PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

काठेपुल भत्किँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीय



रासस

सिमकोट : हुम्लाको सिमकोट गाउँपालिका-१ र २ का स्थानीय काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन्। गाउँपालिका वडा नम्बर ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नम्बर १ र २ का स्थानीयलाई आवतजावतमा बढी समस्या भएको हो।

२०७० सालमा साविक जिल्ला विकास समितिबाट पाँच लाख रुपैयाँको लगानीमा बनाइएको काठेपुल जीर्ण अवस्थामा हुँदा पुनः भत्किएको छ। काठेपुल भत्किँदा ठेहे, दोजाम, ताक्ला, बाम्टा गाउँका स्थानीयवासीलाई आवतजावतमा बढी प्रभावित बनाएको छ। जीर्ण अवस्थामा रहेको काठेपुलमा आवतजावत गर्दै आएका यहाँका स्थानीयवासी अहिले सोही पुल भत्किँदा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका-१ निवासी देबन बोहराले बताए।

हेल्दुमखोलाको बाटो भएर वडा नम्बर १ र २ का स्थानीयवासीलगायत अन्य सर्वसाधरणले आवतजावत गर्ने पुल नै भत्किँदा यहाँको स्थानीय सरकारले कुनै चासो नदिएको बोहराले बताए। काठेपुल भत्किँदा ठेहे र दोजामका स्थानीयवासी बढी प्रभावित भएका छन्। उक्त नदीमा पुल नहुँदा दैनिक सदरमुकाम सिमकोटमा पुगेर उपभोग्य सामान खरीददेखि प्रशासनिक कामका लागि आवतजावत गर्नेलाई समस्या बनाएको नदी छेउमा होटल सञ्चालन गरिरहेका करण सुनारले बताए। नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेको सुनारले बताए।

आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नम्बर १ र २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको सुनारले बताए।

उनले भने, 'कम्तीमा गाउँपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell