PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

लागुऔषधको कारोबार गर्ने एक भारतीय नागरिकसहित तीन जना पक्राउ



पहिलोपोस्ट

लागुऔषधको कारोबार गर्ने एक भारतीय नागरिकसहित तीन जना पक्राउ

धनगढी : कैलाली प्रहरीले २० ग्राम ३ सय २० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले एक भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत उत्तर प्रदेशका ४६ वर्षीय सुनिल गुप्ता, कैलालीको लम्की चुहा नगरपालिका-१ का ३६ वर्षीय राजु अवस्थी र सोही ठाउँका २१ वर्षीय असलम कुरेसी रहेका छन्।

शनिवार जानकी गाउँपालिका-१ दुर्गौलीस्थित सडक खण्डमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागुऔषध बरामद गरिएको कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए।

पक्राउ परेकाहरूमध्ये भारतीय नागरिक गुप्ता मुख्य कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले भने, ‘उनी यसको कारोबारमा संलग्न व्यक्ति हुन्। हामीले २०७१ सालयता बरामद गरेको यो खैरो हिरोइन सबै भन्दा ठुलो परिमाणको हो।’

भारतीय नागरिकको सक्रियतामा कैलालीमा लागुऔषधको कारोबार बढ्दै गएपछि प्रहरीले यसको कारोबारमा संलग्नहरूको खोजी गर्ने अभियानलाई तीव्र पारेको छ।

प्रहरीले उनीहरूको साथबाट भारतीय नम्बरको युपी ३१ के ८९७२ र प्रदेश २-०३- लम्की ००५ प ७७२६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell