यस अघि पुस ५ गते ६ दशमलव ६ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको थियो।

शुक्रवार बिहान पौने ६ बजे डडेलधुराको १ दशमलव ७ र दिपायलको ३ दशमलव ५ डिग्री सेल्सियससम्म मापन गरिएको छ।

कैलाली कञ्चनपुरमा केही दिनयता बाक्लो हुस्सु र कुहिरोले अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। घरमा न्यानो कपडा र दाउराको अभावमा समस्या भइरहेको कैलालीको कैलारी गाउँपालिकाका स्थानीय मान बहादुर चौधरीको गुनासो छ।

‘बालबालिकालाई विद्यालय जान पनि समस्या छ’, उनले भने, ‘न्यायो लुगा कपडा अभावले बालबालिकालाई अझ समस्या भइरहेकोले विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको भए केही राहत हुने थियो।’

चिसो बढेपछि विपद् व्यवस्थापन समिति सक्रिय

चिसो बढेपछि स्थानीयको समस्यालाई मध्यनजर राख्दै प्रहरीले दाउरा वितरण शुरु गरेको छ।

प्रहरीको सक्रियतामा विभिन्न सामुदायिक वनसँग समन्वय गरी जिल्लाका विभिन्न ठाउँहरूमा दाउरा वितरण गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

जिल्लाको धनगढी उप महानगरपालिका, गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका घोडाघोडी नगरपालिका, लम्की चुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र टिकापुर नगरपालिकाका विभिन्न स्थानहरुहरुमा दाउरा वितरण भइरहेको उनले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिले सामुदायिक बनहरूसँग समन्वय गरेर दाउरा वितरण गर्न निर्देशन गरेपछि प्रहरीले अभियान थालेर दाउरा वितरण शुरु गरेको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले चिसोबाट स्थानीयलाई जोखाउन स्थानीय तहहरूलाई लगत संकलन गर्ने भनिएको बताए। साथै प्रहरीलाई दाउरा वितरण गर्न, विपद्का क्षेत्रमा कार्यरत संघ संस्थाहरूलाई सहयोगमा जुट्न आग्रह गरिएको उनले बताए।

चिसोका कारण यात्रु, बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित हुन थालेपछि आगो ताप्न दाउराको व्यवस्था गरिएको उनको भनाइ छ।

बाक्लो हुस्सुले उडान समेत प्रभावित

निरन्तर बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि धनगढी काठमाडौंको हवाई सेवा समेत प्रभावित हुँदै आएको छ। विगत तीन दिनयता हवाई उडान प्रभावित भएको धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाले बताए।

विगत दुई दिन बुधवार र बिहीवार उडान पूर्ण प्रभावित भएको र आज श्री एयरलाइन्सको एउटा उडान भएको उनले जानकारी दिए। विमानस्थलमा भीओआर/डीएमई उपकरण अभावमा उडान प्रभावित भइरहेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell