काठमाडौं : काठमाडौंका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए।
उनले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमनसमेत गर्दै आए छन्। यसक्रममा शनिवार मन्त्री नेम्वाङले कलंकी-नागढुंगा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डीलाई पुर्न र सवारी आवत जावतलई सञ्चालनमा राख्न निर्देशन दिए। अनुगमनमा काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया लगायत सहभागी थिए।
चाबहिल-साँखु, जोरपाटी-सुन्दरीजल, माइतीघर-तीनकुनेलगायतका सडक खण्डमा मन्त्री नेम्वाङले अनुगमन गरेका थिए। नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपन लगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ।
सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विगतका वर्षभन्दा चालू आवमा सडक मर्मतमा बढी बजेट बिनियोजन भएको जानकारी दिए। सडक बोर्डले चालू आवमा झण्डै ७० प्रतिशत राष्ट्रिय राजमार्गको मर्मत तथा ३० प्रतिशत बजेट स्थानीय सडक मर्मतमा खर्च गर्ने जनाएको छ। सरकारले सडक बोर्ड नेपाललाई गत आवमा भन्दा झण्डै तीन अर्ब रुपैयाँ बढी बजेट सडक मर्मतका लागि विनियोजन गरेको छ।
उनले भने, 'गत वर्षमा काठमाडौं उपत्यकाका सडक मर्मतमा कम बजेट छुट्याउने गरिएकामा चालू आवमा उपत्यकाका लागि बढी विनियोजन भएको छ।'