- प्रकाश भण्डारी-
२०५२ साल। जता पनि रेडियो नेपाल बज्ने। रेडियोकर्मी भनेपछि सम्मान र माया नै बेग्लै। अहिलेको जस्तो सबैको हातहातमा सूचना कहाँ हुनु? त्योबेला तिलक आचार्य रेडियो नेपालका लागि बुटवल संवाददाता थिए।
बुद्ध नेपालमा कि भारतमा जन्मेको भन्ने बहसले २०५२ को हिउँद तात्यो। पत्रपत्रिका तथा रेडियोमा चर्को बहस। बुद्धबारे त्यति ज्ञान कहाँ हुनु! नपढी थाहा हुने कुरा पनि भएन। समाचार त लेख्नु पर्थ्यो नै। तर खुब कठिन। 'पत्रकारलाई सबै कुराको ज्ञान थाहा हुन्छ भन्थे अरूले। तर आफूलाई यस विषयमा कुनै ज्ञान नै भएन,' त्यो बेलाको अप्ठ्यारो सुनाए तिलकले।
कारण -एक जना 'ले मेन'ले झसङ्ग बनाइदियो उनलाई। लुम्बिनीका तिलक तब झस्किए, जब त्यहाँका एकजना त्यति नपढेका मान्छेले बुद्धबारे फरर भनिदियो। उनी भन्छन्, 'उसले त बुद्धको जन्म, इतिहास, पहिला/पहिलाका सबै संरचनाका बारेमा फरर भन्यो। बुद्धको दर्शनबारे पनि राम्रो ज्ञान। यसले मलाइ त ठूलो प्रेरणा मिल्यो।'
उनी चकित भए। त्यहाँ उनीमात्र थिएनन्। आठ-दश जनाको टोली नै थियो। अरूले के सोचे थाहा भएन तर उनलाई लाग्यो हचुवामा 'बुद्ध वाज बर्न इन नेपाल' भनेर के काम?' अनि फुरिहाल्यो आइडिया।
अब पढ्ने। तर के? कहाँ?
त्रिभुवन विश्वविद्यालयमा पढ्ने निधो भयो। आचार्यले भने, 'एमए ६२ सालमा गरेँ। अनि पिएचडी।'
शीर्षक 'कल्याणकारी राज्यसम्बन्धी बौद्ध अवधारणा।' उनी भन्छन्, 'सायद बुद्धबारे त्यसरी बताइदिने मान्छे नभेटेको भए तिलकले न पिएचडी गर्थे न यसबारे कुनै अध्ययन अनुसन्धान नै।'
यही टर्निङ पोइन्ट भयो उनका लागि। उनको २० वर्षे पत्रकारिता लगभग टुंगियो। हुन त पढ्दै पत्रकारिता नगरेका होइनन्। तर त्यो औपचारिक भने भएन। पढाइले उनलाई बुद्धिजमको विज्ञ बनायो। यतिमात्र होइन यही विषयको अध्ययनले उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रार बनाएको छ।
विश्वविद्यालयभित्र बुद्धको अस्तु राख्न सकेकोमा खुसी पनि छन्। यसका लागि उनले निकै पहल गरे। विश्वविद्यालयले बजेट छुट्यायो ७ करोड रुपैयाँ। समय डेढ वर्ष। आचार्य यसरी काम गरेकोमा ठूलो योगदान गरेको त ठान्दैनन्। तर भन्छन्, 'यो त्यति ठूलो काम त होइन तर नेपालमा यसरी विश्वविद्यालयमा राखेको पहिलोपटक हो। सबै विश्वविद्यालयले गर्यो तर अगुवाइको काम मात्र मैले गरेँ।'
बुद्धको परिनिर्माण
विश्वास गरिन्छ कि बुद्धको अस्तु ८ ठाउँमा भाग लगाइयो। अशोकको पालामा ८४ हजारमा बाँडियो अस्तुलाई। यसैलाई पछ्याउँदै विश्वविद्यालयले अस्तु वर्माबाट ल्यायो। आचार्यका अनुसार शारीरिक स्तुपा, धार्मिक स्तुपा, भौतिक स्तुपा छन् प्रचलनमा।
यीमध्ये पनि शारीरिक स्तुपाको महत्तव बढी हुन्छ बुद्ध धर्ममा। तिलकले स्थापना गरेको स्तुपा पनि शारीरिक स्तुपा हो। आचार्य थप्छन्, 'नेपालमा नगन्य छन्। काठमाडौँमा दुई तीन वटा। लुम्बिनीमा एउटा मात्रै। श्रीलंकामा बुद्धको दाँत छ भनिन्छ। यसलाई बुद्ध धर्ममा महत्त्वपूर्ण मानिन्छ।'
किन गरियो स्तुपा निर्माण
एक त विश्वविद्यालय नै बुद्ध र बौद्ध दर्शनसम्बन्धी। अर्को, बुद्धबारे अध्ययन अनुसन्धान गर्न विश्वविद्यालय चाहिने र त्यहाँ बुद्धको भाव पनि। रजिष्ट्रार भएपछि पहल गरे, अनि परिणामको कल्पना पनि। उनी अहिले दंग छन्।
स्तुपा निर्माणपछि त्यहाँ पढ्ने विद्यार्थीलाई व्यवहारिक ज्ञान लिन पनि धरै टाढा जानपरेको छैन। उनी थप्छन्, 'पुरात्वविद्लाई पनि राम्रो अध्ययनको खुराक बनेको छ स्तुपा। अर्कोतिर लामालाई पूजा गर्न पनि सहज।'
अहिले मायादेवीपछिको पर्यटकीय स्थल बनेको छ विश्वविद्यालयले निर्माण गरेको स्तुपा। वर्षमा एकपटकमात्र अस्तु मात्र हेर्न पाइन्छ। अरुबेला बाहिरबाट सानो प्वालबाट हेर्न मिल्ने। तर विदेशी विशिष्ट पाहुना आउँदा देखाउने पनि गरिन्छ। तिलकलाई यसले पर्यटन वर्षलाई सहयोग पनि गर्ला भन्ने विश्वास छ। उनी ठोकुवा गर्छन् बौद्ध धर्म दर्शनको जन्म नेपालमा भयो भनेर, तत्कालीन शाक्य गणमा। उनलाई बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्नेमा विवाद नै। बरु अहिलेको बहस लुम्बिनी नेपालमा कि भारतमा भन्ने पो छ। बुद्धका बुवा शुद्धोधनका दरबार कहाँ हो भन्ने खास विवाद हो। यसमा पनि तथ्यहरूले पुष्टि गरिसकेको छ त्यो नेपालमै हो भनेर। तिलक भन्छन्, 'खासमा भारतका सम्पदाविद्ले यसमा विवाद झिकेका हुन्।'
उनलाई नेपालमा बुद्धिजमबारे काम भएकै जस्तो लाग्दैन। तर पहल भएकोमा उनी सहमत छन्। त्यसो भने किन त? उनी थप्छन, 'एउटा त जनचेतनाकै कमी हो। अर्को बुद्ध धर्मबारे शासकले बुझेनन्। मान्नेलाई राणाकालमा लखेटे। त्यो बेला बुद्ध धर्मका विद्वानहरू कोही उत्तरतिर लागे कोही दक्षिणतिर। एघारै शताब्दीमा पनि आक्रमण भयो। यहाँका शासकहरू हिन्दुबाट प्रभावित भए। तर २०५५ मा विश्व बौद्ध सम्मेलनपछि बुद्धबारे चर्चा परिचर्चा भएको छ। २०६१ मा मात्रै स्थापना भयो विश्वविद्यालय। तर पढाई चाहिँ ठिक उल्टोबाट' आचार्य थप्छन् 'नेपालमा जनशक्ति नभएकाले पिएचडीबाट पढाइ सुरु गरेर एमए हुँदै बिए सुरु गरेका हौँ।'
यति हुनु पनि धेरै काम भएको ठान्छन् आचार्य। २०५१ अघि त केही कामै भएको थिएन। अहिले राज्यले यसप्रति लगानी बढाउनु रिभाइभ गर्ने संकेत जस्तो लाग्छ उनलाई। तर पर्याप्त भएन। एकेडेमिक रूपमा नेतृत्व भएन।
भारतमा किन बन्यो नक्कली कपिलवस्तु
भारतमा पनि बुद्धकालीन समयका संरचना छन्। शाक्य गण राज्यमा ठूल्ठूला शहर थिए। नेपाल र भारत दुबैतर्फ। नेपालमा अध्ययन अनुसन्धान तथा उत्खनन भएन। भारतले त्यसैलाई मौकाका रूपमा प्रयोग गर्यो। भारतमा संरचना बनाउने काम भयो तर नेपालमा भएका संरचना जोगाउने काम पनि भएन। तर त्यो बनाइएको हो त्यो नेपालका लागि आपत्तिजनक पनि छ।
बुद्ध एक दर्शन
बुद्धको विचार जोगाउन लामो साधना भयो। त्यो पनि घर-घरमा। जुन दर्शनको एउटा पाटो हो। प्रकृति र जीवनलाई हेर्ने र त्यसलाई फेर्ने र मानवतालाई सर्वोपरि मान्नु बुद्ध दर्शन लाग्छ आचार्यलाई। पछिल्लो समय त यसको महत्त्व झन् बढ्दै गएको छ। आचार्य भन्छन्, "संसारमा हत्या हिंसा भइरहेको ठाउँमा त यसको झन् धेरै महत्त्व छ किनभने बुद्ध दर्शनबाट शान्ति फैलाउँन सकिन्छ।'
अचार्यसँग केही योजना अझै छन्। देवदहमा सय विगाह जमिन पाउने भएको छ। जहाँ संरचना निर्माण गर्ने योजना छ उनको। विश्वविद्यालय, रामग्राम, देवदह र लुम्बिनी चारै ठाउँलाई एकेडेमिक सर्किट बनाउने मन छ। यसका लागि कपिलवस्तुमा पुरातत्वसम्बन्धी कक्षा चलाइँदैछ।
फोटोः रोविन पन्थी