PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नयाँ च्याम्पियनको खोजीमा पोखरा प्रिमियर लिग : आज फाइनल, कसले मार्ला बाजी



मुकुन्द घिमिरे

नयाँ च्याम्पियनको खोजीमा पोखरा प्रिमियर लिग : आज फाइनल, कसले मार्ला बाजी

पोखरा : पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा आज फाइनल खेल हुँदैछ। फाइनलमा अघिल्लो सिजनमा पनि फाइनल पुगेको चितवन राइनोज र पहिलो पटक फाइनल पुगेको विराटनगर टाइटन्सबीच हुनेछ।

हेभी वेट मानिएको चितवन यसपटक अपराजित रहँदै फाइनल पुगेको हो। त्यही अपराजित यात्रालाई निरन्तरता दिँदै च्याम्पियन बन्न चाहान्छ चितवन। चितवनका कप्तान पारस खड्का पुरानो खेल हेर्ने भन्दा पनि फाइनलमा ध्यान केन्द्रीत गरेको बताउँछन्। लिग चरणमा बिराटनगरलाई हराएको भनेर ‘रिल्याक्स’ भएर आफुहरु नबसेको उनले बताए।

‘पुरानो नतिजाभन्दा पनि यसपटकको फाइनलका लागि हामी तयारी गर्दैछौं। हामीले कुनै कुरालाई सजिलो तरिकाले लिएका छैनौं। हामीले खेलका सबै पक्षमा केन्द्रित हुँदै हाम्रो हेभी पर्फर्मेन्सलाई निरन्तरता दिने प्रयासमा हुनेछौं,’ पारसले भने। 

चितवन राइनोजमा पारस खड्का, आरिफ शेख, करण केसी जस्ता नेपाली महत्वपूर्ण खेलाडीहरु रहेका छन् रोहन मुस्ताफा, सन्नी पटेल, बाबर हयात जस्ता चर्चित र अनुभवी खेलाडीहरु छन्। 

अर्कोतर्फ विराटनगर युवा खेलाडीहरुले प्रेरित छ। बिराटनगरमा सुनिल धमला, प्रदीप ऐरी, पुनित मेहेरा, मोहम्मद जैद,  जितेन्द्र मुखिया लगायतका महत्वपूर्ण खेलाडीहरुको सन्तुलन देखिन्छ। सुरुवाती खेलहरु खासै राम्रो नभए पनि पछिल्ला खेलहरुमा उल्लेखनीय सुधार भएको बताउँछन् विराटनगरका कप्तान प्रदीप ऐरी। उनले बलियो प्रतिद्वन्द्वी चितवनको खेललाई नजिकबाट नियालिरहेका छन्। 

‘हाम्रो प्रतिद्वन्द्वीले प्रतियोगितामा राम्रो खेलेको छ। पछिल्लो पटक हामीले पनि राम्रो खेलिरहेका छौं। फाइनलमा हामी त्यसलाई निरन्तरता दिनेछौं,’ उनले भने, ‘फाइनललाई लिएर हामी निकै उत्साहित छौं। हामी हाम्रो गल्ती सच्याउँदै जित्ने प्रयासमा हुनेछौं। हामीले फाइनलमा राम्रो गर्ने अपेक्षा लिएका छौं।’

खेल आज साढे ११ बजे पोखरा क्रिकेट रंगशालामा हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell