PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पेरिसडाँडाको झल्को : दुई अध्यक्ष बैठकमा बल्ल सँगसँगै



कुञ्जरमणि भट्टराई

पेरिसडाँडाको झल्को : दुई अध्यक्ष बैठकमा बल्ल सँगसँगै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा दुई अध्यक्ष छन् : केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड।

२०७५ जेठ ३ गते राष्ट्रिय सभा गृहबाट एकता घोषणा गरेपछि दोस्रो दिन जेठ ४ मा पेरिसडाँडामा 'नेमप्लेट'सहित सँगसँगै देखिएका दुई अध्यक्ष त्यसयता न त सचिवालय बैठकमा सँगै देखिए, न त स्थायी कमिटिको बैठकमा।

त्यसपछि प्रचण्डलाई 'नेकपाका नाममात्रको अध्यक्ष' मात्र भएको प्रश्नहरु उठ्न थाले। र, पार्टीमा पनि यसको बहस भयो। प्रचण्डले पनि आफूलाई अधिकार प्राप्त नभएको महसुस भएको उनको छटपटी र अभिव्यक्तिबाट प्रष्ट हुन्थ्यो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली उपचारका लागि सिंगापुर पुगेका बेला गत भदौ ९ गते प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा सचिवालय बैठक बस्यो। ओली प्रचण्डलाई बैठक डाक्न सक्ने जिम्मेवारी सुम्पेर सिंगापुर उडेका थिए।

मंसिर ४ गतेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारीसमेत सुम्पियो। कार्यकारी भूमिका पाएपछि मंसिर १८ गते पहिलो बैठक डाके प्रचण्डले। त्यतिबेला ओली उपचारपछि आराम गरिरहेका थिए।

त्यसयता ओली र प्रचण्ड संयुक्त अध्यक्षतामा बैठक बसेपछि सँगसँगै देखिएका थिएनन्।

आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा भने दुई अध्यक्षको कूर्सी सँगै राखियो र दुबै जना एकैतिर बसे।

पेरिसडाँडाको त्यो समबसाईको झल्को दिने गरी सचिवालय बैठकमा पहिलोपटक दुबै अध्यक्ष सँगसँगै रहेर पार्टीको अध्यक्षता गरेका हुन्।

अघिल्ला बैठकमा सबैभन्दा अघि राखिएको कुर्सीमा ओली बस्थे भने अर्का अध्यक्ष प्रचण्ड अन्य सचिवालय सदस्यसँगै सोफामा देखिन्थे।

अघिल्लो बैठकमासमेत प्रचण्ड सचिवालय सदस्यहरुसँगै देखिएका थिए।

सँगसँगै बस्नुको सन्देश के?

कार्यकारी अध्यक्षको जिम्मेवारी दिए पनि अगाडि अक्षरमात्र थपिएको र अधिकार नपाएको टिप्पणी शुरु भएको थियो। आलोचना र टिप्पणीकाबीच प्रचण्डले पार्टीको सिंगल अध्यक्षता शुरु गरे।

गत भदौसम्म अध्यक्ष ओलीले मात्र बैठक डाक्ने गरेका थिए। गत भदौ ५ गतेको सचिवालय बैठकले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रचण्डले बैठक बोलाउन सक्ने निर्णय गर्‍यो। यो निर्णयसँगै ओली विदेशमा हुँदा पनि बैठक बस्ने र पार्टीका काम नरोकिने भएको थियो।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका बेला भदौ ९ गते प्रचण्डले सचिवालय बैठक डाकेका थिए। तर , प्रधानमन्त्री ओली उपचारबाट फर्किएपछि ओलीकै अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा ओली अघिल्लो कुर्सीमा बसे। प्रचण्ड र अन्य सचिवालय सदस्यहरु पूर्ववत स्थानमै।

तर, गत मंसिर ४ गते बसेको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्‍यो। जसमा प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी तोक्यो। बैठकले ओलीले ५ वर्ष नै सरकार चलाउने निर्णय गरेको थियो।

प्रचण्डले कार्यकारी भूमिका पाएपछि मंसिर १८ गते पहिलो बैठक डाके। त्यसपछिका केही बैठकहरुको अध्यक्षता प्रचण्डले गरेका हुन्। प्रचण्डले केन्द्रीय कार्यलय धुम्बाराहीमा बैठक आयोजना गरे।

उता, पुस २९ गते बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भए। बैठकमा १५ मिनेटमात्र सहभागी भएका थिए, ओली। तर, त्यो बैठकमा ओली र प्रचण्ड पूर्ववत् बैठकमा जसैगरी फरक—फरक स्थानमा बसेका थिए।

कार्यकारी अध्यक्षको भूमिका पाएपछि पनि पूर्ववत् स्थानमा बसेका प्रचण्ड र ओली आज भने सँगसँगै देखिए। दुई अध्यक्ष समान कूर्सीमा बस्नु दुबै समान हुन् भन्ने सन्देश दिन खोजेको नेकपाका नेताहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell