PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

विराटनगरलाई ३२ रनले हराउँदै चितवनले जित्यो पिपिएलको उपाधि



मुकुन्द घिमिरे

विराटनगरलाई ३२ रनले हराउँदै चितवनले जित्यो पिपिएलको उपाधि

पोखरा : पोखरा प्रिमियर लिग (पिपिएल)को उपाधि चितवन राइनोजले जितेको छ। आज पोखरा क्रिकेट स्टेडियममा भएको फाइनलमा चितवनले विराटनगर टाइटान्सलाई ३२ रनले पराजित गरेको हो।

चितवनले लिगमा अपराजित रहँदै उपाधि जितेको हो।

चितवनले दिएको २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्रै बनाउन सक्यो।

विशाल लक्ष्य पछ्याएको विराटनगरले १ दशमलव १ ओभरमै सुनिल धमलाको विकेट गुमाएको थियो। यसअघिको खेलमा उत्कृष्ट पारी खेलेका धमला आज भने ४ रनमै बोल्ड भए। त्यस्तै लोकेश बम पनि कृजमा टिक्न सकेनन्।

शुरुमै धरमराएको विराटनगरको इनिङलाई मोहम्मद जाइद आलमले सम्हालेका थिए। उनले नोमन खान र प्रदीप ऐरीसँग उत्कृष्ट साझेदारी गर्दै विराटनगरको स्कोर उकासेका थिए। ५७ रन बनाएका आलमलाई १४ दशमलव १ ओभरमा रोहन मुस्तफाले भुवन कार्कीद्वारा क्याचआउट गराएका थिए।

त्यस्तै पुनित मेहेराले आक्रामक ३२ रन तथा कप्तान प्रदीप ऐरीले ३६ रन जोडे पनि यो जितका लागि पर्याप्त बन्न सकेन।

विराटनगरलाई १७० रनमा रोक्न करण केसीले ३ विकेट, सन्नी पटेलले २ विकेट तथा रोहन मुस्तफाले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। चितवनलाई जिताउन रोहन मुस्ताफा र अनिल साहले अर्धसतक बनाए।

४३ बल खेलेका मुस्ताफाले १ छक्का र ३ चौकाको मद्दतले ५० रन बनाए। त्यस्तै साहले ३४ बल खेल्दै ३ छक्का र ३ चौकाको मद्दतले ५० रन नै बनाए। चितवनको जितमा करन केसीको २६ रन, कप्तान पारस खड्काको २५, आरिफ शेखको १९ तथा सन्नी पटेलको १६ रनको योगदान रह्यो।

त्यस्तै मुहाम्मद जाइद आलम र पुनीत मेहराले २/२ तथा किशोर महतोले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell