PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुई सुत्केरीको मृत्युपछि प्रभु अस्पतालमा भर्ना नै बन्द



राधेश्याम पटेल

दुई सुत्केरीको मृत्युपछि प्रभु अस्पतालमा भर्ना नै बन्द

वीरगंज : वीरगंज-८ पानीट्या‌ंकीमा हालै सञ्चालनमा आएको प्रभु अस्पतालमा प्रसूति गराउन आएका दुई जनाको मृत्यु भएको छ।

बारा पचरौता-१ पिपरपाती निवासी २५ वर्षीया सुनीतादेवी ठाकुर र वीरगंज-३ भगवती टोल माइती भएकी ३० वर्षीया अमृता श्रेष्ठको मृत्यु भएको अस्पतालले जनायो।

अमृताको बुधवार साँझ करिब ५ वजे अस्पतालनमै मृत्यु भएको हो। सुनिताको भने उपचारको लागि चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा रिफर शुक्रवार बिहान साढे ३ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। उनलाई प्रभुबाटै रिफर गरिएको थियो। सुनिताले शल्यक्रियाबाट पुस ८ गते छोरा जन्माएकी थिइन्।

अमृता पुस ८ गते दिउँसो १२ बजे भर्ना भएकोमा राति २ बजे शल्यक्रिया गरी बच्चा निकालिएको थियो। दुवै जनाको उपचार राम्रैसँग भइरहेको अवस्थामा शल्यक्रियाको करिब १२ घण्टापछि पिसाब बन्द भएको र त्यसपछि अवस्था बिग्रिएको अस्पतालले जनाएको छ।

पीडित पक्षले शल्यक्रियामा संलग्न चिकित्सक डा लक्ष्मी थापा गुप्ताको लापरवाहीले गर्दा सुत्केरीको मृत्यु भएको आरोप लगाएको छ। अस्पतालले भने घटना आफैँमा दुःखदायी भएको र यस्तो घटनाले अस्पताल व्यवस्थापन पक्ष पनि स्तब्ध भएको बताएको छ।

अस्पतालका मेडिकल निर्देशक अभिषेक अर्यालले भने, 'हामी आफैं आश्चर्य चकित छौं, घटना कसरी भयो भनेर। हामीले मेडिकल काउन्सिललाई पत्र लेखेर छानबिनको लागि जानकारी गराएका छौं, त्यस अवधिसम्म भर्ना र शल्यक्रिया पनि बन्द गरेका छौं।'

उनले बिरामीको अवस्था अचानक बिग्रिएर मृत्युसमेत हुनुमा स्लाइन पानी, औषधि वा अन्य केही कारण हुन सक्ने आशंका गरे।

प्रभु अस्पतालकी चिकित्सक डा गुप्ताले सफल शल्यक्रिया गरिसकेपछि दुई जना महिलाको मृत्यु भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताएकी छन्।

उनले चिकित्सक सेवाको १६ वर्षको करियरमा यो घटनाले कालो दाग लागेजस्तै भएको महसुस गरेको बताइन्। मृत्युको कारणबारे सत्यतथ्य बाहिर ल्याउन मेडिकल काउन्सिललाई पत्र लेखेको उनी बताउँछिन्।

शल्यक्रिया गरी बच्चा निकालिएको अमृताको बच्चा प्रभु हस्पिटलकै एनआइसियुमा उपचाररत छन्।

बच्चाको अवस्था स्वस्थ रहेको र अस्पतालका चिकित्सकहरूको निगरानीमा उनको हेरचाह भइरहेको छ। अस्पताल पक्षले बच्चालाई केही नहोस् भनी कडा निगरानीमा उपचार भइरहेको जनाएको छ। अर्की मृतक सुनीतादेवी ठाकुरबाट जन्मेको बच्चा परिवारजनसँग चितवन लगिएको अस्पताल पक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell