
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले टुँडिखेल सबै प्रकारका अतिक्रमणबाट मुक्त हुनुपर्ने बताएका छन्।
अकुपाई टुँडिखेलका अभियन्तासँग डल्लुस्थित आफ्नै निवासमा कुरा गर्दै खनालले काठमाडौँमा खुल्ला क्षेत्रहरुको कमी हुँदै गएकोले टुँडिखेल जनताको आवश्यकता रहेको बताए।
खनालले भने, 'हमीसँग राजधानीमा एउटा टुँडिखेल छ। यो मात्रै खुल्ला क्षेत्र बाँकी छ। राजनीतिक, सांस्कृतिक, ऐतिहासिक हिसावले यसको महत्व छ। भूकम्पका बेला धेरैलाई यही टुँडिखेलले बास दिएको थियो।'
खनालले अब टुँडिखेलबाट सबै अतिक्रमण हटाएर यसलाई 'खुल्ला टुँडिखेल' बनाउन अत्यावश्यक भइसकेको बताए।
रानीपोखरीदेखि दशरथ रंगशालासम्मको विशाल टुँडिखेल जनताका लागि खुल्ला हुनुपर्ने मागसहित सुरु भएको अकुपाई टुँडिखेल अभियान दुई महिनायता निरन्तर चलिरहेको छ। रत्नपार्कदेखि खुल्लामञ्चसम्म मानव साङ्लो बनाएर सुरु भएको अभियान अन्तर्गत हरेक शनिबार रचानात्मक कार्यक्रम हुँदै आएको छ।