
कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभान बस्ने ६७ वर्षीया चिजा विकको हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा म्याग्दीको धवलागिरि गाउँपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-२५ मा मजदूरी गर्दै आएका ३९ वर्षीय खिमबहादुर श्रीपाली रहेका छन्। अनुहारका विभिन्न भागमा चोटपटकसहित कोठाभित्र कपडाले छोपिएको र घरको मूल ढोकामा ताल्चा लगाइएको अवस्थामा यही पुस ८ गते विकको शव फेला परेको थियो।
वृद्धाको हत्यापछि गरगहना लुटेर फरार भएका अभियुक्त श्रीपालीलाई शनिवार तनहुँको व्यास नगरपालिका-२ उत्तरशिला फिल्म हल नजिकबाट पक्राउ गरिएको थियो। उनलाई कर्तव्य ज्यान र चोरी डाँका मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
अभियुक्त श्रीपालीले मृतकको साथबाट चोरी गरेका गहना बिक्री गरेको पसलबाट बरामद गरिएको र खरिद गर्नेलाई कानूनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।