PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेताले बिर्सिएको खुल्लामञ्चमा हेर्नुस् कलाकारको कुची

नेताले बिर्सिएको खुल्लामञ्चमा हेर्नुस् कलाकारको कुची

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कुनै समय थियो जब खुल्लामञ्चमा गुञ्जने भाषणले देशको भविष्य निर्धारण गर्थ्यो। नजिकै रहेको राजदरबारदेखि सिंहदरबार त्यहाँ गुञ्जिएका शब्दसँग तर्सिन्थे। आज त्यही खुल्लामञ्च अहिले आफ्नो अस्तित्व बचाउन लडिरहेको छ।

पुरानो बसपार्कमा बहुप्रयोजनको भ्यू टावर बनाउने भन्दै वर्तमान राजनीतिक नेतृत्वको उद्गमस्थल खुल्लमञ्चलाई साँघुरो बनाइयो। खुल्लामञ्चको आधा भागमा बसपार्क सारियो। भूकम्पपछि बाँकी रहेको आधा भागमा पुनर्निर्माणका सामान भण्डारण गर्न दिनुका साथै पार्किङस्थल बनाउन महानगरले अनुमति दियो। खुल्लामञ्चसँगै रहेको दुईमाजु मन्दिरसमेत व्यापार गर्न भाडामा दिइएको थियो।

कुनै समय नागरिकको आवाज बनेको खुल्लमञ्च साँघुरिँदै गएपछि माइतीघर विरोधको आवाजको अर्को ठेगाना बन्न पुग्यो। यद्यपि, खुल्लामञ्चलाई पुरानै स्वरुपमा फर्काउने उद्देश्यसहित अकुपाइ टुँडिखेल अभियान संचालन भइरहेको छ।

यसैबीच, आज अस्तित्वको लडाइँ लडिरहेको खुल्लामञ्चलाई रंग्याउने काम भएको छ। बिहान ९ बजेदेखि कलाकारहरु हातहातमा ब्रस लिएर खुल्लामञ्च रंग्याउन पुगेका थिए। सुरुमा महानगरपालिका र प्रहरीले रंग लगाउन अवरोध गरेको थियो। 'माथिको आदेश' भन्दै खुल्लामञ्च रंग्याउन रोकिएको थियो। पछि अभियन्ता र कलाकारहरुले रंग लगाउन रोकेकोमा विरोध गरेपछि अवरोध हटेको थियो। गैरकानूनी रुपमा पार्किङ गर्न दिने तर राजनीतिक इतिहास बोकेको खुल्लामञ्चलाई सफा गर्छु भन्दा अवरोध गरेको भन्दै अभियन्ता र कलाकारहरुले विरोध स्वरुप प्लेकार्ड बोकेका थिए।

सोसाइटी अफ नेपालीज् आर्किटेक्टस्सँगको सहकार्यमा कलाकार धन यख्खाले खुलापन र वातावरणीय सन्तुलनको भाव झल्किने गरी रंगिचंगी आकृतिहरु बनाएका थिए। सर्वसाधारणले पनि खुल्लामञ्च रंग्याउन साथ दिएका थिए।

रानीपोखरीदेखि दशरथ रंगशालासम्मको विशाल टुँडिखेल जनताका लागि खुल्ला हुनुपर्ने मागसहित शुरु भएको अकुपाई टुँडिखेल अभियान दुई महिनायता निरन्‍तर चलिरहेको छ। रत्नपार्कदेखि खुल्लामञ्चसम्म मानव साङ्लो बनाएर शुरु भएको अभियान अन्तर्गत हरेक शनिवार रचनात्मक कार्यक्रम हुँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell