
जुम्ला : चन्दननाथ नगरपालिका-३ डाँडाकोट गाउँका ५० वर्षीय परबहादुर कामीको हत्या आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गुठीचौर गाउँपालिका-३ गज्याङकोटका २८ वर्षीय दल रावत र सोही गाउँपालिका-५ का २३ वर्षीय उपेन्द्र भण्डारीलाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएको हो।
'नियन्त्रणमा लिएकाहरु र मृतक कामीबीच केही दिनअघि वादविवाद भएको पाइयो', प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले भने, 'घटनाको अनुसन्धान भइरहेको छ।'
परबहादुरको शव गुठीचौर गाउँपालिकाको झारज्वाला नजिकैको खोलामा प्रहरीले बिहीवार फेला पारेको थियो। बहिनी भेट्न गुठीचौरको गज्याङकोट पुगेका उनी मृत अवस्थामा भेटिएका हुन्। मृतकको अनुहारमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चन्दले बताए।
छोरा हराएको भन्दै परबहादुरका बुबा प्रहरीकोमा खोजिदिनका लागि आग्रह गर्न आएपछि प्रहरीले खोजी कार्य थालेको थियो। मृतकका आफन्तले भने घटना रहस्यमय भएको भन्दै अनुसन्धान गरेर दोषीमाथि कारबाहीका लागि प्रहरीसमक्ष माग गरेका छन्। मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षणका लागि ल्याएको प्रहरीले जनायो।