PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा प्रहरीको श्रमदान



रासस

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा प्रहरीको श्रमदान
फोटो : जिल्ला प्रहरी कार्यालय चितवन/फेसबुक।

रत्ननगर : भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार बिहान २०० को संख्यामा पुगेर प्रहरीले रंगशाला निर्माणमा श्रमदान गरेको थियो।

श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो।

'प्रहरीले गर्न सक्ने काम गर्ने गरेका छौँ', प्रहरी उपरीक्षक मल्लले भने, 'रंगशाला निर्माण सम्पन्न नभएसम्म श्रमदान जारी रहने छ। रंगशाला निर्माणको काममा सकेको सहयोग गर्न तयार छौँ।'

प्रहरी टोलीले मुख्य कालोपत्रको ‘स्वेलिङ’का लागि ढंगा भर्ने काम गरिरहेको छ।

रंगशालामा बन्ने सबैभन्दा ठूलो रंगशाला र कालोपत्र रहने ठाउँको काम भइरहेको छ। कमलको फूलको आकृतिमा बन्ने रंगशालाको ‘स्वेलिङ’को काम सकिएर डिपिसीको काम भइरहेको धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए।

कट्टेलका अनुसार निर्माणमा खर्चको आधारमा रकम संकलन गर्न सकिएको छैन। रंगशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहे पनि अपर्याप्त भएको उनको भनाइ छ। रंगशालाको काम युद्धस्तरमा बढेको छ। दैनिक १० लाख रुपैयाँ खर्च लाग्ने गरी काम अघि बढाइएको छ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा केही ढिलाइ भएको भए पनि अहिले रंगशालाको काम तीव्ररूपमा अघि बढिरहेको छ। निर्माणकार्यले गति लिएपछि रंगशाला अवलोकन गर्नुका साथै आर्थिक सहयोग आउने क्रम बढेको अभियानकर्मी अर्जुन भुषाल बताउँछन्। रंगशालालाई श्रमदान, आर्थिक सहयोग, निर्माण सामग्री उपलब्ध गराएर सहयोग गर्न सकिने फाउण्डेसनले व्यवस्था मिलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell